Comments Add Comment

२ दिन वर्षासँगै हावाहुरी चल्छ : मौसमविद्

काठमाडौंलगायत देशका विभिन्न भागमा वर्षा

२२ चैत, काठमाडौं । काठमाडौं उपत्यकासहित देशको प्रायः स्थानमा शुक्रबार बिहान हल्का वर्षा भएको छ । यो क्रम अझै २ दिन चल्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सुवास रिमालका अनुसार, सतहमा पूर्वी वायु र माथिल्लो वायुमण्डलमा पश्चिम वायुका कारण उपत्यकासहित देशका विभिन्न स्थानमा शुक्रबार बिहान वर्षा भएको छ । देशका विभिन्न स्थानमा वर्षा भए पनि त्यसको विवरण भने मौसमपूर्वानुमान महाशाखालाई प्राप्त भइनसकेको उनले जानकारी दिए ।

मौसम पूर्वानुमान महाशाखाले अझै केही दिन हल्कादेखि मध्यम खालको वर्षा भइराख्ने प्रक्षेपण गरेको छ । ‘सतहमा पूर्वी वायु र माथिल्लो वायुमण्डलमा पश्चिम वायु चलेकाले अबको २ दिन देशका अधिकांश भागमा वर्षा हुनसक्ने देखिन्छ,’ मौसमविद् रिमालले अनलाइनखबरसँग भने ।

सतहमा चल्ने प्रि-वायु बंगालको खाडीबाट आउने र त्यस्ता वायुले बोक्ने जलबाष्पले बादल बनाउन भूमिका खेल्ने उनको भनाइ छ ।

हावाहुरीको सम्भावना


वर्षासँगै हावा र हुरीको सम्भावना पनि मौसम पूर्वानुमान महामशाखाले औंल्याएको छ । यसअघि गत आइतबार बारा र पर्सामा आकस्मिक हावाहुरी चल्दा २७ को मृत्यु भएको थियो भने कैयन घाइते भएका थिए ।

विपरीत स्वभावका वायु सक्रिय भएकाले २ दिन औसतभन्दा बढी नै हावाहुरी चल्ने मौसमविद् रिमाल बताउँछन् । तर, बारा र पर्सामा आइतबार गएजस्तो डराउनै पर्ने हावाहुरी जाने खतरा भने छैन ।

‘वायुका कारण २ दिन देशका अधिकांश स्थानमा औसतभन्दा बढी नै हावाहुरी चल्ने सम्भावना छ’, मौसमविद् रिमालले भने, ‘तर, आत्तिनै पर्ने खालको हावाहुरी चल्ने खतरा भने छैन ।’

तस्वीर : चन्द्र आले/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment