Comments Add Comment

काठमाडौंमा साथीहरु मास्क नलगाई हिँड्छन् : प्रधानमन्त्री

२४ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यस वर्षदेखि काठमाडौंमा मानिसहरु माक्स नलगाई हिँड्न थालेको बताएका छन् । गत साल माक्स लगाएर हिँडे पनि यस वर्षदेखि नलगाई हिँड्न थालेको प्रधानमन्त्रीको दाबी छ ।

मंगलबार प्रतिनिधिसभामा उठेका प्रश्नहरुको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने–‘माक्स खोलेर हिँड्ने कुरो साथीहरुले गर्नुभो । पोहोर साल माक्स लाएर हिँड्नुहुन्थ्यो, अहिले त आफैं नलाई हिँड्नुभएको छ । अरु केही प्रमाणै चाहिँदैन ।’

सरकारले काठमाडौंलाई धूलोमुक्त बनाउने र उपत्यका बाहिरबाट आउने सवारी साधनहरुलाई सफा गरेरमात्रै भित्र छिर्न दिने सरकारको नीति रहेको प्रधानमन्त्री ओलीले बताए ।

प्रधानमन्त्री ओलीले काठमाडौं शहरको सफाइ योजनाबारे जानकारी दिँदै भने, ‘हामीले अब सफा कसरी–कसरी गर्छौं पनि भनेका छौं । बाहिरबाट धुलोसहित आउने गाडीहरुलाई अटोमेटिक सफाइ केन्द्रहरु बनाएर, त्यसबाट सफा बनाएर मात्रै भित्र ल्याउने जस्ता प्रवन्धहरुसमेतका विधिहरु अपनाएर सफा गर्छौं भनेका छौं । यी काल्पनिक कुराहरु होइनन् ।’

सरकारले काठमाडौंलाई सफा शहरका रुपमा विकास गर्न चाहहेको बताउँदै प्रधानमन्त्री ओलीले अहिले नै सफा गरिसक्यौं भन्न नखोजेको स्पष्ट पारे । प्रधानमन्त्रीले संसदमा भने, ‘हाम्रो प्रयास त्यसमा केन्द्रित छ । अहिले हामीले विल्कुल सफा गरिसक्यौं, शहर एकदम धुलोरहित भैसक्यो भन्ने होइन, अहिले केही निर्माण कार्यको पनि छ, केही पुराना अब्लिकेसन्सहरु पनि छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment