Comments Add Comment

चिनियाँ हटाएर भारतीय कम्पनीलाई दिइयो न्यू खिम्ती-बाह्रबिसे प्रसारण लाइनको ठेक्का

Photo Credit : फाइल फाेटाे

५ बैशाख, काठमाडाैं । नेपाल विद्युत् प्राधिकरणले तामाकोशी–काठमाडौँ ४००/२२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गतको पहिलो खण्ड निर्माणका लागि ठेकेदार छनोट गरेको छ । प्राधिकरणले अन्तर्राष्ट्रिय प्रतिष्पर्धाबाट तामाकोशी–काठमाडौँ प्रसारण लाइनअन्तर्गतको न्यू खिम्ती–बाह्रबिसे खण्ड निर्माणका लागि भारतीय कम्पनी केइसी इन्टरनेशनल लिमिटेडलाई छनोट गरेको हो ।

चिनियाँ ठेकेदार कम्पनी ग्वाङ्सी ट्रान्समिसन एण्ड सबस्टेसन कन्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सले काम नगरेपछि प्राधिकरणले ठेक्का तोडी नयाँ ठेक्कामार्फत् ठेकेदार कम्पनी छनोट गरेको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार काम गर्न पटक–पटक दिएको निर्देशक चिनियाँ कम्पनीले नमानेपछि सम्झौताको अवधि बाँकी नै रहँदा ठेक्का तोडिएको थियो ।

कम्पनीले करीब ४४ किलोमिटर प्रसारण लाइनको डिजाइन, उपकरण आपूर्ति, जडान र सञ्चालनका लागि एक करोड ७३ लाख १७ हजार अमेरिकी डलर र ७१ करोड ७७ लाख ९७ हजार (करबाहेक) रुपैयाँमा ठेक्का पाएको प्राधिकरणले जनाएको छ ।

चिनियाँ ठेकेदार कम्पनी ग्वाङ्सी ट्रान्समिसन एण्ड सबस्टेसन कन्ट्रक्सन तथा सेन्जेन क्लाउ इलेक्ट्रोनिक्सले काम नगरेपछि प्राधिकरणले ठेक्का तोडी नयाँ ठेक्का गरी ठेकेदार कम्पनी छनोट गरेको हो ।

ठेकेदार कम्पनी केइसी इन्टरनेशनलाई २८ दिनभित्र कार्यसम्पादन जमानतसहित ठेक्का सम्झौता गर्न आउन बुधबार पत्र दिइएको आयोजना प्रमुख नवराज ओझाले जानकारी दिए ।

‘असारको अन्तिमबाट ठेकेदारलाई निर्माण स्थलमा परिचालन गर्ने गरी काम भइरहेको छ’, उनले भने, ‘ठेक्का सम्झौता कार्यान्वयनमा आएको ८२० दिनमा ठेकेदारले प्रसारण लाइन निर्माणको काम सक्नु पर्नेछ ।’

प्राधिकरणले चिनियाँ कम्पनीसँग ठेक्का तोडी ठेक्का रकमको १० प्रतिशत अर्थात् १४ लाख ५४ हजार अमेरिकी डलर र छ करोड १६ लाख ७४ हजार रुपैयाँ कार्यसम्पादन जमानत जफत गरेको थियो ।

आयोजना नेपाल सरकारको लगानी र एशियाली विकास बैंक तथा नर्वे सरकारको सहुलियतपूर्ण ऋणमा निर्माण गर्न लागिएको हो । खिम्ती र तामाकोशी नदी क्षेत्रमा निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् काठमाडौँ उपत्यकामा ल्याउन तामाकोशी–काठमाडौँ उच्च क्षमताको प्रसारण लाइन बनाउन गर्न लागिएको हो ।

रामेछापको खिम्तीमा बन्न लागेको सवस्टेसनबाट सिन्धुपाल्चोकको बाह्रबिसेसम्मको ४००/२२० केभी डबल सर्किट प्रसारण लाइनको लम्बाइ ४४ किलोमिटर छ । बाह्रबिसे–काठमाडौँ खण्डको ठेक्का भने लार्सन एण्ड टर्वोले पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment