
२० चैत, दमौली । तनहुँको देवघाटमा बाँदरले सर्वसाधारणलाई दुःख दिन थालेपछि बाँदर नियन्त्रणका लागि समिति गठन गरिएको छ । देवघाट क्षेत्र विकास समितिले आज आयोजना गरेको भेलाले समितिका सदस्य किरण सुवेदीको अध्यक्षतामा ११ सदस्यीय बाँदर व्यवस्थापन समिति गठन गरिएको हो ।
समितिमा भरतपुर महानगरपालिका–१ र देवघाट गाउँपालिका–४ का अध्यक्षसमेत सदस्य रहनुभएको छ । समितिले गाउँपालिका, स्थानीय प्रशासन, स्थानीय बासिन्दा, व्यवसायी, तीर्थयात्री लगायतसँग छलफल गरी बाँदरलाई नियन्त्रण गर्ने उपायबारे क्षेत्र विकास समितिलाई सुझाव दिनेछ ।
देवघाटमा बाँदरले घरभित्र पसी खानेकुरा नष्ट गर्ने, कपडा च्यात्ने, आफूसँगै लैजाने, तीर्थयात्रीलाई टोक्ने, बारीको अन्नबाली नष्ट गर्ने लगायतको दुःख दिँदै आएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले बताए ।
बाँदरलाई व्यवस्थापन गर्न बाँदरमैत्री पार्क बनाउने, बाँदरलाई घेराबन्दी गरेर समाउने, समाएर बन्ध्याकरण गर्ने, धपाउने वा अन्य केही विकल्पबारे पनि छलफल भएको उनले जानकारी दिए ।
गाउँपालिकाको प्रयासले मात्रै बाँदर नियन्त्रणमा नआउने हुँदा त्यसका लागि आवश्यक सहयोग गर्न गण्डकी प्रदेश र प्रदेश नं ३ को सरकार तथा सङ्घीय सरकारलाई समेत अनुरोध गरिने भएको छ । पौडेलका अनुसार अध्यक्ष प्रदेश ३ को सरकार र भरतपुर महानगरपालिकाले बाँदर नियन्त्रणका लागि आवश्यक सबै सहयोग गर्ने प्रतिबद्धता जनाइसकेको छ ।
प्रसिद्ध मठमन्दिरसहितको धार्मिक क्षेत्र भए पनि बाँदरले दुःख दिन थालेपछि भक्तजन डराई डराई मन्दिर घुम्नु परेको अध्यक्ष पौडेलले बताए । देवघाट क्षेत्रमा हाल करीब एक हजार ५०० को सङ्ख्यामा बाँदर रहेको देवघाट गाउँपालिका–५ का अध्यक्ष यालबहादुर गुरुङले बताए ।
प्रतिक्रिया 4