+
+
Shares

खाता खोल्नुस्, बैंकले उल्टै दिन्छ १०० रुपैयाँ

सरकारले सुरु गर्‍यो 'खोलौं बैंक खाता' अभियान

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख १ गते ११:४९
Photo Credit : चन्द्र आले/अनलाइनखबर

१ वैशाख, काठमाडौं । सरकारले नयाँ वर्ष २०७६ को पहिलो दिनबाट देशैभर ‘खोलौं बैंक खाता’ अभियान गरेको छ । ‘समृद्धिसँग जोडौं नाता सबै नेपालीको बैंक खाता’ भन्ने नाराका साथ अभियान सुरु गरिएको हो ।

यस अभियानको औपचारिक शुभारम्भ प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार काठमाडौंको राष्ट्रियसभा गृहबाट गरेका छन् ।

वित्तीय समावेशीता, वित्तीय पहुँच र वित्तीय साक्षरता समृद्ध नेपाल सुखी नेपालीको आधार स्तम्भ भएको र यसको पहिलो खुड्किलो बैंक खाता हो भन्ने निष्कर्षसहित सरकारले बैंक खाता खोल्ने अभियान सुरु गरेको हो ।

बैंक खाता खोल्दा कुनै पनि शुल्क लाग्ने छैन । बरु आफूले खोलेको खातामा वाणिज्य बैंकहरुले नै सामाजिक उत्तरदायित्वअन्तर्गत एक सय रुपैयाँ जम्मा गरिदिने छन् ।

आफूले पनि १०० रुपैयाँ थप्नुस् : अर्थमन्त्री

शुभारम्भ कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले खाता खोल्दा उपलब्ध गराइने एक सय रुपैयाँको मात्र भर नपरेर आफूले पनि एक सय रुपैयाँ राख्न आग्रह गरे ।वित्तीय सुरक्षाका लागि बैंक खाता अनिवार्य भएका कारण सरकारले यो कार्यक्रम शुभारम्भ गरेको भन्दै उनले सबैलाई बैंकमा खाता खोल्न आग्रह गरे ।

नागरिकताको प्रमाणपत्र वा राहदानी वा फोटोसहितको मतदाता परिचयपत्र वा राष्ट्रिय परिचयपत्र वा सवारी चालक अनुमति पत्र वा सम्बन्धित स्थानीय तहले प्रमाणित गरी उपलब्ध गराएको फोटोसहितको सिफारिस वा पहिचानपत्र वा अन्य कागजातबाट पनि सजिलै बैंक खाता खोल्न सकिनेछ ।

कति पाइन्छ ब्याज ?

राष्ट्र बैंकले सबै वाणिज्य बैंकहरुलाई १ सय रुपैयाँ राखिदिएर ग्राहकहरुको बैंक खाता खोलिदिन यसअघि निर्देशन दिएको थियो । चालु आर्थिक वर्षको बजेटमा उल्लेख भएको कार्यक्रमलाई कार्यान्वयन गर्न सरकारले बैंक खाता खोल्ने अभियान शुभारम्भ गरेको हो । यस अभियान सञ्चालनका लागि अर्थमन्त्रालय, राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरुले सहकार्य गर्ने छन् ।

यसको ब्याज दर भने बैंक अनुसार फरक हुने छ । वैशाख १ गते नयाँ वर्षको सार्बजनिक बिदा भएपनि सबै बैंकहरु खुला राखिएको छ ।

कुन-कुन बैंकमा खोल्न सकिन्छ खाता ?

कृषि विकास बैंक, बैंक अफ काठमाडौं, सेन्चुरी, सिटिजन्स, सिभिल, एभरेष्ट, ग्लोबल आईएमई, हिमालयन, जनता, कुमारी, लक्ष्मी, माछापुच्छ्रे, मेगा बैंकका शाखामा निःशुल्क खाता खोल्न सकिन्छ ।

यसैगरी नबिल, एनसीसी, नेपाल बंगलादेश, नेपाल बैंक, नेपाल इन्भेष्टमेन्ट, नेपाल एसबीआई, एनआईसी एसिया, एनएमबी, प्रभु, प्राइम, राष्ट्रिय वाणिज्य बैंक, सानिमा, सिद्धार्थ, स्ट्याण्डर्ड चार्टर्ड र सनराइज बैंकका कुनै पनि शाखाबाट आफ्नो खाता खोल्न सकिने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?