+
+
Shares

फोहर फाल्नेलाई फोहर ‘उपहार’ !

अनलाइनखबर अनलाइनखबर
२०७५ चैत २२ गते १०:४२
Photo Credit : प्रतीकात्मक तस्वीर

२२ चैत, झापा । जिल्लाको अर्जुनधारा नगरपालिकास्थित अर्जुनधारा सरसफाइ अभियानले बिहीबार नगर क्षेत्रमा फोहर फाल्नेलाई फोहर नै ‘उपहार’ दिएको छ । नगर क्षेत्रलाई स्वच्छ बनाउने अभियानमा जुटेको युवाको समूहले जथाभावी फोहर फाल्ने यहाँका दुई पसललाई फोहर उपहार प्रदान गरेको अभियानका संयोजक कमल पोखरेलले बताए ।

प्रत्येक सोमबार नगरका विभिन्न स्थानमा सरसफाइ गर्दै आएको अभियानले अर्जुनधारा–६ स्थित चिया बगानमा फोहर फाल्ने सुनिल हेयर कटिङ सैलुनका सुनिल ठाकुर र अर्जुनधारा–८ शनिश्चरे बजारको निशा मोबाइल सेन्टरलाई फोहर उपहार दिएको हो ।

‘फोहर फाल्नका लागि डस्टबिन राखिदिए पनि जथाभावी फोहर फाल्ने क्रम रोकिएको छैन’, संयोजक पोखरेलले भने, ‘जथाभावी फोहर गर्नेलाई फोहर नै उपहार दिएका छौं, यसले अन्य फोहर गर्ने मानिसको व्यवहारमा परिवर्तन आउने अपेक्षा छ ।’

अर्जुनधारा–६ का वडाध्यक्ष लोकनाथ गौतमले जथाभावी फोहर गर्नेलाई कारवाही गरिने बताए । ‘नगरलाई स्वच्छ र सफा राख्नु सबै नगरवासीको दायित्व हो’, उनले भने, ‘जथभावी फोहर फाल्नेलाई कारवाही गरिनेछ ।’

जथाभावी फोहर फाल्ने दुवै पसललाई जरिवानास्वरुप जनही रू एक हजार १०० असुल गरिएको छ । उक्त रकम फोहर सरसफाइ गर्दा आवश्यक पर्ने मास्क, पञ्जा र अन्य औजार खरीद गरिने वडाध्यक्ष गौतमले बताए । फोहरमैला व्यवस्था ऐन, २०६८ मा व्यवस्था भएअनुसार स्थानीय सरकारको अग्रसरतामा सरसफाइ अभियान सञ्चालन गरिएको अर्का अभियानकर्मी विष्णु आचार्यले जानकारी दिए ।

अर्जुनधारा नगरका विभिन्न क्षेत्रमा अभियानले ३२औँ साता सम्पन्न गरिसकेको छ । यसक्रममा अर्जुनधारा मन्दिर, दुर्गा मन्दिर, शनिश्चरे बजारक्षेत्र, सालबारी पार्क, कप्तानबारी र ७ नं वडा कार्यालय परिसरमा सरसफाइ गरिसकेको छ । विशेषगरी अर्जुनधारा ६, ७ र ८ नं वडामा यो अभियान केन्द्रित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?