Comments Add Comment

के नेपाली फिल्म उद्योग धरापमा परेकै हो ?

नेपाली चलचित्रले ६ दशक लामो यात्रा तय गरिरहँदा एउटा प्रश्न चर्को बनेको छ, के अब नेपाली चलचित्र धरापमा परेकै हो ?

यो प्रश्न किनपनि चर्को बन्दैछ भने, अहिले नेपाली चलचित्रको हाल बेहाल छ । कारोबारको हिसाबले । मेकिङको हिसाबले । यसबीचमा न कुनै आशालाग्दो स्टारको जन्म भएको छ, न कुनै गतिलो फिल्म बनेको छ । एकाध फिल्मलाई छाड्ने हो भने, अधिकांश फिल्म गोलखाडी गएको छ ।

मिहिन ढंगले हिसाब-किताब गर्ने हो भने अहिले औसत महिनामा पाँच वटा नेपाली फिल्म प्रदर्शनमा आउँछन् । यसरी प्रदर्शनमा आउने कुनैपनि यस्ता फिल्म हुँदैनन्, जसले बक्स अफिसमा राम्रो कारोबार गरेको होस् । वा मेकिङको हिसाबले उत्कृष्ट ठहरिएको होस् ।

कुनै फिल्म चल्छ । तर, समीक्षाको हिसाबले राम्रो मानिदैन । कुनै फिल्म चल्दैन । तर, समीक्षा राम्रो आउँछ । यसबाट गम्भीर रुपमा के प्रश्न उठ्छ भने के राम्रा फिल्म चल्दैनन् ? वा चलेका फिल्म राम्रा हुँदैनन् ?

यदि यी दुई प्रश्नको उत्तर छाड्ने हो भने पनि अर्को प्रश्न जन्मन्छ । के कुनै फिल्म समीक्षाको हिसाबले पनि उत्कृष्ट र कारोबारको हिसाबले पनि अब्बल हुनसक्दैन ?

अनमोल केसी स्टारर फिल्म ‘क्याप्टेन’ यो बर्षकै अपेक्षित फिल्म भनिएको थियो । तर, फिल्म झुर निस्कियो । फिल्मले न राम्रो समीक्षा पायो, न दर्शक नै । दुबै कुरा गुमाउनु परेपछि यो फिल्मले अनमोलको क्रेजलाई धक्का पुगेको चर्चा पनि चल्यो ।

अर्को फिल्म आयो, बुलबुल । समीक्षाको हिसाबले अब्बल भनिएपनि यो फिल्मले दर्शकलाई रिझाउन सकेन । फिल्म जेनतेन चल्यो । संभवत यसले आफ्नो लगानी समेत उठाउन सकेन ।

यसबीचमा आएका अनगिन्ती फिल्म त दर्शकले आए/गएको थाहा पनि पाएन । फिल्म बुझेका र खारिएका भनेका निर्देशक मनोज पण्डिले बनाएको फिल्म खाग पनि नराम्ररी चिप्लियो । यसअघि दीपेन्ऽ लामाले निर्देशन गरेको गोपीको हविगत पनि टिठलाग्दो भएको थियो ।

कुनैबेला सोभित बस्नेत मार्काको फिल्मले घरेलु दर्शक भड्काएको थियो । लगत्तै माओवादी द्वन्द्वको प्रभाव नेपाली मनोरञ्जन बजारमा पर्यो । त्यसपछि राजनीतिक उथलपुथल, नाकाबन्दी, भूकम्पले नेपाली फिल्मलाई पनि नराम्ररी ध्वस्त बनाइदियो । क्रमस तंग्रदै गएको नेपाली फिल्मले अहिले आएर धर्मराएको छ । बाटो बिराएको छ ।

फिल्म कस्तो हुनुपर्छ वा कस्तो बनाउनुपर्छ भन्ने चेत नै नभएका फिल्ममेकर्स हावी हुँदै गएपछि के खतरा देखिएको छ भने, नेपाली फिल्म नै धरापमा पर्ने त होइन ?

भोलिका दिनमा नेपाली फिल्म हेर्ने दर्शक नै गुमाइने त होइन ? घरेलु दर्शक भडि्कने त होइन ? किनभने हिजोको दिनमा पनि नेपाली फिल्मप्रति दर्शक विस्वस्त थिएनन् । नेपाली फिल्मको पंक्तिमा उभिएर टिकट काट्न असहज मान्थे । नेपाली फिल्म भनेपछि नाक खुम्च्याउथे । पछि विस्तारै नेपाली फिल्मले दर्शक बटुल्यो । दर्शकको विश्वास जित्यो । तर, अहिले फेरी यसको क्रमभंग भएको छ । र, दर्शक पुन भडि्कने संकेत देखापरेको छ ।

नेपाली फिल्मसँग केही दबाब जरुर छ । हलिउड र बलिउडको जबरजस्त प्रभाव नेपाली फिल्मबजारमा छ । अर्बौंको बजेटमा बन्ने र उन्नत प्रविधिले युक्त हलिउड बलिउडसँग नेपाली फिल्मले टाउको जुधाउन पक्कै सक्दैन । यस्तो अवस्थामा हलिउड/बलिउड फिल्मबाट घरेलु दर्शकको ध्यान हटाएर आफुतर्फ आकषिर्त गर्नु सामान्य कुरा होइन ।

अर्कोतर्फ हल सीमित छन् । यसमा पनि हलिउड बलिउडकै बर्चश्व रहन्छ । यावत् समस्या पनि ज्यूँको त्यूँ छ । तर, त्यसो भन्दैमा नेपाली फिल्म चल्दैन वा नेपाली फिल्मले हलिउड बलिउडका दर्शकलाई पनि आफुतिर तान्दैन भन्ने चाहि होइन ।

यसअघि प्रदर्शनमा आएको चलचित्र सत्रु गते, जात्रा, पशुपतिप्रसाद, छक्का पञ्जा, कवड्डी, लुटले घरेलु दर्शकलाई आकषिर्त गरेको थियो । र, मनग्ये आर्जन पनि गरेको थियो ।

तर, त्यसपछि कस्तो ट्रेन्ड विकास भइदियो भने लगातार छक्का पञ्जा वा लुट जस्तै फिल्म बन्न थाले । निर्देशकले फिल्ममा आफ्नै शिल्पी खिप्ने भन्दा पनि अरुको र्फमुला प्रयोग गर्ने अभ्यास गरे । नेपाली फिल्मले यहीबाट बाटो विराए ।

यदि अहिलेकै गति र दिशामा नेपाली फिल्म अगाडि बढिरह्यो भने दुर्घटना निश्चित छ । भोलि यस्तो दिन आउन सक्छ कि, नेपाली फिल्मलाई घरेलु दर्शकले पटक्कै विश्वास गर्नेछैन । त्यस्तो बेला राम्रा र अब्बल फिल्महरु पनि घानमा पर्नेछन् । समग्र फिल्मी उद्योगकै लागि यो खतराको घण्टी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment