Comments Add Comment

पत्रकार गिरीको रिहाइको माग गर्दै जिप्रकामा धर्ना

४ वैशाख, पोखरा । जिल्ला प्रहरी कार्यालय कास्की अघि बुधबार दिउँसो पोखराका सम्पूर्ण क्रियाशील पत्रकार भेला भए । कालो पट्टी बाँधे । आफूसँग भएका क्यामेरा, झोला, कलम, ल्यापटप र पत्रिका धमाधम भूइँमा राखे ।

उनीहरुको अगाडि लामो कालो ब्यानरमा लेखिएको थियो, ‘पत्रकारिता साइबर क्राइम होइन । विद्युतीय कारोबार ऐन अन्तर्गतको दफा नम्बर ४७ र ४८ खारेज गर !’ करिब ३० मिनेट कोही बोलेनन्, चुपचाप बसे ।

पोखराका पत्रकार अर्जुन गिरीको रिहाइको माग गर्दै कास्कीका पत्रकाहरुले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा धर्ना दिएका हुन् । साइबर क्राइम मुद्दामा पक्राउ गरी कारबाही गरिएको विरुद्धमा उनीहरुले विरोध जनाएका हुन् ।

धर्ना तथा विरोध कार्यक्रमको अगुवाइ पत्रकार महासंघ कास्कीले गरेको थियो । त्यसमा ऐक्यबद्धता जनाउँदै गण्डकी युवा पत्रकार सञ्जाल, संसदीय पत्रकार मञ्च गण्डकी, प्रेस संगठन, प्रेस युनियन कास्की लगायतले साथ दिए । उनीहरुले पत्रकारिता साइबर क्राइम अन्तर्गत नपर्ने भएकाले पत्रकार गिरीको तत्काल बिना शर्त रिहाइ हुनुपर्ने माग राखेका छन् ।

धर्नापछि भएको कोण सभामा पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेलले पत्रकार अर्जुन गिरीको समाचारबारे केन्द्रीय अनुसन्धान विभाग (सीआईबी) लाई प्रेस काउन्सिलको क्षेत्रकाधिकारभित्र पर्छ भन्ने जानकारी हुँदाहुँदै पनि पक्राउ गरी म्याद थप गरिनु न्यायोचित नभएको बताए ।

‘उहाँले लेखेको समाचारका पात्र र प्रहरी प्रशासनकै मिलेमतो त छैन ? भन्ने गम्भीर प्रश्न उब्जिएको छ,’ पौडेलले भने, ‘अब हामीले पत्रकार गिरीको रिहाइको मागमात्रै होइन । विद्युतीय कारोबार ऐन अन्तर्गतको दफा नम्बर ४७ र ४८ लाई जसरी प्रेस स्वतन्त्रता हनन् हुने किसिमले प्रयोग गरिएको छ, अब नेपाल पत्रकार महासंघले आन्दोलन त्यतातर्फ पनि सोझ्याउँछ ।’

पत्रकार महासंघ कास्की शाखा अध्यक्ष दीपेन्द्र श्रेष्ठले ठगी भएको समाचार लेखेकै आधारमा हत्कडी लगाइनु निन्दनीय भएको बताए ।

पत्रकार गिरी ठगीबारे समाचार लेखेकै आधारमा सोमबार साइबर क्राइम अन्तर्गत पक्राउ परेका थिए । बतास अर्गनाइजेसनका सञ्चालक सदस्य विपेन्द्रराज बतासले पत्रकार गिरीमाथि पेश गरेको साइबर अपराधको उजुरीका आधारमा उनलाई केन्द्रीय अनुसन्धान विभाग (सीईबी)ले पक्राउ गरेको हो ।

उनलाई साइबर अपराध सम्बन्धी मुद्दामा मंगलबार जिल्ला अदालत काठमाडौंले ३ दिन म्याद थप गरी थुनामा राख्ने आदेश दिएको छ ।

पत्रकार गिरीको पक्राउ विरोधमा बुधबारदेखि उनी रिहाइ नहुञ्जेलसम्मका लागि पोखराबाट प्रकाशन तथा प्रशारण हुने सबै पत्रिकाहरुमा सम्पादकीयमा कालो पोत्ने, रेडियो र टेलिभिजनमा विहान ६ बजे ९० सेकेन्ड प्रशारण बन्द गर्ने तथा अनलाइनहरुमा कालो ब्यानर राखेर विरोध सुरु गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment