Comments Add Comment

प्रदेश २ मा पुनः एसईई प्रश्नपत्र बाहिरियो, सामाजिक विषयको परीक्षा स्थगित

Photo Credit : विक्रम रौनियार । परीक्षा स्थगित भएपछि घर फर्कंदै परीक्षार्थीहरु ।

१५ चैत, जनकपुर । प्रदेश २ को सामाजिक विषयको आजका लागि तय एसईई परीक्षा स्थगित गरिएको छ । परीक्षाअगावै बिहीबार नै प्रश्नपत्र बाहिरिएपछि सामाजिक विषयको नियमिततर्फको परीक्षा स्थगित भएको हो ।

प्रदेश २ का शिक्षा निर्देशक रमाकान्त शर्माले परीक्षाअगावै प्रश्नपत्र बाहिरिएपछि नियमिततर्फको सामाजिक विषयको आजको  परीक्षा स्थगन गरिएको जानकारी अनलाइनखबरलाई दिए ।

‘परीक्षाअगावै अनिवार्य सामाजिक विषयको नियमिततर्फको प्रश्नपत्र बाहिरिएको पुष्टि भएको छ,’, शर्माले भने, ‘त्यसैले हामीले नियमिततर्फको आजको परीक्षा स्थगित गरेका छौं ।’

स्थगित परीक्षा अब चैत २३ गते हुने शर्माले बताए ।

नियमितर्फको परीक्षा स्थगित भए पनि एक्जाम्टेडतर्फको समाजिक, प्राविधिक र ग्रेड वृद्धिका परीक्षा भने प्रभावित नभएको जानकारी शर्माले दिए ।

प्रदेश २ मा यस वर्ष लगातार दोस्रोपटक एसईई प्रश्नपत्र बाहिरिएको हो । सामाजिक विषयको प्रश्नपत्र बिहीबार नै सामाजिक सञ्जाल तथा प्रदेश २ का पसलहरूमा छ्याप्छ्याप्ती भेटिएका थिए । तर, प्रश्नपत्र कहाँबाट, कसले लिग गरायो भन्ने अहिलेसम्म खुलेको छैन ।

यसअघि विज्ञान विषयको प्रश्नपत्र बाहिरिएपछि परीक्षा रद्द गरिएको थियो । त्यसबारे छानबिन नहुँदै पुनः अर्को विषयको प्रश्नपत्र पनि आउट भएको हो ।

प्रदेश २ का शिक्षा निर्देशक शर्मा प्रश्नपत्र सार्वजनिक गरेर विद्यार्थीलाई मानसिक तनाव दिने काम भएको बताउँछन् । एकपछि अर्को लापरबाहीपूर्ण घटना भएकाले यसबारे गम्भीर रुपमा छानबिन हुने उनले बताए ।

‘विद्यार्थीको भविष्यमाथि खेलबाड गर्दै एकपछि अर्को प्रश्नपत्र बाहिरिएको छ’, शर्माले भने, ‘यसबारे गम्भीर छानबिन गरेर हामी सत्य–तथ्य बाहिर ल्याउँछौं ।’

बाहिरिएको अनिवार्य सामाजिक शिक्षा विषयको प्रश्नपत्र

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment