Comments Add Comment

पाठकलाई घुस दिएका लम्बोदर न्यौपानेलाई आठ वर्ष कैद सजाय माग

१२ चैत, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजनारायण पाठकलाई ७८ लाख रुपैयाँ घुस दिएको आरोपमा लम्बोदर न्यौपानेलाई ८ वर्ष कैद सजाय मागदाबी गरेको छ ।

न्यौपानेले घुस दिएको पुष्टि भएपछि उनलाई भ्रष्टाचार निवारण ऐन अनुसार कैद सजाय र जरिवाना माग गरेर मंगलबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले अनलाइनखबरलाई जानकारी दिए ।

भक्तपुर चाँगुनारायणको नेपाल इन्जिनियरिङ कलेजका सञ्चालक न्यौपानेले दिएको ७८ लाख घुस रिसवत लिएको अनुसन्धानका क्रममा आयोगलाई प्राप्त श्रव्य दृश्य सामग्रीहरूबाट समेत पुष्टि भएको आयोगको आरोप पत्रमा उल्लेख छ ।

आरोपपत्रमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ को ‘ज’ अनुसार सजाय मागदावी गरिएको छ । ऐनको उक्त दफा ३ मा ५० लाखदेखि एक करोड रुपैयाँसम्म घुस खुवाउनेलाई ६ देखि ८ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ ।

न्यौपाने र पाठकबीच एक करोड ६५ लाखमा मुद्दा मिलाउने सहमति भए पनि ७८ लाख मात्रै लेनदेन भएको देखिएको आयोगले जानकारी दिएको छ ।

सार्वजनिक संस्थाको रुपमा रहेको कलेजलाई निजी बनाएर दुई अर्बमा बेच्न खोजेको, २३ करोड वेरुजु र ५३ करोड रुपैयाँ कालोधनसम्बन्धी उजुरी सामसुम पार्ने शर्तमा पाठकले घुस लिएका थिए ।

यो पनि पढ्नुहोस राजनारायण पाठकविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता यो पनि पढ्नुहोस अख्तियारमा राजनारायण प्रकरण : तीन अपराध लुकाउन ७८ लाख घुस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment