Comments Add Comment

पोखराकै बदनामी : मेयरको डोजर काण्ड, दुर्गन्धित फिर्के योजना

२९ वैशाख, पोखरा । गएको असार १ गते देशभर एउटा समाचार फैलियो । त्यो के थियो भने, ‘पोखराका मेयर मानबहादुर जिसीले डोजर चलाउँदा पत्रकारसहित ५ जना घाइते ।’ फुटट्रयाक (पैदल मार्ग) शिलान्यासका क्रममा अपरेटर बस्ने ठाउँमा बसेर मेयरले डोजर चलाइदिँदा रेलिङ भाँचियो । पत्रकारसहित शिलान्यास कार्यक्रममा सहभागि घाइतेसमेत भएपछि देशभर चर्चाको विषय बन्यो ।

शिलान्यासअघि मेयर जिसीको उद्घोष थियो, ‘अब फुटट्रयाक बन्छ । मापदण्डभित्र बनेका संरचना कानुन बमोजिम हट्छ, प्रदुषण रोकिन्छ र फिर्केमा कलकल पानी बग्छ ।’ फुटट्रयाक निर्माण शिलान्यासमा मेयरको डोजर काण्ड हिट भयो तर फुटट्रयाक निर्माण भने त्यसै अलपत्र बन्न पुग्यो ।

फिर्के खोलामा पैदल मार्ग निर्माण गर्ने अभियानको मेयरले उदघाटन त गरे तर न फुटट्रयाक निर्माण हुन सक्यो न फिर्के खोला नै संरक्षण हुन सकेको छ । पैदलमार्ग, रिटेलिङ र फिर्के संरक्षण गर्ने नाममा केही दिन डोजर लगाएर छोडियो । पैदलमार्ग बनाउने नाममा केही दिन डोजर लगाउँदा निकालिएको माटो अव्यस्थित फालिएको छ । जुन माटो पानीले बगाएर फिर्के हुँदै फेवा तालसम्मै पुगेको छ ।

‘मेयर साब कामको परिणाम दिने गरी योजना बनाएर एक्सनमा जानेभन्दा पनि तत्काल प्रचारमा रमाउनुहुन्छ । फिर्के त्यसैको एउटा उदाहरण हो,’ पोखरा महानगर कार्यपालिका र उनकै पार्टी नेकपाका एक कार्यकर्ताले भने, ‘हचुवाको भरमा शिलान्यास गर्न पुग्दा मेयर आफैं बदनाम भएका छन् ।’

पोखरा-१८ को अँधेरी कुनादेखि, वडा नम्बर ४, ५ हुँदै ड्याम साइडसम्म पैदलमार्ग बनाउने योजना महानगरको थियो । फोहोर र अतिक्रमणको चपेटामा परेको फिर्के खोलाको संरक्षण गर्न र खोलाको तिरैतिर पैदलमार्ग बनाउन महानगरका जनप्रतिनिधि, नागरिक समाज, विभिन्न संघसंस्थाको उपस्थितिमा भव्य रुपमा शिलान्यास गरिएको थियो । तर, अहिले त्यही फिर्केबाट ढल र फोहोर फेवातालमा मिसिइरहेको छ ।

फिर्के खोलाको मापदण्डभित्र उद्योगी, व्यवसायीदेखि संघ, संस्था, सरकारी कार्यालय र राजनीतिक दलका नेताका घर तथा संरचनासमेत बनेका छन् । फिर्के खोलाको मापदण्ड लागू गर्दा र पैदलमार्ग निर्माण गर्न डोजर लगाउँदा अप्ठेरो पर्ने भएकाले मेयर जिसीले योजनालाई अगाडि नबढाएको स्थानीयको आरोप छ ।

देशैभरि चर्चा भएको फिर्के संरक्षणको यो अभियानले महानगर र जनप्रतिनिधिलाई नै गिज्याइरहेको नागरिक समाजका रामबहादुर पौडेल बताउँछन् । ‘डोजर काण्ड देशैभरि हिट भयो, तर काम भने तुहृयो । त्यसका पछाडि विभिन्न कारण छन् । एक त मेयर दीर्घकालीन सोचेर एक्सनमा जाँदैनन्, दोस्रो, उनले रिक्स र दबाव खेप्न सक्दैनन्,’ समाजका अध्यक्ष पौडेलले भने ।

त्यसअघि पैदल मार्ग बनाउने भन्दै महानगरले फिर्केको वारीपारी रेखांकनसमेत गरेको थियो । फिर्केको दायाँबायाँ ५ मिटर राइट अफ वे मानेर रेखांकन गर्दा १ सय ९२ भन्दा बढी संरचना मापदण्ड विपरीत बनेको प्रतिवेदनमा छ । इन्जिनियर महेन्द्र गोदार संयोजकत्वको टोलीले रेखांकन गरेर प्रतिवेदन तयार पारेको थियो ।

फिर्केको मापदण्डअनुसार १० मिटर हुनुपर्ने थियो । तर, ५ मिटरभित्रका संरचनामा मात्र रेखांकन गरेर प्रतिवेदन बुझाइएको थियो । १० मिटरभित्र बनेको संरचनामा रेखांकन गर्ने हो भने झन्डै दोब्बर संरचना पर्ने रेखांकनमा खटिएका प्रविधिककै बनाउँछन् ।

महानगरका इन्जिनियर महेन्द्र गोदारको संयोजकत्वमा गठन भएको समितिले १५ दिन लगाएर रेखांकनपछि प्रतिवेदन बुझाएको थियो । समितिको प्रतिवेदनपछि मेयर जिसीले फिर्के मापदण्डभित्रका संरचना भत्काउने बताएका थिए ।

मेयर जिसीले भनेका थिए, ‘फिर्के खोलाको क्षेत्रफल कति हो, मापदण्ड पालना छ कि छैन, मिचेको हो भने कसले कति मिचेको हो भन्ने पत्ता लगाएर नमिचेकालाई धन्यवादसहित बधाइ र मिचेकालाई बिदाइ गरिन्छ ।’ तर, मेयरको भनाइअनुसार न कसैले धन्यवाद पाए न फिर्के मिच्नेको बिदाइ ।

‘फिर्के मापदण्डभित्रका संरचना भत्काउने गफ त मेयरले दिए । तर, मापदण्डभित्र सबै अवैध रुपमा बनेका संरचनामात्र थिएनन्, लालपूर्जा भएका जग्गा पनि छन् । त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने नहेरी मेयरले हचुवामा भाषण ठोके,’ पोखरा ८ का देवेन्द्र बास्तोलाले भने, ‘अहिले पोखराका मेयर भन्नेबित्तिकै डोजर काण्ड सम्झन्छन् तर फिर्केको हालत झन् खराब बन्यो ।’

फिर्के खोला संरक्षण र पैदल मार्ग निर्माणका लागि १ करोड ६० लाख रुपैयाँ छुट्याइएकोमा ३० लाख रुपैयाँ खर्च गर्ने महानगरले बताएको थियो । यस्तै अभियान ६ वर्षअघि पनि तत्कालीन पोखरा उपमहानगरपालिकाले थालेको थियो । जनप्रतिनिधि आएपछि काम होला भन्ने धेरैको विश्वास थियो । यसपाली फिर्के संरक्षण गर्दै पैदलमार्ग मात्रै होइन, साइकल मार्ग पनि बनाउने महानगरको योजना थियो । तर, हचुवाको भरमा चर्चाका लागि थालिने अभियान कसरी तुहिन्छ र जनप्रतिनिधि कमजोर हुँदा कसरी बदनाममात्र हुन्छन् भन्ने यो एउटा उदाहरण बनेको छ ।

सिद्धार्थ चोक र पर्स्याङ बीचको पुलदेखि बगालेटोल नजिकको पुलसम्म ३ सय मिटरमात्र पैदलमार्ग, रिटेलिङ लगायतका काम गर्न १ करोड ७२ लाख रुपैयाँ बजेट अनुमान गरिएको थियो । जसमा ५ लाख ४५ हजार रुपैयाँ डोजर र सामान्य कामको मात्र खर्च भइसकेको छ भने फिर्केको विषयमा अहिलेसम्म लाखौं रुपैयाँ बालुवाको पानी बनिसकेको महानगरकै एक कर्मचारीले बताए ।

फिर्के अभियान ६ वर्षअघि पनि तत्कालीन पोखरा उपमहागरपालिकाले थालेको थियो । जनप्रतिनिधि आएपछि काम होला भन्ने धेरैको विश्वास स्थानीयमा थियो । यसपाली फिर्के संरक्षण गर्दै पैदलमार्ग मात्रै होइन, साइकल मार्ग पनि बनाउने महानगरको योजना थियो । तर, डोजर काण्ड हल्ला र मेयरको आलोचना सेलाएसँगै यो योजना पनि सेलाएको छ । फिर्केमा अहिले पनि घरदेखि सीधै ट्वाइलेटको पाइप पुर्‍याउने क्रम अझै रोकिएको छैन ।

उपभोक्ता समिति नै झुक्कियो

पोखरा महानगरपालिकाले फिर्केमा पैदलमार्ग खोल्ने बतायो । महानगरकै अगुवाइमा उपभोक्ता समिति गठन भयो र त्यही समितिमार्फत फिर्के पैदलमार्ग खोल्ने कामको शिलान्यास गरिएको थियो ।

उपभोक्ता समितिमार्फत काम गर्दा अनिवार्य रुपमा जनसहभागिताको सुनिश्चित गर्नुपर्छ । तर, महानगरको योजनामा स्थानीयको २० प्रतिशत सहभागिता जुट्ने कुरै भएन । ‘महानगरको योजना हो । फिर्केको फुटट्रयाक खोल्ने योजनालाई स्थानीयले कसरी  जनसहभागिता जुटाउन सकिन्छ ?’ एक स्थानीयले प्रश्न गरे, ‘समुदाय र आफ्नो सुविधासँग नजोडिएको सरकारी कामका लागि कसैले आफ्नै घर भत्किने गरी जनसहभागिता दिन्छ ?’

पैदलमार्ग र रिटेलिङ निर्माणका लागि स्थानीय पुरुषोत्तम पराजुलीको अध्यक्षतामा उपभोक्ता समिति गठन गरिएको थियो । तर, जनसहभागिता जुटाउन नसकेपछि समितिलाई फसाद नै पर्‍यो । रकम भुक्तानीका लागि समितिले आफ्नै पदाधिकारी र सदस्यको श्रम जोडेर सहभागिता जुटाएको कागजपत्र महानगरपालिकामा पठाएको छ । महानगरले डोजर लगाएको र केही रिटेलिङ गरेको ५ लाख ४५ हजार रुपैयाँ भुक्तानी त दियो तर उपभोक्ता समितिले अझै झन्डै एक लाख रुपैयाँ नपाएको बताएको छ ।

‘सुरुमा हामी नै चुकेछौं । उपभोक्ता समितिमार्फत काम गर्न सकिन्छ भनेर जिम्मा लिइयो तर पछि अप्ठेरोमा परियो,’ उपभोक्ता समितिका अध्यक्ष पुरुषोत्तमले भने, ‘महानगरसँग अझै झन्डै १ लाख रुपैयाँ लिनै बाँकी छ ।’ खोलाको ट्रयाक खोल्ने काम उपभोक्ता समितिमार्फत महानगरले कसरी दियो ? भन्ने कुराले पनि शंका उब्जाएको एक स्थानीयको भनाइ छ ।

मेयर हल्लाको पछाडि दौडिए : वडाध्यक्ष

फिर्के खोलाको योजना दीर्घकालीन रुपमा सम्पन्न गर्न सकिने भए पनि मयर जिसी हल्लाको पछाडि दौडिएको वडाध्यक्षहरुकै भनाइ छ । मेयर मानबहादुर जिसीलाई गलत मनसाय भएका व्यक्तिहरुले प्रयोग गरेको जनप्रतिनिधिकै आरोप छ ।

शंकर बास्तोला

वडा नम्बर ४ का अध्यक्ष शंकर बास्तोला भन्छन्, ‘महानगरलाई राम्रो र विकासको बाटोमा लैजान दिल खोलेर सहयोग गरेका छौं तर मेयरसाबलाई गलत मनसाय भएका मान्छेहरुलाई प्रयोग गरेर हुनै दिँदैनन् ।’

वडाध्यक्ष बास्तोलाले एउटा एक्सन समूह बनाएर जानुपर्नेमा मेयर जिसी आफैं अगाडि सर्दा योजना बिफल भएको बताउँछन् । ‘फिर्केको समस्या समाधान गर्न मैले सम्बन्धित सबै वडाका अध्यक्ष बोलाएर बैठक राखेर एउटा निचोडपछि एक्सनमा जाँदै थियौं, तर मेयरसाबले यो त मैले नै गर्न सक्छु भनेर होमिनुभयो,’ वडाध्यक्ष बास्तोलाले भने, ‘पछि योजना नै अगाडि बढेन ।’

हचुवाको भरमा चर्चाका लागि थालिने अभियान कसरी तुहिन्छ र जनप्रतिनिधि कमजोर हुँदा कसरी बदनाममात्र हुन्छन् भन्ने यो गतिलो उदाहरण बनेको स्थानीयको भनाइ छ ।

अब योजना अगाडि बढ्छ : मेयर जिसी

शिलान्यासपछि पनि काम नरोकिएको महानगरका मेयर जिसीको दाबी छ । ‘डोजर चलाएरमात्र कहाँ काम रोकिन्छ र ?’ मेयर जिसीले हाँस्दै भने, ‘अब काम अगाडि बढ्छ ।’ मेयर जिसीले पैदलमार्ग बनाउन अर्को स्टिमेट तयार भएको बताए ।

‘वडाध्यक्षसहित स्थानीयको छलफल भएको छ । अब एक खालको स्टिमेट पनि तयार भएको छ । काम अगाडि बढ्छ,’ मेयर जिसीले भने । उपभोक्ता समितिमार्फत काम गर्दा समस्या भएको भन्दै अब टेन्डर आहवान गरी योजना अगाडि बढाउने एक जनप्रतिनिधिले बताए । उनले भने, ‘२ करोड ७१ लाख रुपैयाँको स्टिमेट गरी महानगरको कार्यालयमा पठाइएको छ । अब २/३ महिनाभित्रै फेरि काम अगाडि बढ्छ ।’

पोखरा महानगरपालिकाका केही यस्ता घोषणा र थालिएका योजना छन्, जुन जहाँ हात हाल्यो, त्यही असफल देखिएका छन् ।

फिर्के मिच्नेमा नेतादेखि कलेज र सुकुम्बासीसम्म

पोखरा-२ मा नेपाल पुनमगर समाजको पुरै घर पोखराको मध्यभागबाट बगेको फिर्केखोलाको मापदण्ड मिचिएर बनेको छ । वडा नम्बर ६ मा रुद्रनाथ गौतमको घर फिर्के खोलाको मापदण्डबिपरीत ठडिएको छ । पोखरा-८ मा पोखरा इन्जिनियरिङ कलेजको आधा भाग फिर्के मिचिएरै बनेको छ ।

वडा नम्बर १७ मा पश्चिमाञ्चल प्रहरी गणको घरसमेत फिर्के खोलाकै दोहन गरे बनेको छ । पोखराको बजार क्षेत्रबाट बगेको फिर्के खोला वर्षौंदेखि यसरी मानवीय चपेटामा पर्दै आएको छ । सशस्त्र प्रहरी कार्यालय प्रदेश ४ भवनबाट सेप्टिक टयांक, चर्पी, भान्छा कोठाबाट फोहोर सीधै फिर्के खोलामा मिसिन्छ ।

फिर्के खोला मिचेर कतिपय संरचना बनिसकेका छन् भने कतिपय बनिरहेका छन् । यी त केही उदाहरणमात्रै हुन्, महानगरकै तथ्यांकअनुसार फिर्केखोलाको ५ मिटर मापदण्डबिपरीत झन्डै २ सय संरचना बनेका छन् ।

वडा नम्बर १८ को अँधेरीकुनादेखि वडा नम्बर १७ र ६ को संगम गौरीघाटमा पुगेर फिर्केखोला फेवातालमा मिसिन्छ । ८ किलोमिटर लम्बाइ रहेको फिर्केको बढीमा १५ मिटरदेखि ५ मिटरसम्मको फरक-फरक चौडाइ छ । मानवीय अतिक्रमणबाट खुम्चिएर फिर्केखोला साँघुरो बनेको छ भने चर्पीदेखि ढलसम्म मिसिएर डम्पिङ साइट जस्तो बनेको छ ।

फिर्केको मापदण्ड मिच्नेमा सामाजिक व्यक्ति, संस्थादेखि सुकुम्बासी, शैक्षिक संस्थासम्म देखिएका छन् । फिर्केको मापदण्ड मिचेर ठूलाठूला आरसिसी संरचनादेखि साना टहरासम्म खडा भएका छन् । फिर्के मिच्नेमा विभिन्न समाजघर, मठमन्दिर र सरकारी कार्यालयसम्म देखिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment