Comments Add Comment

प्रश्नपत्र बाहिरिएपछि प्रदेश २ मा तनाव : मुख्यमन्त्री कार्यालय घेराउ

कतै राजमार्ग बन्द कतै तोडफोड र अश्रुग्यास

१५ चैत, जनकपुरधाम । लगातार दुईवटा विषयको प्रश्नपत्र बाहिरिएपछि एसईई परीक्षा दिने प्रदेश २ का विद्यार्थी आन्दोलित भएका छन् ।

प्रदेश राजधानी जनकपुरधामसहित आठै जिल्लाका एसईई दिने परीक्षार्थी आन्दोलित भएका हुन् । परीक्षा रद्द गरिएपछि आक्रोशित बनेका विद्यार्थीहरुले जनकपुरधामस्थित मुख्यमन्त्रीको कार्यालय घेराउ गरेका छन् । घेराउ गर्न गएकाहरुले कार्यलयमा ढुंगासमेत हानेका छन् ।

परीक्षार्थीले जनकपुरधामको पीडारी चोकमा प्रदर्शन गर्दै टायरसमेत बालेका छन् । विद्यार्थीहरुले भानु चोकमा सडक नै अवरुद्व पारेका छन् ।

बिहीबार विद्यार्थीले विज्ञान विषयको परीक्षा दिइसकेको परीक्षा रद्द गरिएको थियो । शुक्रबार सामाजिक विषयको परीक्षा भने विहानै रद्द गरियो ।

एक्कासी परीक्षा रद्द गराएर आफूहरुको भविष्यसँग खेलबाड गर्न खोजेको भन्दै विद्यार्थीहरु आन्दोलित भएका हुन् ।

सप्तरीमा बजार बन्द

सप्तरी सदरमुकम राजविराजमा विद्यार्थीहरुले जिल्ला प्रहरी कार्यालय अगाडि नाराबाजी गरेका छन् । नाराबाजी पश्चात उनीहरुले राजविराज बजार बन्द गराउँदै प्रदर्शन गरिरहेका छन् । विद्यार्थीहरु एकाएक सडकमा आएपछि व्यापारीहरुले पसल बन्द गरेका थिए ।

सिरहामा राजमार्गमै बालियो टायर

सिरहामा विद्यार्थीहरुले पूर्व पश्चिम राजमार्ग अन्तर्गत लहान, गोलबजार, मिर्चैया, चोहर्बासहितका सडक खण्डमा टायर बालेर प्रदर्शन गरेका छन् । विद्यार्थीहरुले केहीबेर राजमार्गसमेत अवरुद्ध गरे ।

सिरहा सदरमुकामस्थित जिल्ला प्रशासन कार्यालय अगाडि पनि विद्यार्थीहरुले नाराबाजी गर्दै केहीबेर प्रदर्शन गरेका छन् ।

रौतहटमा पनि राजमार्ग अवरुद्ध

रौतहटका विद्यार्थीले पनि चन्द्रनिगाहापुरमो टायर बालेर प्रदर्शन गर्दै केहीबेर सडक अवरुद्व गरे । परीक्षार्थीहरुले सदरमुकाम गौरमा पनि प्रदर्शन गरेका छन् । उनीहरुले गौरको विभिन्न ठाउँमा सरकारविरुद्व नारावाजी गरेका हुन् ।

वीरगञ्जको प्रदर्शनमा अश्रुग्यास

पर्साको वीरगञ्जमा विद्यार्थीहरुले प्रहरी बिट, ट्राफिक लाइट तथा डिभाइडरमा आगजनी गरेका छन् । तोडफोड र आगजनी रोक्न प्रहरीले तीन राउण्ड अश्रु ग्यास प्रहार र दमकलबाट पानीको फोहरा हालेको छ ।

दमकलद्वारा पानीको फोहरा प्रहार गरेपछि विद्यार्थी थप आक्रोशित बन्दै दमकल पनि तोडफोड गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment