
२ वैशाख, काठमाडौं । काठमाडौंमा दुई दशकपछि पाँचतारे होटल खुलेको छ । अमेरिकी चेन ब्रान्ड म्यारियट नेपालमा पनि खुलेको हो । एमसएस ग्रुपको लगानीका खुलेको यो होटल निकै अत्याधुनिक छ ।
नयाँ वर्षबाट सफट लञ्च भएको होटलको केही हप्ताभित्रै प्रधानमन्त्रीबाटै उद्घाटन गर्ने योजना छ ।
पाँचतारे होटलमा आवश्यक सबै सेवा सुविधासहित खुलेको होटलले काठमाडौंको मध्यभागबाटै सेवा सुविधा दिने भएकाले निकै महत्वपूर्ण रहेको होटलका सञ्चालक शशीकान्त अग्रवालले बताए ।
काठमाडौंको नक्सालमा खुलेको होटलमा झण्डै ४ अर्बको लगानी छ । यो परियोजनामा सबा ३ अर्ब रुपैयाँ बैंकहरुले नै लगानी गरेका छन् ।
झण्डै साढे ४ वर्ष लगाएर यो हेाटल सञ्चालनमा आएको हो । यो होटलको मार्केटिङसहित सम्पूर्ण व्यवस्थापनको पाटो अमेरिकी चेन ब्रान्ड म्यारियटले नै हेरेको छ ।
१३ रोपनी क्षेत्रफलमा बनेको होटल काठमाडौको निकै पायक पर्ने स्थानमा रहेकाले यसबाट धेरैले लाभ पाउने अपेक्षा गरिएको छ ।

‘हामी एयरपोर्टबाट पनि नजिक छौं, ठमेल, दरबारमार्ग र बसन्तपुर दरबार क्षेत्रबाट पनि टाढा छैनौं,’ अग्रवालले भने,’हामी शहरको निकै प्राइम लोकेसनमा ५ तारे होटल खोल्न सफल भएका छौं । यसले गर्दा ग्राहकलाई पनि सजिलो त हुने नै छ, हामीलाई पनि बिजनेस राम्रो हुन्छ भन्ने आत्मविश्वास छ ।’

यो होटल काठमाडौंको मुटुमा भएकाले विदेशी पर्यटकका लागि पनि निकै पायक पर्ने विश्वास गरिएको छ । सेवा पनि विश्वस्तरीय दिइने भएकाले पर्यटकलाई अब टाढा-टाढाका होटलमा गएर बस्नुपर्ने बाध्यता हट्ने अग्रवालले बताए । कर्पोरट तथा पारिवारिक तथा सांस्कृतिक कार्यक्रम गर्न पनि टाढाका होटलमा जानुपर्ने अवस्था अन्त्य हुने अग्रवालको विश्वास छ ।
होटलमा आधुनिक स्वीमिङ पुल पनि छ । यहाँ विदेशी राष्ट्र प्रमुखहरु आउँदा बास बस्न मिल्ने प्रेसिडेन्सियल स्वीटदेखि सबै प्रकारका रुमहरु छन् । यहाँ न्युनतम् १५० डलरदेखि १५ सय डलरसम्मका रुमहरु छन् ।
२१४ कोठाको होटलमा स्पाको पनि सुविधा छ । यहाँ २० वटा स्वीट रुमहरु छन् । डिलक्स रुमको संख्या धेरै छ ।
यहाँ जिम क्लब पनि छ । यो क्लब भने सर्वसाधारणका लागि पनि खुला गर्ने तयारी छ ।
यहाँ ६ वटा कन्फरेन्स तथा सेमिनार हलहरु पनि छन् । बैंक्वेट हलमा एकैपटक ८ सय जनालाई सेवा उपलब्ध गराउन सक्ने क्षमता छ ।
यहाँ २४ घन्टा नै खुल्ने रेष्टुरेन्ट पनि छन् । जहाँ चाइनिज, जापानिज, नेपाली र सबै प्रकारका कन्टिटेन्टल फूड उपलब्ध हुनेछन् ।
यहाँ ठमेल किचन र इदाममो गरी दुई वटा रेस्टुरेन्ट सञ्चालनमा छन् । यो होटलको लबीलाई नेपाली मौलिक शैलीमा सजाइएको छ । ठूलो घण्टा राखिएको छ भने नेपालको कला, संस्कति र सभ्यता झल्किने गरी विभिन्न तवरले सजाइएको छ ।

होटलको लबी बाहिर ‘नक्साल चोक’ को नाममा खुला स्थान पनि छ । जहाँ पर्यटकहरु रमाउँदै बार्बेक्युको मज्जा लिन सक्छन् ।
होटलमा बार पनि छ, जसलाई ‘रक्सी बार’ नाम दिइएको छ । मौलिक नेपाली नामबाट बारको नामारकण भएको छ । यहाँ क्यासिनो र लाउन्ज पनि खुल्ने क्रममा छ ।
१० तल्ले होटलमा अत्याधुनिक लिफ्ट सिस्टम जडान भएको छ । यहाँ ३सय सवारी अट्ने हाड्रोलिक पार्किङ सिस्टम पनि छ ।
म्यारियट होललले नेपालको पर्यटन विकासमा नयाँ इट्टा थप्ने अग्रवालले बताए ।
‘हामी पर्यटकलाई उनहरुले चाहेको जस्तै सुविधा दिन्छौं । कुनै पनि सम्झौता नगरी यहाँ विश्वस्तरीय सेवा दिने हाम्रो लक्ष्य हो,’ अग्रवाल भन्छन्’हामी यहाँ बस्ने पर्यटकले माग्ने कुनै पनि सुविधालाई ‘नो’ भन्दैनौं ।’














फोटोःशंकर गिरी
प्रतिक्रिया 4