Comments Add Comment

रियल मड्रिडलाई माया गर्छु, त्यसैले फर्किएँ : जिदान

२८ फागुन, काठमाडौं । रियल मड्रिडको प्रशिक्षक पदमा फर्किन राजी भएका जिनेदान जिदानले २०२२ सम्मको सम्झौता गरेका छन् । क्लबका लिजेन्ड तथा पूर्व टिममेट राहुल र रोबर्टो कार्लोसका साथमा  पत्रकारसम्मेलनमा उपस्थित भएका उनलाई अध्यक्ष फ्लोनेन्टिनो पेरेजले स्वागत गरे ।

जिदान विश्वकै उत्कृष्ट प्रशिक्षक भएको भन्दै पेरेजले क्लबमा फर्किएकोमा खुसी व्यक्त गरे ।

जिदानले पनि आफ्ना लागि विशेष दिन भएको बताए । ‘मलाई भन्नु केही छैन । फर्किँदा खुसी छु र काम गर्न चाहन्छु’ उनले भनेका छन्, ‘म धेरै टाढा पनि गएको थिइनँ, यहीँ बस्थे । तर, म यो क्लब र टिमका लागि काम गर्न पाउँदा खुसी छु ।’

तर, पछिल्लो समयमा के परिर्वतन आयो, जसका कारण उनी फेरि मड्रिड फर्किन तयार भए भन्ने जवाफ छैन ।

‘मैले क्लब छाडेँ किनभने यो मलाई चाहिएको थियो । क्लबका लागि समय थिएन तर, टिममा सबै जितेपछि यो आवश्यकता थियो’ जिदानले अघि भने, म फर्किएँ किनभने अध्यक्षमलाई बोलाउनु भयो र म क्लब र अध्यक्षलाई माया गर्छु ।’

मड्रिड छाडेको ८ महिनापछि पुनः प्रशिक्षक हुने निष्कर्षमा पुगेको उनले सुनाए ।

जिदानले लगातार तीन सिजन रियल मड्रिडलाई च्याम्पियन्स लिगको उपाधि दिलाएका थिए । उनी क्लबमा फर्किँदा त्यसबेलामा महत्वपूर्ण सदस्य क्रिष्टियानो रोनाल्डो छैनन् । जिदानले भनेका छन्, ‘रोनाल्डो को हुन् सबैलाई थाहा छ । उनी क्लबका इतिहास हुन् । उनी उत्कृष्ट थिए, यसलाई परिवतर्न गर्न सकिँदैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment