Comments Add Comment

जब ‘गड फादर’ नै ‘प्रेमी’ बन्छन्

सिनेवृत्तका सीमाहीन सम्बन्धको कथा

‘गडफादर ।’ सिनेवृत्तका निम्ति पेवा शब्दावली हो यो । यस्तो लाग्छ, मानौ ‘गडफादर’ सिनेवृत्तले पाएको शाब्दिक-विरासत हो । सिनेवृत्तमा ती तमाम निर्देशक/निर्माता/अभिनेता ‘गडफादर’ हुन्, जसले खासगरी कुनै नायिकालाई चलचित्रमा डेब्यु गराएका छन् । यसो भनौं, फिल्मी दुनियाका लागि ढोका खोलिदिने कुनै पनि व्यक्ति ‘गडफादर’ कहलिन्छ । अतः यो कर्म अक्सर निर्माता/निर्देशकको भागमा पर्छ ।

जस्तो कि, छवी ओझा । उनी निर्माता हुन् । निर्माताकै रुपमा उनले रेखा थापादेखि शिल्पा पोखरेलसम्मलाई रतजपटमा भित्र्याए । यस हिसाबले उनी रेखादेखि शिल्पासम्मका ‘गडफादर’ हुन् । तर, उनीहरुको सम्बन्धको आयतन यतिमै टुंगिदैन । यसभन्दा अघि बढेर उनीहरु प्रेमी-प्रेमिका बन्छन् ।

यसरी गडफादर नै प्रेमीमा रुपान्तरण हुने प्रवृत्ति सिनेवृत्तमा व्याप्त छ । त्यसो त छवीले रेखालाई प्रेमिका मात्र बनाएनन्, दुलही बनाएर भित्र्याए । तर, १० बर्ष पुरा नहुँदै उनीहरुको दाम्पत्य टुट्यो ।

रेखासँगको सम्बन्ध टुटेपछि छविले चलचित्र क्षेत्रमा अर्की नायिका शिल्पा पोखरेललाई प्रवेश दिए, चलचित्र लज्जाबाट । शिल्पालाई चलचित्रमा ब्रेक दिएर छवि ओझा शिल्पाको गड फादर बने । तर, उनीहरुको सम्बन्ध पनि गड फादर र कलाकारमा  सीमित रहेन । उनीहरु पनि एक-अर्काको प्रेममा परे । मिडियामा समेत उनीहरुले खुलेर आफ्नो प्रेम व्यक्त गरे । उनीहरुले पनि गुपचुप विवाह गरेको कुरा पनि बाहिरिएको थियो । हालै एक अन्र्तवार्तामा छवीले शिल्पासँग विवाह गरेको स्विकारेका छन् ।

गडफादरको यो लस्करमा पछिल्लो पुस्ताका निर्देशक दिवाकर भट्टराई पनि छन् । उनले चलचित्र ‘ऐश्वर्य’बाट नायिका दीपिका प्रसाईलाई डेब्यु गराए । यसरी दीपिकाको ‘गडफादर’ बनेका दिवाकरले पछि उनै दीपिकालाई प्रेमिका बनाए । त्यसपछि भने उनीहरुले अदालती बिहे गरे ।

निर्देशक-नायिकाको माया पिरती

अक्सर के देखिन्छ भने, निर्माता/निर्देशकहरु आफ्नो चलचित्रमा जुन नायिकालाई लिन्छन्, उनैसँग माया पिरती लगाउन थाल्छन् । यसमा मिलन चाम्स निकै अगाडि छन् । उनी बर्षमै दुई/तीन मात्र बनाउँदैनन्, आफुले लिएका नायिकालाई गर्लफ्रेन्ड पनि बनाउँछन् । गसिप बजारमा यस्तै चर्चा हुने गरेको छ ।

जस्तो कि, पछिल्लो समयम उनले ‘वीर विक्रम-२’ निर्देशन गरिरहेका छन् । यस चलचित्रमा उनले वर्षा सिवाकोटीलाई नायिकाको रुपमा लिए । तर, अहिले उनीहरुको सम्बन्ध निर्देशक र नायिकामा मात्र अडिएको छैन । प्रेमी-प्रेमिकामा बद्लिएको व्यापक चर्चा छ ।

यद्यपी यसलाई वर्षाले स्वीकार गरेकी छैनन् । उनले मिलन चाम्सलाई आफ्नो ‘अभिभावक’ भन्दै आएका छन् ।

मिलनले यस अघि निर्देशन गरेको चलचित्र ‘ब्लाइन्ड रक्स’की नायिका थिइन, वेनिशा हमाल । वेनिशासँग पनि मिलनको प्रेम चर्चा चलेको थियो ।

नेपाली चलचित्रका लागि सम्झन लायक ‘गडफादर’ हुन्, तुलसी घिमिरे । यी भेट्रान निर्देशकले अनगिन्ती नायिकालाई नेपाली चलचित्रमा भित्र्याए । तृप्ती नाडकर, सिर्जना बस्नेत, निरुता सिंह, नन्दिता केसी, हिमानी डिसीसम्मलाई ‘हिरोइन’ बनाए ।

तर, उनै तुलसीको नाम उनले ब्रेक दिएकी नायिका निरुता सिंहसँग जोडियो । उनीहरु प्रेममा रहेको चर्चा त्यो बेला निकै फैलिएको थियो । निरुताले लगातार तुलसीको चलचित्रमा काम गर्दा उनीहरु प्रेममा रहेको हल्ला चलेको थियो ।

नायिका झरना थापाको पनि प्रेम विवाह हो । उनले निर्माता सुनिल कुमार थापासँग प्रेम बिबाह गरेकी हुन् । झरनाले सुनिलको चलचित्रबाट डेब्यु नगरे पनि धेरै चलचित्रमा उनीहरुले सहकार्य गरेका छन् । झरनालाई चर्चाको शिखरमा पुर्याउने सुनिल पनि झरना गड फादर हुन् ।

नायिका केकी अधिकारीले चलचित्र ‘स्वर’मार्फत् रंगीन दुनियाको ठुलो पर्दामा इन्ट्री मारिन् । यस चलचित्रलाई प्रशन्न पौडेलले निर्देशन गरेका थिए । यस हिसाबमा ठुलो पर्दामा ब्रेक दिने प्रशन्न केकीका लागि गड फादर नै बनेका थिए । तर, उनीहरुको सम्बन्धले पनि प्रेमसम्मको चर्चा पायो । उनीहरु एक-अर्काको प्रेममा परेको चर्चा त्यो समय चलचित्र बजारमा गसिप बनेको थियो ।

अभिनेता श्रीकृष्ण श्रेष्ठ र अभिनेत्री श्वेता खड्का प्रेममा परेर बिबाह गरे । श्वेताले श्रीकृष्णले निर्माण गरेको चलचित्र ‘कहाँ भेटिएला’मार्फत् यस क्षेत्रमा प्रवेश गरेकी थिइन् । श्वेतालाई ब्रेक दिएको आधारमा श्रीकृष्ण उनको गड फादर थिए । तर, पछि उनीहरु प्रेमी बने र बिबाह गरे ।

तर, बिबाह बन्धनमा बाधिँएको १ महिनामा नै श्रीकृष्णले संसार छाडे, श्वेता एक्ली भइन् । चलचित्र क्षेत्रमा र सामाजिक सेवामा काम गरिरहेकी श्वेता अहिले पनि एक्लो जीवन बिताइरहेकी छिन् ।

डेब्यु गराउनेलाई मात्र पनि गड फादर मनिन्न । आफूलाई चर्चामा ल्याइदिने वा चलचित्र क्षेत्रमा चिनाउने निर्माता-निर्देशकलाई पनि गड फादर मान्ने गरिन्छ । यस अर्थामा पूजा शर्माको गड फादर सुदर्शन थापा बन्छन् ।

चलचित्रमा काम गरिरहँदा चर्चा पाउन नसकेकी पूजाले सुदर्शन थापा निर्देशित चलचित्र ‘प्रेम गीत’बाट चर्चाको शिखर चुमिन । यस चलचित्रको सफलता पश्चात् उनीहरुले निरन्तर रुपमा सँगै काम गर्दै आएका छन् ।

सुदर्शन र पूजाको प्रेम सम्बन्धको चर्चा अहिले पनि सिने बजारमा चलिरहेको हुन्छ । तर, उनीहरु मिल्ने साथी भएको बोल्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment