Comments Add Comment

फोरम–राजपा एकता वार्ता पत्राचारमै सीमित

Photo Credit : फाइल तस्वीर

२७ चैत, काठमाडौं । सरकारले सीके राउतलाई मूलधारमा ल्याउनु र मधेसका दुई दल संघीय समाजवादी फोरम र राजपाबीच पार्टी एकताका लागि वार्ता गर्ने कुराकानी एउटै समयमा भयो । धेरैले दुईको एकता वार्तालाई सीके राउत मूलधारमा आएपछि परेको प्रभावको रुपमा अर्थ्याएका छन् । नेताहरु त्यो मान्न तयार छैनन् ।

राजपा नेता केशव झा भन्छन्, ‘सरकार र सीके राउतबीच सहमति हुनुभन्दा अगाडि नै फोरमले केन्द्रीय समितिबाटै निर्णय गरेर एकताका लागि हामीलाई आह्वान गरेको हो ।’

हुन पनि फोरम सहअध्यक्ष एवं वार्ता टोलीका संयोजक राजेन्द्र श्रेष्ठले १९ पुसमा राजपालाई पत्र लेखेका थिए, जुन १० फागुनमा प्राप्त भएको राजपा नेताहरु बताउँछन् ।

तर, नेताहरुले स्वीकार नगरे पनि एकता वार्ताले गति लिएको भने पछिल्लो समय हो । फोरमको पत्र आएको तीन साता मौन बसेको राजापाले सरकार र सीके राउतबीच सहमति भएको ६ दिनपछि ३० फागुनमा फोरमलाई जवाफी पत्र पठायो ।

पत्राचारमा सीमित छ एकता वार्ता !

राजपा र फोरम दुबै नेताहरु पार्टी एकताका लागि लामो समयदेखि जनदबाव रहेको र त्यसलाई शीर्ष नेतृत्वदे पनि स्वीकार गरेकाले एकता वार्ता सुरु भएको दाबी गर्छन् ।

दुबै दलले वार्ता टोली पनि बनाएको छ । फोरमले सहअध्यक्ष राजेन्द्र श्रेष्ठ र राजपाले अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोको नेतृत्वमा वार्ता टोली बनाएको छ । तर, दुबै वार्ता टोली अहिलेसम्म एउटै टेबलमा बस्न सकेका छैनन् ।

दुबै दल पत्रमार्फत जुहारी खेलिरहेका छन् । ३० फागुनमा पत्र लेखेको राजपाले पार्टी एकताका लागि केन्द्र सरकारलाई दिएको समर्थन फिर्ता लिनुपर्ने शर्त राखेको थियो ।

६ चैतमा फोरमले जवाफ दियो, जसमा सरकारबाट हट्नुपर्ने राजपाको शर्तलाई काउन्टर दिइएको छ । ‘कोही सरकारमा र कोही प्रतिपक्षमा भएकै कारण मात्र पार्टी एकीकरण जस्तो महत्वपूर्ण कार्यमा बाधा अवरोध हुनु हुँदैन । यो नीतिगत सवाल नभई रणनीतिक र कार्यनीतिक सवाल हो, जुन समय सापेक्षा परिवर्तनशील भइरहन्छ’ फोरम अध्यक्ष उपेन्द्र यादवले जवाफी पत्रमा भनेका थिए ।

उपेन्द्र यादवको पत्रपछि मौन बसेको राजपाले २६ चैतमा आएर फेरि जवाफी पत्र लेखेको छ । आपसी सहमतिकै आधारमा सरकारका विषय हल गर्न सकिने फोरमको जवाफ सकारात्मक भएको भन्दै राजपा अध्यक्ष मण्डलका संयोजक शरतसिंह भण्डारीले महतोको नेतृत्वमा वार्ता समिति गठन गरेको जानकारी गराएका छन् ।

जबकी यो वार्ता समिति महेन्द्र यादव अध्यक्ष मण्डलका संयोजक भएकै बेला गठन भएको हो ।

नेताहरुकाअनुसार अहिलेसम्म दुबै दलको वार्ता समिति वा शीर्ष नेताहरु एउटै टेबलमा बसेर वार्ता गरेका छैनन् । राजपा वार्ता टोली सदस्य केशव झा भन्छन्, ‘अहिलेसम्म औपचारिक वार्ता भएको छैन । पत्रचारमा चलिरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment