१८ वैशाख, काठमाडौं । सुर्खेतमा जारी कर्णाली प्रिमियर लिगको समुह चरणको अन्तिम खेलमा एपीएफले महेन्द्रनगर क्रिकेट एकेडेमीलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुधबार भएको समूह ‘बी’ को खेलमा एपीएफले महेन्द्रनगरलाई १८ रनले पराजित गर्दै समूह विजेता बनेको हो । टस जितेर ब्याटिङ गरेको एपीएफले २० ओभरमा ९ विकेट गुमाएर १४३ रन बनाएको थियो । एपीएफको लागि सुमित महर्जनले २६, भुवन कार्कीले २०, आयुष्मान बमले १५ र कमलसिंह ऐरीले अविजित १२ रन योगदान दिए । महेन्द्रनगरका लागि बलर सन्तोष भट्ट र आकाश चन्दले समान ३–३ विकेट लिए ।
१४४ रनको लक्ष्य पछ्याउने क्रममा महेन्द्रनगरले २० ओभरमा ८ विकेटको क्षतिमा १२५ रन मात्रै बनाउन सक्यो । सन्तोष भट्टले ५० र हेमन्त कार्कीले ३० रन बनाए । बलिङतर्फ एपीएफका कमलसिंह ऐरीले ३ र भुवन कार्कीले २ विकेट लिए ।
योसँगै प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । समूह ‘बि’ बाट एपीएफ विजेता र न्यू होराइजन बुटवल उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका छन् ।
समुह ‘ए’ बाट कर्णाली एघार विजेता र त्रिभुवन आर्मी क्लब उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको छ ।
प्रतियोगिताको विजेताले नगद ५ लाख रुपैयाँ तथा उपविजेताले नगद २ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
प्रतिक्रिया 4