Comments Add Comment

धनिया बेच्ने निहुँमा डेढ महिनामा दुई जनाको हत्या

२ वैशाख, विराटनगर । बजारमा दैनिक उपभोग्य बस्तु धनिया बेच्ने विषयमा विवाद हुँदा डेढ महिनाको अन्तरमा सुनसरी भोक्राह–नरसिंह गाउँपालिकामा दुई जनाको मृत्यु भएको छ ।

सुनसरीको इनरुवामा लाग्ने सोमबारे बजारमा गत फागुन २० गतेबाट सुरु भएको विवादका कारण आइतबार सम्म २ जनाको ज्यान गएको हो ।

सोमबारे बजारमा धनियाको पत्ता बिक्री गर्ने विषयमा विवादमा कुटपिट हुँदा भोक्राह नगरसिंह गाउँपालिका– ७ का अन्दाजी ६० वर्षका वृद्ध सुइलाल मण्डलको मृत्यु भएको थियो । मण्डल हत्याको डेढ महिना बित्न नपाउँदै आइतबार राति ७५ वर्षका जागेश्वर मण्डलको हत्या भएको हो ।

डेढ महिनाअघि भएको घटनामा पीडित पक्ष नै आइतबारको घटनामा आरोपी बनेको छ । प्रहरीले वृद्धको हत्या आरोपमा आइतबार राति नै भोक्राह नरसिंह गाउँपालिका ७ का २९ वर्षिय शंकर मण्डल र २५ वर्षका बुदु मण्डललाई पक्रउ गरेको छ । बुदु मण्डल सुइलालका छोरा हुन् ।

सुइलालको हत्या आरोपमा पनि प्रहरीले दुई जनालाई पक्राउ गरेको थियो । गत फागुनमा भएको विवादमा आरोपित थिए ।

सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीका अनुसार गत फागुन २० गते बजारमा विवाद हुँदा सुइलालको मृत्यु भएको थियो । पुरानो घटनाको पीडित पक्ष नै आइतवारको घटनामा अनुसन्धानकालागि पक्राउ परेको उनको भनाइ छ ।

आइतबार नयाँ वर्ष मनाउन जागेश्वर सम्धीको घरमा पुगेका थिए । भोक्राह–नरसिंह गाउँपालिका– ३ सर्बैया टोलमा पुगेका उनको राति ११ बजे हत्या भएको थियो । घटना हुनुअघि स्थानीयले बुदु मण्डललाई देखेपछि प्रहरीलाई खबर गरेका थिए । राति १ बजे डिएपी ज्ञानेन्द्र फुयालको नेतृत्वमा घटनास्थल पुगेको प्रहरी टोलीले तत्काल दुई जनालाई नियन्त्रणमा लिएको थियो ।

भोक्राह नरसिंह गाउपालिका– ३ का वडा अध्यक्ष सुकदेव यादवका अनुसार जागेश्वर र सुइलाल मण्डलको घर करिब ५ किलोमिटर टाढा छ । हत्याको विषयमा आइतबार राति करिब–२ बजे आफूले जानकारी पाएको उनले सुनाए ।

आइतबार शव भेटिएका वृद्धको शरीरमा कुनै निलडाम नदेखिएको प्रहरीले बताएको छ । बाहिरी चोट नदेखिएपछि शवको पोष्टमार्टमका लागि प्रहरीले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको सुनसरीका एसपी अधिकारीले जानकारी दिए । पक्राउ परेका दुबै जनामाथि अनुसन्धान भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment