Comments Add Comment

पोखरामा दिसापिसाब गर्नै समस्या !

१२ ठाउँमा महानगरले शौचालय बनाउँदै

१५ वैशाख, पोखरा । गण्डकी प्रदेश सरकारले सुरु गरेको ‘हेल्लो मुख्यमन्त्री’ कार्यक्रममा जनताले फोनमार्फत आफ्ना गुनासा राख्न पाउँछन् । गएको माघ महिनाको उक्त कार्यक्रममा पोखरा लेकसाइडबाट एकजनाले फोन गरेर सोधे, ‘लेकसाइडमा पुस्तकालय त टाढाको कुरा । खोजेको बेला चर्पी पनि पाइँदैन । यो कस्तो पर्यटकीय नगरी हो मुख्यमन्त्री ज्यू ?’

पर्यटकीय दृष्टिकोणले पोखरा लेकसाइड परिचित ठाउँ हो । त्यहाँ दैनिक हजारौंको संख्यामा स्वदेशी तथा विदेशी पर्यटकको आउजाउ हुन्छ । ती पर्यटकलाई थेग्न बाराहीघाट र हल्लनचोकमा सार्वजनिक २ वटा शौचालय छ । तर, ती शौचालय साँझ परेपछि बन्द हुन्छ ।

पोखराको पृथ्वीचोक सदैव व्यस्त हुन्छ । बसपार्क त्यहीं भएकाले दिनहुँ हजारौं मान्छेको आउजाउ चल्छ । बसपार्कमा पहिलो पटक उत्रेका पर्यटक खाजा या नास्ताको नाटक गर्दै होटल होटलमा छिर्नुपर्छ । सस्तो बजार जाने बाटोनेरै सहारा एकेडेमीले बनाएको ‘सहारा शौचालय’ छ । तर उक्त शौचालयसम्म पुग्न पनि सकसै पर्छ ।

दैनिक लाखौं मान्छेको चहलपहल भइरहने ठाउँ पोखरामा सार्वजनिक शौचालय छैनन् । भएका शौचालयसमेत अपांगमैत्री छैनन् । सार्वजनिक शौचालय नभएकै कारण स्वदेशी तथा विदेशी पर्यटक समस्यामा पर्ने गरेका छन् । पोखरा महानगरकै शौचालयसमेत बाहिरैबाट दुर्घन्ध ह्वास्स आउँछ ।

बर्दियाबाट पोखरा घुम्न आएका अर्जुन पाण्डे पनि बसपार्कमा शौचालय नभएकै कारण समस्यामा परे । ‘पहिलो पटक पोखरा घुम्न आइयो । बसपार्कमा चर्पी नै रहेनछ,’ उनले गुनासो गरे, ‘चर्पी जानकै लागि पनि होटलमा छिर्नुप¥यो ।’ पाण्डेजस्तै पोखरा घुम्न आउने धेरैको गुनासो त्यही ‘शौचालय’ छ ।

पोखरा महानगरको वातावरण शाखा अधिकृत निर्मलमानसिहं भण्डारी आफू महानगरभित्र भएका सार्वजनिक शौचालयबारे ‘अपडेट’ नै नभएको प्रतिक्रिया दिए । उनले भने, ‘पहिले त ६/७ ठाउँमा थियो । तर पछिल्लो समयको अपडेट भएन ।’

१२ ठाउँमा महानगरको सार्वजनिक शौचालय बन्दै

पोखरा महानगरले नै बनाएका अहिलेसम्म कुनै सार्वजनिक शौचालय छैनन् । पोखरा क्षेत्रभित्र जति शौचालय छन्, ती शौचालय बनाउन संघसंस्थालाई सहयोग गरेको महानगरको भनाइ छ ।

पोखरा महानगरले चालु आर्थिक वर्षभित्रै विभिन्न मुख्य तथा व्यस्त ठाउँमा १२ वटा सार्वजनिक शौचालय बनाउने सूचना अधिकारी गंगालाल सुवेदीले जानकारी दिए ।

पोखराका हल्लनचोक, हरिचोक, राष्ट्रबैंक चोक, दोबिल्ला पिकनिक पार्क, मिलनचोक, राखीडाँडा, रत्नशोभा मावि माझठाना, मालपोत कार्यालय, बाराहीघाट, छोरेपाटन लगायतका ठाउँमा सार्वजनिक शौचालय बनाउने महानगरको योजना रहेको सुवेदीले सुनाए । ‘सकेसम्म सबै ठाउँमा अपांगमैत्री बनाउँछौं । सम्भव नभए पनि अधिकांश अपांगमैत्री नै बन्नेछन्,’ उनले भने ।

सार्वजनिक शौचालय बनाउन महानगरले चालु आर्थिक वर्षमा १ करोड रुपैयाँ बजेट छुट्याएको छ । ‘सबै ठाउँमा चर्पी बनाउन टेन्डर गइसकेको छ । कुनै १० लाख, कुनै १९ लाख र कुनै ४३ लाखसम्मका शौचालय बन्नेछन्,’ मेयर मानबहादुर जिसीका स्वकीय सचिव लक्ष्मण तिमिल्सिनाले भने ।

व्यस्त चोकहरुमा शौचालय बनेपछि पर्यटक तथा सर्वसाधारणको समस्या विस्तारै हट्दै जाने महानगरको दाबी छ । ‘पहिल्यै चर्पी भएका ठाउँमा अपांगमैत्री शौचालय बन्नेछन्,’ मेयर जिसीका स्वकीय सचिव तिमिल्सिना भने, ‘बाँकी अन्य ठाउँमा नयाँ संरचनाको शौचालय बनाइनेछ ।’ उनले हल्लनचोक, हरिचोक, राष्ट्रबैंक चोकमा शौचालय बनाउन प्रति शौचालय ४० लाख रुपैयाँ खर्च हुने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment