Comments Add Comment

वृहत विराट क्षेत्रमा ६ स्थानीय तह थपिए

१५ वैशाख, विराटनगर । प्रदेश १ सरकारले ल्याएको बृहत विराट विकास क्षेत्रमा थप छ वटा स्थानीय तह थपिएका छन् । यसअघि सुनसरी र मोरङ जिल्लाका १२ वटा स्थानीय तह समेटिएको बृहत विराट क्षेत्रमा सुनसरीका दुई र मोरङका तीन स्थानीय तह पनि समेटिएको हो ।

अब बृहत विराट क्षेत्रमा १८ वटा स्थानीय तह समेटिएका छन् । संशोधन गरी पछि थपिएको स्थानीय तहमा सुनसरीको कोशी गाउँपालिका र बराह नगरपालिका रहेका छन् । त्यसैगरी मोरङका रंगेली नगरपालिका, जदाहा, धनपालथान र केराबारी गाँउपालिका समावेश गरिएको छ ।

यसअघि वृहत विराट क्षेत्रमा मोरङको विराटनगर महानगरपालिका, सुन्दरहरैंचा नगरपालिका, कटहरी, ग्रामथान र बुढीगंगा गाउँपालिका समावेश थिए । यसैगरी सुनसरीतर्फ धरान र इटहरी उपमहानगरपालिका, दुहबी र रामधुनी नगरपालिका, बर्जु र गढी गाउँपालिका समेटिएका थिए । यी सबै स्थानीय तहको मध्य क्षेत्रमा सुनसरीको इटहरी उपमहानगरपालिका पर्छ ।

थप स्थानीय तह पनि समावेश गर्नुपर्ने प्रस्तावसहित सांसदहरुले पेश गरेको संशोधन प्रस्ताव समावेश गरेर यो विधेयक आइतबार संसदबाट सर्वसम्मतले पारित भएको छ ।

विधेयकमाथि १५ जना सांसदले संसोधन दर्ता गराएका थिए । जसमा सत्तापक्षका १२ जना रहेका थिए भने प्रतिपक्ष नेपाली कांग्रेसका २ जना सांसदले संशोधन दर्ता गराएका थिए । संघीय समाजबादी पार्टीका संसदीय दलका नेता जयराम यादवले पनि संसोधन दर्ता गराएका थिए ।

संशोधनकर्ता सांसदले यसको क्षेत्र विस्तार गर्नुपर्ने मागसहित संशोधन दर्ता गराएपछि सरकारले उनीहरुको मागलाई सम्बोधन गर्दै १२ स्थानीय तह समेटिएको बृहत विराट क्षेत्र विकासको अवधारणामा थप पाँच स्थानीय तह समावेश गरेको हो ।

आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले विधेयकमाथि दर्ता भएको संशोधनलाई सम्बोधन गदै सरकारले यसको क्षेत्र विस्तार गरेको जानकारी दिए । मन्त्री कार्कीले बृहत विराट क्षेत्र विकासको तालुक मन्त्रालयका रुपमा भौतिक पूर्वाधार मन्त्रालय तोकिएको जानकारी दिए ।

सांसदहरुले यो विधेकलाई प्रदेश राजधानीसंग जोडेर ल्याएको हुनसक्ने आशंका गरेका थिए भने कतिपयले पहाड र हिमालका जिल्लालाई विकासको अवधारणबाट टाढा बनाउन खोजिएको आरोप लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment