
१८ वैशाख, बुटवल । कानून बनेपनि कार्यान्वयन पक्ष फितलो हुँदा मजदुरका समस्या जस्ताको तस्तै रहेको सरोकारवालाले बताएका छन् ।
संबिधानमा श्रमिकका पक्षमा कुराहरु समेटिएपनि कार्यान्वयनमा कसैले चासो नदिदा मजदुरहरु झन् प्रताडित बन्नुपरिरहेको उनीहरुको दाबी छ ।
श्रमिकको हक अधिकार अझै पनि प्राप्त नभएको भन्दै उनीहरुले मजदुर बलियो भएमात्र देश समृद्धिको बाटोमा अघि बढ्न सक्ने बताए ।
१३० औं अन्तराष्ट्रिय श्रमिक दिवसको अवसरमा मानव अधिकार तथा शान्ति समाज रुपन्देहीले बुटवलमा आयोजना गरेको श्रमिक अधिकार : मानव अधिकार अन्तरसंम्बाद तथा भित्तेपात्रो बिमोचन कार्यक्रममा बोल्दै प्रदेशसभा ५ का सदस्य तथा अर्थ उद्योग पर्यटन समितिका सभापति दधिराम न्यौपाने माधबले अधिकार प्राप्तीका लागि सबै मिल्नुपर्ने बताए ।
उनले संबिधानमा लेखेपनि कार्यान्वयनका लागि केही समय लाग्नु स्वभाबिक भएको तर्क गरे । अधिकार प्राप्तीमा बिभेद हुनु दूर्भाग्य भएको भन्दै उनले आफूहरुले ऐन बनाउने तयारीमा रहेकाले आवश्यक सुझाव दिन आग्रह गरे ।
अर्का प्रदेशसभा सदस्य रमा अर्यालले श्रमका नाममा महिला र पुरुषका बिचमा ज्यालामा असमानता रहेको बताइन् ।
उनले समान काम र समान ज्याला समयसापेक्ष बनाउनुपर्ने बताइन् । मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय बरिष्ठ उपसभापति गोबिन्द खनालले मुलुकको हरेक परिवर्तनमा तल्लो बर्गको ठूलो भूमिका रहेको बताए । तल्लोबर्गलाइ उपेक्षा गरिने काम असहृय रहेको बताए ।
पूर्वसांसद बिनोद पहाडीले श्रमिकको हितमा राज्यले काम गर्नै नसकेको बताए । बरिष्ठ पत्रकार तथा दैनिक पत्र तथा जनसंघर्षका प्रधानसम्पादक बालकृष्ण चापागाइले मिडियामा पनि श्रमको समस्या रहेको भन्दै सबै प्रकारको समानताका लागि राज्यको भूमिका उल्टो रहेको दावी गरे ।
पछिल्लो २ वर्षको बीचमा बिचौलीयाका कारण मिडिया धरापमा पुग्न लागेको बताए ।
मजदुरका समस्या सबैका समस्या भएकाले समाधानमा चासो दिन समाजका सभापति डिपी खनालले आग्रह गरे ।
प्रतिक्रिया 4