Comments Add Comment

प्रदेश २ मा राजपाको प्रदर्शन, सहभागिता न्युन

जनकपुरधाम, २९ चैत । केन्द्रीय समितिको निर्देशनअनुसार राष्ट्रिय जनता पार्टी (राजपा) ले प्रदेश २ को राजधानी जनकपुरसहित विभिन्न जिल्लामा प्रदर्शन गरेको छ ।

संविधान संशोधन गर्नुपर्ने, लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्ने, रेशम चौधरी लगायत आन्दोलनकारी राजबन्दीलाई तत्काल रिहाई गर्नुपर्नेसहितका नौ बुँदे माग राख्दै राजपाको केन्द्रीय सर्कुलर अनुसार जिल्लाहरुमा प्रदर्शन भएको हो ।

जिल्ला समितिको अगुवाईमा सरकारबिरुद्व प्रदर्शन भए पनि सहभागिता न्यून देखिएको छ । जिल्लास्तरीय नेताहरुले छोटो समयमा प्रदर्शन गर्नुपरेकाले सहभागिता जुटाउन नसकिएको बताएका छन् । जनकपुरमा जनक चोकबाट निकालिएको सरकारबिरुद्वको र्‍याली उपमहानगरको विभिन्न भाग परिक्रमा गर्दै पुनः जनक चोकमै पुगिएर टुगिएको छ ।

यस्तै सिरहा सदरमुकाम सिरहा र सप्तरी सदरमुकाम राजविराजमा पनि राजपाले प्रदर्शन गरेको छ । राजविराजको शिव मन्दिर प्राङ्णबाट निकालिएको र्‍याली नगरको विभिन्न भाग परिक्रमा गर्दै जनआन्दोलन चोकमा पुगी कोणसभामा परिणत भएको थियो ।

राजपाले आन्दोलनकारीमाथिको मुद्दा फिर्ता गर्नुपर्ने, जन्मसिद्व नागरिककका सन्तानलाई बंशजको नागरिकता प्रदान गर्नुपर्ने, लाखौं नेपाली नागरिकलाई राज्यबिहीन बनाउने षड्यन्त्र बन्द गर्नुपर्ने, भ्रष्टाचारी, कालोबजारी, महँगी, वेरोजगारी अन्त्य गर्नुपर्ने, राष्ट्रिय एकता र अखण्डतालाई कमजोर पार्ने काम बन्द गर्नुपर्ने र राज्य आतंक तथा लोकतन्त्रविरोधी गतिविधि बन्द हुनुपर्ने माग पूरा गराउन भन्दै प्रदर्शन गर्न २७ चैतमा जिल्ला समितिहरुलाई पत्राचार गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment