Comments Add Comment

गौरीशंकरको काखमा रमेको दोलखा

१ वैशाख, दोलखा । सात हजार एक सय ३४ मिटर अग्लो गौरीशंकर हिमाल, जसलाई आधार बनाएर नेपालको प्रमाणिक समय निर्धारण गरिएको छ । यही गौरीशंकर हिमाललाई पृष्ठभूमिमा राखेर लमतन्न परेको दोलखा, कुनै चित्रकारले बान्की मिलाएर पोतेको मोहक क्यानभासजस्तै लाग्छ ।

पर्यटकीय गन्तव्य, ऐतिहासिक धरोहर, धार्मिक आस्थाको केन्द्र । अर्थात समग्रमा एक प्याकेज हो दोलखा । यही भूगोलमा छ कालिन्चोक भगवतीदेखि भीमेश्वर मन्दिरसम्म । तमोर नदी, जिरी उपत्यका, कुरी उपत्यका यसका थप आकर्षण हुन् ।
भनिन्छ, ‘दोलखाको इतिहास नलेखेसम्म नेपालको इतिहास पूर्ण हुँदैन ।’

दोलखाको यही गरिमालाई नजिकबाट नियाल्न यसपाली हामीले काठमाडौं छाड्यौं । काठमाडौं–धुलिखेल–दोलालघाट । त्यसपछि खाँडीचौर । यहीबाट हो, अरनिको राजमार्ग छाडिने । हामी सिन्धुपाल्चोकतर्फ सोझिएको राजमार्ग छाडेर नागबेली परेको सडक उक्लन्छौ । यस्तो लाग्छ, चरिकोट बजार हाम्रै प्रतीक्षा गरिरहेको छ ।

यही बजार, जहाँबाट जिरी होस् वा कालिन्चोक, भीमेश्वर होस् वा कुरी उपत्यका पुग्ने । अर्थात चरिकोट एक प्रस्थान विन्दु हो । अहिले यसले व्यापारिक बजारको रुप ग्रहण गरेको छ । आसपासका गाउँबाट किनमेलका लागि आउनेहरुको यहीँ जमघट हुन्छ ।

एक रात चरिकोटमा विताएपछि हाम्रो यात्रा सुरु हुन्छ । करिब चार किलोमिटर छिचोलेपछि भेटिन्छ, भीमेश्वर मन्दिर । आदिकालमा स्थापना भएको मानिने भीमेश्वरको खास विशेषता भनेको, एक दिनमा, तीन फरक समयमा, तीन भिन्न देवताको अवतार । बिहान भीमेश्वरको अवतार, दिउसोको महादेव अवतार र साँझ भगवानको अवतार रहेको विश्वास गर्छन्, तीर्थालुहरुले ।

यो देवस्थलसँग जोडिएका केही रोचक कथन र प्रसंग पनि छन् । भनिन्छ, भीमेश्वरको मूर्तिमा पसिना आएमा देशमा अनिष्ट हुन्छ । अतः यसरी पसिना आएको बेला कपासले पसिना पुछेर राजदरबार पठाउने गरिन्थ्यो । साथै राजदरवारबाट क्षमापूजा गर्ने चलन थियो । नेपालमा राजतन्त्रको अन्त्य भएपछि सो कपास राष्ट्रपति कार्यलयमा पठाउने गरिएको छ । दैनिक चार पटक पूजा हुन्छ । यहाँ बडादशैं, एकादशी तथा मछिन्द्रनाथ जात्रामा विशेष पूजाआजा हुन्छ ।

अब हाम्रो यात्रा कुरी उपत्यकातर्फ अघि बढ्छ । कालिन्चोकलाई गन्तव्य बनाएर हिँड्दा कुरी उपत्यकामा एक रात थकाइ मार्नुपर्ने हुन्छ । यो आफैमा एक सुन्दर थलो हो, जहाँ हिँउद याममा हिउँ खेल्नेहरु आउँछन् । तीन हजार मिटरको उचाइमा रहेको कुरी उपत्यकालाई छाडेर हामी कालिन्चोकतर्फ लाग्यौं ।

यहाँबाट कालिन्चोक पुग्न अहिले दुईवटा विकल्प छन् । एक पैदल यात्रा, अर्को केबुलकार । पैदल हिँड्ने हो भने, दुई घण्टा लाग्छ ।

बिहानको चिसो सिरेटो छल्दै र लेकाली सौन्दर्य नियाल्दै हामी पुग्यौं, कालिन्चोकको थुम्कोमा । तीन हजार आठ सय ५० मिटरको यो उचाइबाट आसपासको सौन्दर्य नियाल्नुको बिछट्टै आनन्द रहेछ । अर्कोतिर कालिन्चोक भगवतीको महिमा पनि कम छैन । धार्मिक कथन के छ भने, यही आसपासको गुफामा पाँच पाण्डव गुफा बसेका थिए । पौराणिक महत्वको कालिन्चोक भगवती आस्थाको धरोहर हो ।

हेर्नुहोस् भिडियो र तस्वीर

   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment