Comments Add Comment

म्यारियटपछि १५० करोड लगानीमा अर्को होटलको तयारी

३ वैशाख, काठमाडौं । नेपालमा नयाँ किसिमका होटलहरु सञ्चालनमा नआएको लामै समय बित्यो । पर्यटकको आगन बढ्दै गर्दा पर्यटन व्यवसायीले नयाँ किसिमका होटलमा लगानी गर्न सुरु गरेका छन् । भर्खरै अमेरिकी चेन ब्रान्ड म्यारियटको पाँचतारे होटल सञ्चालनमा ल्याएको एमएस ग्रुपले नेपालमै नौलो होटलको प्रवेश गराउने भएको छ । त्यो हो,’म्यारियट मक्सी’ ।

म्यारियट मक्सी अमेरिकन चेन ब्रान्ड हो । नेपालमा ‘ब्याक प्याकर्स’ पर्यटकलाई लक्षित गर्दै एमएस ग्रुपले नयाँ चार तारे होटल खोल्न लागेको हो । यो होटलमा झण्डै १ अर्ब ५० करोड लगानी हुनेछ ।

काठमाडौंको कमलादीमा होटल बनाउन २ रोपनी जग्गा लिइसकिएको ग्रुपका प्रमुख शशीकान्त अग्रवालले बताए । उनकाअनुसार यो होटल धनाढ्य तर, पछाडि भिरिने झोलामा नै आफ्ना सबै बन्दोबस्तीमा सामान राखेर घुम्ने पर्यटकलाई लक्षित हुनेछ ।

‘यो होटलमा धनाढ्य ब्याक प्याकर्सहरु बस्नेछन्,’उनी भन्छन्,’कोठामै लुगा सुकाउन मिल्ने र थोरै ‘रफ’ किसिमका हुन्छन् । तर, बसाइ सस्तो भने हुँदैन ।’

हाल ठमेलका भित्री गेस्ट हाउसहरुमा यस्ता पर्यटक बस्छन् । तर, उनीहरुलाई सस्तोमा सुविधा दिने गरिएको छ ।

मक्सीले भने होटलभित्र विभिन्न मनोरन्जनजन्य सुविधा दिएर महंगोमा सेवा दिनेछ ।  मक्सी होटलको निर्माण अबको एक महिनाभित्रै सुरु गर्ने अग्रवालले बताए । यो होटलमा एक सयवटा रुमहरु रहनेछन् ।


एमएस ग्रुपले पछिल्लो समयमा  आक्रामक रुपमा होटलमा लगानी गरिरहेको छ । उसले एक चार तारे र एक पाँचतारे होटलमा म्यारियटको व्यवस्थापन नेपाल भित्र्याएको छ ।

एमएसको फेयरफिल्ड म्यारियट र म्यारियट होटल सञ्चालनमा आइसकेका छन् । अब मक्सी पनि म्यारियटकै व्यवस्थापनमा सञ्चालन गर्ने योजना छ ।

होटल निर्माणका लागि सबै तयारी सकिएको र म्यारियटको औपचारिक उद्घाटन गर्नासाथ मक्सीमा काम गर्ने अग्रवालले बताए । नयाँ होटल अबको अढाई देखि ३ वर्षभित्र सञ्चालनमा ल्याउने लक्ष्य छ ।

यो होटललाई नेपालकै पहिलो ‘फन’ होटलमा रुपमिा प्रवर्द्धन गरिनेछ । मक्सी होटलमा पर्यटकलाई फरक किसिमबाट सेवा दिइने भएकाले नेपाल आउने धेरै पर्यटकले यसलाई रोज्ने दावी अग्रवालको छ ।

शशीकान्त अग्रवाल

‘हामीसँग अहिले झोलामै सबै थोक राखेर भ्रमाणमा निसकने धेरै पर्यटक छन्, जो धेरै विलासिता भन्दा पनि नेपाल आएर त्यसकै परिवेशमा होटलमा बस्न रुचाउँछन्,’ उनी भन्छन्,’हामी त्यही खालको सेवा मक्सीमा पस्कन्छौं ।’

मक्सी होटलहरुमा विभिन्न खेलहरु सञ्चालन गरिन्छन् भने म्युजिकल इभेन्टहरु गरिन्छन् ।  जहाँ पर्यटक रम्न सक्छन् ।

एमएस ग्रुपले बितेको ४ वर्षमा नै होटल क्षेत्रमा मात्रै क्रण्डै साढे ५ अर्ब लगानी गरिसकेको छ । अब मक्सीमा लगानी गर्दा त्यो ७ अर्बको हाराहारीमा पुग्नेछ ।

‘नेपालमा अझ धेरै पर्यटक भित्र्याउन सकिन्छ, सरकारले पर्यटकीय पूर्वाधारको विकासमा ध्यान दियो र प्रवर्द्धनमा जोड दियो भने हामी धेरै सम्भावना देखेर नै लगानी गरिरहेका छौं,’ अग्रवाल भन्छन् ।

उनले वर्षमा करोडभन्दा बढी पर्यटक भित्र्याउन सक्ने सम्भावना नेपालमै रहेको भन्दै त्यसलाई वास्तविकतामा बदल्ने गरी सरकारी नीति र लगानी आवश्यक रहेको बताए ।

होटल लगायतका पर्यटकीय पूर्वाधारमा आएका निजी क्षेत्रलाई पनि सरकारले प्रोत्साहन गर्नुपर्नेमा ग्रुपको जोड छ ।

यसअघि अग्रवाल उद्योग क्षेत्रमा मात्रै आवद्ध भएर लगानी गरिरहेका थिए । पछिल्लो समयममा उनको ग्रुप सेवा क्षेत्रमा पनि प्रवेश गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment