Comments Add Comment

न्युहोराइजनमाथि एपीएफको जित

१५ वैशाख, काठमाडौं । सुर्खेतमा जारी कर्णाली प्रिमियर लिग-२ अन्तर्गत आज भएको एपीएफ क्लबले न्यु होराइजन बुटवललाई ३८ रनले पराजित गरेको छ ।

एपीएफले दिएको १५४ रनको लक्ष्य पछ्याउने क्रममा न्यु होराइजनले २० ओभरमा ८ विकेट गुमाएर ११५ रन मात्रै बनाउन सक्यो । न्यु होराइजनका ब्याट्सम्यान सुरज दराईले ४० तथा निश्चल चौधरीले २१ रन बनाए पनि अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिन नसक्दा लक्ष्यसम्म पुग्न असफल रहृयो ।

एपीएफको लागि बलिङमा यज्ञमान कुमालले सर्वाधिक ३ विकेट तथा भुवन कार्की र शरद भेषावकरले २-२ विकेट लिए ।

यसअघि एपीएफले २० ओभरमा ८ विकेट गुमाएर १५३ रनको योगफल तयार गरेको थियो । उसको लागि शंकर रानाले सर्वाधिक ४८ रन तथा शरद भेषावकरले ४१ रन बनाए । माथिल्लो क्रमका ब्याट्सम्यानहरुले रन बनाए पनि एपीएफको तल्लो क्रमले रन बनाउन नसक्दा २० ओभरमा ८ विकेट गुमाएर १५३ रन बनाउन सक्यो ।

न्यु होराइजनका बलर राहुल प्रजापति र अर्जुन रायमाझीले समान ३-३ विकेट लिए । राहुलले ३ विकेट लिने क्रममा १९ औं ओभरमा हृयाटि्रक विकेट लिएका थिए । त्यस क्रममा उनले अमर सिंह रौटेला, सन्दिप जोरा र सुमित महर्जनलाई ओभरको चौथो, पाँचौ र छैठौं बलमा आउट गरेका थिए । कर्णाली प्रमियर लिगको २ संस्करणमा यो पहिलो हृयाटि्रक हो ।

कर्णाली क्रिकेट एकेडेमीमा आयोजित प्रतियोगितामा कुल ८ टिमहरु सहभागी छन् जसलाई २ समुहमा बिभाजन गरिएको छ । समूह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, मध्यपश्चिम क्रिकेट क्लब बाँके, आयोजक कर्णाली एघार र लालिगुराँस क्रिकेट एकेडमी झापा रहेका छन् । त्यस्तै समूह ‘बि’ मा एपीएफ क्लब, महेन्द्रनगर क्रिकेट एकेडमी कञ्चनपुर, न्यु होराइजन बुटवल र हिमालयन क्रिकेट एकेडेमी काठमाडौं रहेका छन् ।

प्रतियोगिताको विजेताले नगद ५ लाख रुपैयाँ तथा उपविजेताले नगद २ लाख रुपैयाँ प्राप्त गर्नेछन् । प्रतियोगितामा उत्कृष्ट घोषित हुने बलर र ब्याट्सम्यानले समान २० हजार र प्लेयर अफ द सिरिजले ५० हजार प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment