Comments Add Comment

भोजपुरका दलित समुदाय बालिघरे प्रथाको मारमा

२९ फागुन, भोजपुर । शहर बजारका ठूलाठूला उद्योग तथा कलकारखानामा काम अनुसारको दामको कुरा धेरै भएपनि गाउँघरमा दलित समुदायहरु  अझैसम्म बालिघरे प्रथाको मारमा छन् ।

संगठित श्रमिकले आन्दोलन गरेरै भएपनि ज्याला र तलब बढाउन मालिकलाई बाध्य पार्छन् तर कृषि, निर्माण र गाउँघरमा अरु खालका काम गर्ने श्रमिक न आफू अन्यायमा पर्दा बोल्न नै सक्छन् न उनीहरुको कुरा कसैलै उठाइदिन्छ । भोजपुर जिल्लाको दुर्गम क्षेत्रहरुमा अझैसम्म दलित समुदायहरुले थोरै भागमा काम गर्न विवस छन् ।

गाउँभरीका ‘विष्ट’ को लुगाफाटा सिलाएबापत चाडबाडमा दुई/चार माना अन्न र सिदाको भाग ज्याला लिंदै आएका घोडेटारका दलबहादुर परियारले अहिलेसम्म घरमा एउटा गत्तिलो लुगा सिउने मेशिन जोड्न सकेका छैनन् ।

३०/३५ घर मुखियाको काम गरेर ल्याएको भागले आफू र आफ्नो परिवारलाई ३५ दिन पनि खान नपुग्ने दलबहादुर तितो यथार्थ पोख्छन् । ‘बालिघरे सियर हामी कहिले उँभो नलाग्ने रछौं, हामीलाई ज्यालामै काम गर्न फाइदा छ तर बाउबाजेदेखि नै यही गरी ल्याए आजकाल त वर्षभरी काम गरेर झोलामा लुगा लिएर भाग लिन गयो बिरालाले खायो भन्छन् ,’ दलबहादुरले दुखेसो पोखे ।

हुनेखाने परिवारको लुगा सिलाएको र फलामका सामान बनाएको ज्याला नपाउने चलन अझैसम्म गाउँघरमा छँदैछ ।

कपडाको काम गर्नेहरु दशैं, तिहार, माघे, साउने संक्रान्ति र बिहे, व्रतबन्धमा काम गर्ने घरबाट पाउने खसीको पुच्छर र फलामको काम गर्नेहरु गर्धनमा चित्त बुझाइरहेका छन् ।

२०६८ को जनगणना अनुसार भोजपुर जिल्लामा कुल जनसंख्याको १० दशमलब ६ प्रतिशत दलित छन् । तीमध्ये झण्डै ९ हजार कामी र ५ हजारजति दमाई रहेको तथ्यांक छ । केही हुने र टाठाबाठा त सदरमुकाम र ग्रामीण बजारहरुमा दोकान थापेर बसेका छन् भने अधिकांस बालिघरे प्रथामै काम गर्न वाध्य छन् । हतुवागढी गाउँपालिका रानिवासकी दीलमाया रसाइली पनि भागभुरो लिन जाने बेलामा विष्टहरुले टार्ने गरेको बताउँछिन् ।

दलितहरु आफैंलाई श्रमको ज्याला नपाएको पनि थाहा छ, तर उनीहरु न आफू बालिघरे प्रथाको विरोध गर्न सक्छन् । न त कसैले उनीहरुको पक्षमा बोलि नै दिएको छ ।

दलितकै नारालाई अघि बढाएर सदनदेखि सत्तासम्म पुग्नेहरुले पनि दलितहरुलाई काम गरे अनुरुपको ज्याला दिलाउन पहल नगरेको भोजपुरका दलित नेता दुर्गा रणपहेंली बताउँछन् ।

दलित सीप विकास केन्द्र भोजपुरका अध्यक्ष त्रिलोचन लोहार आफ्नो हक अधिकारका लागि आफू स्वयं जागरुक हुनुपर्ने बताउँछन् । ‘बालिघरे सदियौंदेखि दलितहरुलाई गरिएको दास प्रथा हो, दलितहरुका वैज्ञानिक कामलाई पुरै अवमूल्यन गरिएको छ, काम अनुसारको दाम पाइरहेका छैनन् यसलाई ज्यालामा रुपान्तरण गरिनुपर्छ,’ लोहारको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment