Comments Add Comment

झरना स्पोर्ट्स क्लबले कुञ्जलापुरमा बनायो ‘कुञ्ज पार्क’

३ चैत, बुटवल । खेलकुद क्लब भन्ने वित्तिकै कुनै खेलसंग सम्बन्धित गतिबिधि र खेल प्रतियोगिताहरु आयोजना गर्ने संस्थाको रुपमा लिने आम बुझाइ छ । वास्तविकता पनि त्यस्तै हो । तर, रुपन्देहीको एउटा क्लबले भने तिलोत्तमा नगरपालिकाको कुन्जलापूरमा लाखौं खर्चमा रमणीय पार्क बनाएर नमूना काम गरेको छ ।

२०३३ सालमा स्थापना भएको जिल्लाकै पुरानो झरना स्पोर्ट्स क्लबले कुन्जलापुरमा तीन बिघा क्षेत्रफलमा आकर्षक पर्यटकीय गन्तव्यका रुपमा ‘कुञ्ज पार्क’ बनाएको हो ।

एक दशकअघिसम्म कुकाठले भरिएको वन र खर बारीका रुपमा रहेको जग्गालाई क्लबले जिम्मा लिएर नमूना पार्कका रुपमा विकास गरेको छ । पार्कको बीचमा करिब एक बिघा क्षेत्रफलको पोखरी छ । त्यहाँ क्लबले एकपटकमा ४ हजार माछापालन गर्छ भने डुंगा पनि संचालन गरेको छ ।

पार्कलाई सुन्दर र आकर्षक बनाउन पोखरीको वरिपरि विभिन्न प्रजातिका फूल, एउटै बिरुवाको १० हजार रुपैयाँसम्मका बुस प्लान्टहरु रोपिएको छ । चाइनिज गुलाफ, पिटोनिया, डालिया, पाउलानिया, गुल्मोहर, चेरी, क्रिसमस ट्रि ,ब्याम्बो आदि प्रजातिका बिरुवाले पार्क हरियाली र हराभरा बनेको छ ।

पार्कभित्र वाटर फाउन्टेन, बाल उद्यान, सेल्फी स्पट र बस्नका लागि फाइबर कुर्सी र पक्की कुर्सीहरु राखिएको छ । पोखरीको चारैतिर राखिएका विद्युतीय बल्बको कलर लाइटिङले सांझपख पार्कको सुन्दरतालाई झनै बढाएको छ ।

आँप, लिची, कटहर र रक्तचन्दनका रुख पनि पार्कभित्र छन् । वाटर फाउन्टेनमा कछुवा,जापानीज र जर्मनी जातका माछाहरु हेर्न पाइन्छ ।

पार्कमा निर्माण गरिएको ताल ।

तराई क्षेत्रको लोपोन्मुख काठको लडिया पनि पार्कमा राखिएको छ । पिकनिकका लागि तीनवटा सेड बनेका छन् भने गाडी पार्किङका लागि झण्डै २ कठ््ठा जग्गा र पिउने पानीको पनि क्लबले व्यवस्था गरेको छ ।

पार्कभित्र लायन्स क्लबले पनि बृक्षारोपण गरेको छ । अहिले पार्कमा घुम्न र डुंगा शयर गर्न दैनिक सरदर ५० जना आन्तरिक पर्यटकहरु आउने गरेका क्लबका कोषाध्यक्ष धनेन्द्र पौडेल बताउँछन् । ‘हिजोका दिनमा कुकाठले भरिएको उराठलाग्दो जंगल र खरबारी थियो, मान्छे आउनै डराउंथे,’-क्लबका अध्यक्ष लोक पुन भन्छन्, ‘एक दशकसम्म धेरै मेहनत र लगानीले उराठ बनलाई अहिले नमूना पार्क बनाउन सफल भएका छौं ।’

रमणीय पार्क बनेपनि मुख्य राजमार्गबाट भित्र गाउंमा भएकाले नदेखिने र प्रचार प्रसार नभएकाले चाहेजति पर्यटक आगमन बढाउन नसकिएको पुनले बताए ।

पार्कभित्रै चारसय वर्ष पुरानो दावी गरिएको कर्माको रुख,थारु समुदायले देवताका रुपमा मान्ने सोमै माई थान -मन्दिर) र हिन्दु धर्मावलम्वीको दुर्गा मन्दिर पनि छ ।

पार्कलाई अझै व्यवस्थित र सुन्दर बनाउन क्लबले करिब ३ करोड लागतको गुरुयोजना पनि बनाएको छ । जसमा चिल्ड्रेन पार्क, कन्फेरेन्स हल, गार्डेन, क्याफेटेरिया, प्रार्थना पोखरी, मुख्य पोखरीको वरिपरि इन्टरलक टायल बिछ्याएर पैदल मार्ग निर्माण लगायतका योजना छन् । तर, वजेट जुटाउन नसक्दा काम हुन नपाएको क्लबका कोषाध्यक्ष पौडेल गुनासो गर्छन् ।

क्लबले पालेका माछालाई पार्क परिसरबाटै बजार मूल्य भन्दा सस्तोमा स्थानीय गाउंलेलाई नै विक्रि गर्दै आएको छ भने आंप,लिची,कटहर लगायत फलफूल मन्दिरलाई उपयोग गर्न दिने गरेको छ ।

क्लबले पार्क प्रवेश शुल्क १० रुपैयां र डुंगा शयरको २० रुपैयां शुल्क कायम गरेको छ । पार्कको सरसफाइ र व्यवस्थापन गर्नर् एकजनालाई आवासीय सुविधासहितको रोजगारी क्लबले दिएको छ ।

क्लबका पदाधिकारीले हरेक महिनाको १ गते र १५ गते पार्कको नियमित सरसफाइ गर्दै आएका छन् ।

पार्कबाट क्लबले वाषिर्क पांच लाख रुपैयां जति आम्दानी गर्ने कोषाध्यक्ष पौडेल बताउंछन् । ‘हाम्रो उद्देश्य नाफा कमाउने होइन,खेर गएको खाली जग्गालाई सदुपयोग गरेर पर्यटकीय स्थल बनाई समुदायलाई लाभान्वित बनाउनु हो’-उनले भने ।

क्लबले वर्षेनी करिब १५ लाख खर्चेर झरना कप फुटबल प्रतियोगिता गर्दै आएको छ । हालसम्म ३२ औं संस्करण गरेको छ ।  क्लबले शिक्षा, स्वास्थ्य र लागु औषध दुव्र्यसनविरुद्ध पनि काम गर्दै आएको छ ।

तिलोत्तमा नगरपालिकाको मुख्य प्रशासनिक भवन पनि पार्कको नजिकै बन्न थालेकाले अब नगरपालिकाको ध्यानाकृष्ट भइ गुरुयोजना कार्यान्वयन गर्न वजेट दिने आशा क्लबलाई पलाएको छ ।

बुटवल भैरहवा ६ लेन सडकको मंगलापुरबाट पश्चिम एक किलोटिर दुरीमा रहेको कुञ्ज पार्क तिलोत्तमाको महत्वपूर्ण पर्यटकीय स्थलका रुपमा विकास भएकाले यसलाई थप व्यवस्थित बनाउन पर्यटकीय स्थलको सूचिमा राखेर प्रचारप्रसार गर्ने र सक्दो वजेट विनियोजन गर्न नगरपालिका तयार रहेको नगर प्रमुख बासुदेव घिमिरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment