२६ वैशाख, काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल आगामी पुसदेखि सुरु हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार जारी गरेको वार्षिक क्यालेन्डर अनुसार ए डिभिजन लिग फुटबल पुसदेखि सुरु हुने भएको हो ।
त्यसअघि साउनदेखि असोजसम्म राष्ट्रिय लिग पनि हुने तय छ । क्यालेन्डरमा उल्लेख भएअनुसार ए डिभिजन लिग २०८२ को पुसदेखि २०८३ को जेठसम्म हुनेछ । २ वर्षदेखि ए डिभिजन लिग हुन सकेको छैन ।
एन्फाले पारित गरेको क्यालेन्डर अनुसार अन्य घरेलु प्रतियोगितामा एन्फा प्रेसिडेण्ट लिग २०२५ को आयोजना ५ जेष्ठदेखि २४ जेष्ठ २०८१ (१८ मे–७ जुन २०२५) सम्म गर्ने घोषणा गरेको छ। यो प्रतियोगितामा सातवटै प्रदेशका लिग च्याम्पियनहरू समावेश हुनेछन्।
त्यसैगरी, एन्फा कप लिग कम नकआउट फुटबल च्याम्पियनसिप २० वैशाखदेखि ३ जेष्ठ २०८२ सम्म ‘ए’ डिभिजन क्लबहरूको सहभागितामा सञ्चालन हुने भनिएपनि टिम संख्या अपुग हुँदा नहुने पक्का भइसकेको थियो ।
विद्यालय तहका खेलहरूमा पनि विशेष ध्यान दिइएको छ। यू१४ र यू१७ पुरुष तथा यू१४ र यू१६ महिला अन्तर विद्यालय जिल्ला स्तरीय प्रतियोगिता १० वैशाखदेखि १० जेष्ठ २०८२ सम्म देशभरिका ४९ जिल्लामा सञ्चालन गरिनेछ।
त्यसपछि, जिल्ला विजेताबीच ५ भदौदेखि २५ भदौसम्म प्रदेशस्तरीय प्रतियोगिता हुनेछ भने, त्यसपछि २२ असोजदेखि ३१ असोजसम्म राष्ट्रिय प्रतियोगिता आयोजना गरिनेछ।
शहीद स्मारक ‘सी’ डिभिजन लिग ६ पुष २०८१ देखि १५ फाल्गुन २०८२ सम्म, ‘बी’ डिभिजन लिग फागुन २०८२ देखि वैशाख २०८३ सम्म सञ्चालन हुनेछ।
प्रतिक्रिया 4