Comments Add Comment

गाडीको स्टेरिङ घुमाउँदै थमन गाउँछन्, खै त बुझेको ?

१९ चैत, पोखरा । ४१ वर्षीय थमन गुरुङको मुख्य पेसा ड्राइभिङ हो । गाडीका स्टेरिङसँग खेल्न थालेको बिसौं वर्ष भइसकेको छ ।

पर्वतबाट पोखरा सपना खोज्दै झरेका उनी साउदीको घाम पनि खाए । पोखरा काठमाडौं रुटमा चल्ने माइक्रो र बसबाट यात्रुलाई सकुशल गन्तव्यमा पनि पुर्‍याए ।

पछिल्लो समय उनी गोर्खा वेल्फेयरसँग आबद्ध छन् । गोर्खा वेल्फेयर सहकारी संस्थाको गाडी चलाउन थालेको ४ वर्ष भइसकेको छ । यही ४ वर्षको बीचमा ४ वटा गीत पनि बजारमा ल्याइसकेका छन् । गीतसँग नजिकको लगाव भएकै कारण ड्राइभिङ र संगीतलाई डोर्‍याइरहेका छन् । आधुनिक गीतमा रुचि राख्ने गुरुङको आइतबारमात्रै ‘खै त बुझेको ?’ नयाँ गीत बजारमा आएको छ ।

देशविदेशमा वर्षौंदेखि गाडीको स्टेरिङ घुमाउँदै गीत गुनगुनाउने थमनले अहिले प्रविधिको युगलाई समाउँदै युट्युबमार्फत गीत सार्वजनिक गरेका छन् ।

आधुनिक गीतमा बढी रमाउने थमनले गैरे सुरेश, दीपक शर्मादेखि हरि लम्सालको संगीतमा समेत गीत बजारमा ल्याएका छन् ।
‘मेरो रुचि एउटामा मात्रै होइन दुई वटा कुरामा एकैचोटी भइदियो– गीत र ड्राइभिङ । दुवैलाई अहिले सँगसँगै लगिरहेको छु ।

पछि गाडीमा लाग्दालाग्दै संगीतमा आउन अलि ढिलो भएकोचाहिँ पक्का हो,’ उनी सुनाउँछन् । डायरीमा गीत लेख्दै थन्क्याउँदै गरेका थमनका शब्द बल्ल स्रोता, दर्शकको कान, आँखासम्म पुग्न थालेका छन् ।

चलचित्रका गीतहरुबाट लोकप्रियताको शिखर चुमिरहेका गीतकार तथा संगीतकार दीपक शर्माको शब्द तथा संगीतमा थमनको नयाँ गीत ‘खैत बुझेको’ अहिले सार्वजनिक भएको हो ।

यो गीतमा निर्मला घिसिङले थमनलाई साथ दिएकी छन् । भिडियोको छायांकन तथा निर्देशन पोखराका सरोज अधिकारीले गरेका छन् । अभिनयको सिँढी उक्लँदै गरेका अनील अधिकारी र मेलिसा खतिवडाले भिडियोलाई अझ रोचक बनाउने गरी अभिनय गरेका छन् ।

भीम विश्वकर्माको सम्पादन र सञ्जीवरत्न शाक्यको संयोजनका सार्वजनिक भएको भिडियोले छोटो समयमै दर्शकको मन जितिरहेको छ ।

हेर्नुहोस् भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment