२९ बैशाख, काठमाडौं । च्याम्पियन्स लिग सेमिफाइनलमा इन्टर मिलानसँग हृदयविदारक हारपछि स्पानिस क्लब बार्सिलोनाको लागि यस सिजन पूर्ण रूपमा बर्बाद हुने सम्भावना थियो ।
अघिल्ला केही सिजनहरूमा सम्भवत: त्यो हुने पनि थियो । सम्भावित ट्रेबलबाट केवल एउटा ट्रफीमा झर्नु कुनै अनौठो थिएन । किनकी क्लबको हालसालैको पिचभित्र र बाहिरका सङ्घर्षहरूलाई हेर्दा यसको सम्भावना देखिएको थियो ।
तर अहिलेको बार्सिलोना फरक छ ।
आइतबारको एल क्लासिकोमा चिरप्रतिद्वन्द्वी रियल मड्रिडविरुद्ध २-० ले पछि परेको अवस्थामा, बार्सिलोनाले हाफ टाइममा ४-२ को अग्रता लिएर अन्तत: खेल ४-३ मा जित्यो । यस सिजन चार खेलमा तेस्रो पटक बार्सिलोनाले पुनरागमन गर्दै रियललाई पराजित गरेको हो ।
खेलको अन्त्यतिर रियलको दबाबलाई झेल्दै बार्सिलोनाले जित हात पारेको हो । यसको अर्थ अब बिहीबार एस्पान्योलविरुद्ध जित हासिल गरेमा बार्सिलोनाले आफ्नो २८औं लिग उपाधि सुनिश्चित गर्न सक्छ । बुधबार मायोर्का विरुद्धको खेलमा रियल मड्रिड पराजित भएमा पनि बार्सिलोना च्याम्पियन बन्नेछ ।
बार्सिलोनाले एउटै सिजनमा चारवटा क्लासिको जित्यो । इतिहासमा यो दोस्रो पटक मात्रै सम्भव भएको हो । यो गत समरमा हान्सी फ्लिकले जाभीको ठाउँ लिएपछि गरेको उत्कृष्ट कामको प्रमाण हो ।
केही समयअघि पहिचान र आत्मविश्वासको अभावमा रहेको बार्सिलोना अहिले ती दुबै कुराले भरिएको छ । यद्यपि उनीहरुले सजिलो तरिकाले जित्न भने अझै सकेको छैन ।
लामिन यामाल, पेड्री र पाउ कुबार्सीजस्ता युवा खेलाडीहरूलाई हेर्दा, क्याटलान क्लब दीर्घकालीन रूपमा सबै क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्षम देखिन्छ ।
आइतबार खेलको शान्त सुरुवातपछि, फ्लिकको आक्रमणले रियलको डिफेन्सलाई तीव्र प्रेसिङ र निर्दयी फिनिसिङमार्फत दबाबमा राखेको थियो ।
बार्सिलोनाको डिफेन्स अझै चिन्ताको विषयको रुपमा छ । तर हाई लाइन सिस्टममा विश्वास राखेका हान्सी फ्लिकले यसमा सुधार गर्ने वाचा गरेका छन् । ‘हामीले गत वर्ष सुरु गरेको यात्रा अझै समाप्त भएको छैन । मेरो विचारमा हामीले डिफेन्समा धेरै सुधार गर्नुपर्छ,’ उनले भने ।
‘यसको सम्बन्ध मात्र पछाडिको चार खेलाडीहरूसँग छैन । जब हामी गल्ती गर्छौं, रियलसँग उत्कृष्ट आक्रामक खेलाडीहरू छन्।’
मुभिस्टार प्लससँग कुरा गर्दै यामालले भने, ‘आज जित्न अत्यन्तै महत्त्वपूर्ण थियो । च्याम्पियन्स लिगपछि यस्तो खेल हुनु ठूलो कुरा हो, मलाई लाग्छ त्यो कुरा अब बिर्सिसकिएको छ,’ यामलले भने, ‘दुःख झेल्नुले तपाईँलाई बलियो बनाउँछ र आफ्ना गल्तीहरू सुधार गर्न सिकाउँछ ।’
यस वर्ष आफ्नै मैदानमा खेल्न नपाएको र कठिन वर्ष रहेको यामलले बताए । ‘यो कठिन वर्ष रह्यो । हामी आफ्नै रंगशालामा खेल्न सकेनौं… अन्ततः, मैले आमालाई भनेको थिएँ, च्याम्पियन्स लिग त प्रत्येक वर्ष आउँछ । हामी फेरि प्रयास गर्नेछौं,’ यामलले भने, ‘आजको जित लिग उपाधिको नजिक पुग्न महत्त्वपूर्ण थियो। हामी निकै खुसी छौं ।’
क्लासिकोमा जितपछि बार्सिलोना दोस्रो स्थानमा रहेको रियल मड्रिडभन्दा ७ अंकले अगाडि छ र अब तीन खेल मात्र बाँकी छ । अब बार्सिलोना लगभग उपाधि नजिक छ ।
समस्यामा रियल
बार्सिलोनाको भविष्य उज्यालो देखिए पनि, रियल मड्रिडको अवस्था भने उस्तै छैन् ।
प्रशिक्षक कार्लो एन्सेलोटीको क्लबमा समय सकिँदै गएको छ, र त्यो दुःखद अन्त्यतर्फ उन्मुख छ ।
क्लासिकोमा रोमाञ्चक प्रतिस्पर्धा भएपनि बार्सिलोनासँगको लगातार चौथो हारले रियलको लिग उपाधि सम्भावनाबाट टाढिएको छ ।
किलियन एमबाप्पेले १५ मिनेट भित्र रियललाई २-० को अग्रता दिलाएका थिए । यसका साथै उनी क्लबको इतिहासमा डेब्यु सिजनमा सबैभन्दा धेरै गोल गर्ने खेलाडी बने । उनले दोस्रो हाफमा ह्याट्रिक पूरा गरे ।
तर रियलको कमजोर डिफेन्सले बार्सालाई पहिलो हाफमै ४–२ को अग्रता दिलायो ।
रियल जस्तो टिमका लागि चार क्लासिको खेलमा १६ गोल खानु ठूलो चिन्ताको विषय बन्यो । प्रशिक्षक एन्सेलोटीले पनि स्वीकारे कि आफ्नो टोलीले राम्रो प्रतिस्पर्धा गरेपनि डिफेन्समा कमजोरी देखियो।
यस सिजनको सबैभन्दा ठूलो समस्या भनेको एमबाप्पे, भिनीसियस, रोड्रिगो र बेलिङहमजस्ता स्टार खेलाडीहरू भएको टोलीमा सन्तुलन कायम गर्न नसक्नु रह्यो ।
सिजनको अन्त्यपछि अन्सेलोटीले क्लब छाड्ने सम्भावना छ, र जाबी आलोन्सोलाई सम्भावित उत्तराधिकारीको रुपमा हेरिएको छ ।
एन्सेलोटीले रियलका लागि १५ मुख्य उपाधि जिताएका छन् । तर यस पटक उपाधिविहीन सिजनले एन्सेलोटीको सफल कार्यकाललाई उचित रुपमा बिदाई नहुने देखिएको छ ।
बीबीसीबाट भावानुवाद
प्रतिक्रिया 4