Comments Add Comment

प्रदेश ५ को नाम मगरात राख्न मुख्यमन्त्रीलाई ११ लाखको हस्ताक्षर

२९ वैशाख, बुटवल । नेपाल मगर संघले प्रदेश ५ को नाम ‘मगरात स्वायत्त प्रदेश’ राख्न माग गर्दै मुख्यमन्त्री शंकर पोखरेललाई ११ लाख ७ सय ३६ जनाको हस्ताक्षर बुझाएको छ ।

प्रदेश ५ मा मगर समुदायको जनसंख्या सबैभन्दा धेरै भएको र आदिमकालीन नामसमेत भएकाले मगरात राख्न माग गरिएको नेपाल मगर संघका केन्द्रीय अध्यक्ष नबिन रोका मगरले बताए ।

संघले रुकुम पूर्वदेखि पाल्पासम्मको मगर समुदायको सघन वस्ती भएका क्षेत्रलाई समेटेर मगरात स्वायत्त क्षेत्र घोषणा गर्नसमेत माग गरेको हो ।

‘संविधानमै स्वायत्त क्षेत्रहरु बनाउन सकिने उल्लेख छ, त्यसैले रुकुम पूर्वदेखि पाल्पासम्मको पहाडी क्षेत्रलाई मगरात स्वायत्त क्षेत्र बनाइनुपर्छ’ संघका प्रदेश ५ का अध्यक्ष बिमल थापा मगरले भने ‘सरकारले हामीहरुको माग सम्बोधन नगरे कडा आन्दोलन थाल्छौं ।’

प्रदेश ५ मा सबैको पहिचान खुल्नेगरी नामाकरण गर्नुपर्ने मगर अगुवाहरुको भनाइ छ ।

मगर संघको ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री शंकर पोखरेल ।

२०६८ को जनगणना अनुसार प्रदेश ५ मा मगरको जनसंख्या ७ लाख एक हजार पांच सय ८६ छ । मगर संघले प्रदेश ५ को कूल जनसंख्याको १९ प्रतिशत मगर रहेको दावी गरेको छ ।

हस्ताक्षर बुझ्दै मुख्यमन्त्री पोखरेलले नाम र राजधानीको विषय प्रदेशसभाले सुझाव संकलन गरेके भन्दै अहिले नै केही भन्न नमिल्ने बताए । उनले नामाकरणमा आफूहरुले सबैको पहिचान र मनोभावना बुझेर नै गरिने प्रतिक्रिया दिए ।

पोखरेलले प्रदेश ५ मा थारु र मगर समुदायको बाहुल्यताका बीचमा सरकारले ६ वटा प्रादेशिक बिदामा माघी पर्वलाई पनि समेट्न स्मरण गराएका छन् । आइतबार मगर समुदायको ठूलो संख्या संकलित हस्ताक्षरसहित नाराबाजी गर्दै मुख्यमन्त्री भेट्न पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment