Comments Add Comment

कसरी नापिँदैछ सगरमाथाको उचाइ ? (भिडियोसहित)

२९ वैशाख, काठमाडौं (सगरमाथा आधार शिविरबाट फर्किएर) । मौसमले साथ दियो भने सरकारी टोलीले अबको १५ दिनभित्र विश्वको सर्वोच्च शिखरको आधिकारिक उचाइ नाप्ने यन्त्र सगरमाथाको टुप्पोमा राख्नेछ । कम्तिमा आधा घण्टा सगरमाथा शिखरमा ग्राउण्ड नेभिगेसन स्याटेलाइट सिस्टम (जिएनएसएस) राखेर हिउँ सतह र चट्टानी सतहको उचाइ मापन गरिनेछ ।

जसरी विदेशीले राखिदिएको माउन्ट एभरेस्ट नामको साटो नेपालले आफ्नै मौलिक नाम सगरमाथाका रुपमा विश्वको अग्लो शिखरको गौरव पायो, त्यसरी नै अब सगरमाथाको उचाइ पनि विदेशीले होइन, आफ्नै प्राविधिकहरुबाट नापिँदैछ । अब विश्वले सगरमाथाको उचाइ आधिकारिक रुपमा नेपालले घोषणा गरेपछि थाहा पाउनेछ ।

शनिबार विहान भूमि व्यवस्थामन्त्री पद्मा अर्याल र सचिव गोपी मैनालीसहित सरकारी अधिकारीहरु सगरमाथा आधार शिविरमा पुग्दा सगरमाथा नाप्न जाने टोली शिखर आरोहणको अन्तिम तयारीमा थियो । मन्त्रीको टोली अनुगमन तथा आरोही टोलीलाई प्रमाणपत्र वितरण गर्न आधार शिविर पुगेको थियो ।

उनीहरुका सहयोगी शेर्पाले क्याम्प टुसम्म बन्दोबस्तीका सामान राखेर फर्किसकेका थिए । नापी अधिकृत खिमलाल गौतमको टोली शिखर आरोहणको लागि उपयुक्त मौसम पर्खेर बसेको रहेछ ।

सगरमाथाको उचाइ नाप्न शिखरमा पुग्ने कार्य सामान्य होइन । जीवन जोखिममा राखेर नापी टोली एक महिनादेखि नै आधार शिविरमा छ ।

कसरी बसिएको छ र कसरी सगरमाथाको उचाइ नाप्ने काम भइरहेको छ भनेर सुनाउन उनीहरुकै आग्रहमा मन्त्री र सचिव आधार शिविर पुग्दा नेपाली नापी टोलीको टेण्टबाहिर चन्द्र सूर्य अंकित राष्ट्रिय झण्डा फहराइरहेको थियो । झण्डालाई दाहिने पारेर ५ हजार ३ सय मिटर उचाइको ढुंग्यानमा नापी टोलीलाई शिखर आरोहणको लागि बिदाई कार्यक्रम राखिएको थियो ।

‘हाई अल्टिच्युड’ले स्वास प्रश्वासमा गाह्रो भइरहेपनि मन्त्री करीव २ घण्टा आधार शिविरमा बसेर सगरमाथाको उचाइ नाप्ने प्रक्रिया र नापी टोलीले भोगेका समस्याहरुबारे जानकारी लिइन् । नेपालले पहिलोपटक सगरमाथाको उचाइ मापन गर्न लागेकाले यो अभियान राष्ट्रिय गौरवको विषय भएको भन्दै उनले सही र तथ्यसहित विवरण ल्याउने विश्वास व्यक्त गरिन् ।

प्रधानमन्त्रीले एक महिनाअघि बालुवाटारबाट बिदाई गरेको टोलीलाई उनले शिखर आरोहणका लागि शुभकामना दिएर फर्किइन् । उनले त्यस अवसरमा सरकारी नापी टोलीलाई आरोहणमा सघाउने शेर्पालाई प्रशंसापत्र दिँदै प्रधानमन्त्री केपी ओलीको सन्देश सुनाइन् ।

ओलीको सन्देश थियो, ‘स्वास्थ्यभन्दा ठूलो केही छैन । यदि कुनै टोली सदस्यको स्वास्थ्यमा समस्या भयो भने तत्कालै उद्दार गर्ने ।’

अचेल सगरमाथा आधार शिविरमा उद्दारका लागि धेरै कठिन पनि छैन । केही समस्या हुनासाथ हेलिकोप्टर पुगिहाल्छ । अहिलेसम्म सगरमाथाको उचाइ नाप्ने टोलीका कुनै पनि सदस्यको स्वास्थ्यमा समस्या नदेखिएको टोली नेता गौतमले बताए ।

मौसम अहिलेकै जस्तो रहेमा अबको १५ दिनभित्र सगरमाथा शिखरमा पुगेर अत्याधुनिक स्याटेलाइट प्रणाली फिट गरी हिउँ सतह र चट्टानी सतह दुवैका उचाइ मापन गरिने उनले बताए ।

नापी टोलीमा संलग्न अधिकृत विज्ञान बन्जाराकाअनुसार ग्राउण्ड नेभिगेनस स्याटेलाइट सिस्टमले राडारमार्फत कुन ठाउँमा कति मुनी पत्थर छ भन्ने पत्ता लाउँछ । सगरमाथाको उच्च चुचुरो कहाँ भनेर लुक्लालाई आधार बनाएर ग्राभिटी सर्वे पनि भइरहेको छ । यो चाहिँ पुरानो मापन प्रणाली हो । शिखर आरोहण गर्ने, आधार शिविरमा बस्ने र अन्यत्र विन्दुबाट मापन गर्ने फरक टोली परिचालित छन् ।

पाँच पटक अरु, पहिलोपटक नेपाल आफैं

नेपालले पहिलो पटक सगरमाथाको उचाइ मापन गर्न लागेको हो । अहिलेसम्म सगरमाथाको उचाइ पाँचपटक मापन भए पनि सबै सर्वे नेपालले गरेको होइन ।

सगरमाथाको सबैभन्दा पहिलोपटक उचाइ भारतले मापन गर्दा सन् १९५० मा ८ हजार ८४० निकालेको थियो । त्यसको लगत्तै ३ वर्षपछि पहिलोपटक सगरमाथामा मानव पाइला पुगेका थिए ।

दोस्रोपटक भारतले नै सन् १९५४ मा मापन गर्दा ८ हजार ८ सय ४८ दशमलव १३ मिटर निकालेको थियो । सन् १९७५ मा चीन र इटलीले संयुक्त रुपमा गरेको मापनमा पनि सोही उचाइ कायम भएको थियो भने सन् १९९९ मा अमेरिकाले गरेको मापनमा सगरमाथाको उचाइ ८ हजार ८५० मिटर देखिएको थियो । सन् २००५ मा चीनले पुनः मापन गर्दा ८ हजार ८४४ मिटर निकालिएको थियो ।

विभिन्न देशका फरक-फरक दाबी आउन थालेपछि नेपालले पहिलो पटक अन्तर्राष्ट्रियस्तरको सम्मेलन गरी त्यहाँ प्राप्त सुझावका आधारमा आधिकारिक रुपमा सगरमाथाको उचाइ मापन गर्न लागेको नापी विभागका प्रवक्ता दामोदर ढकालले बताए । यो टोलीमा नेशनल ज्योग्राफिक च्यानलका प्रतिनिधि बाहेक कुनै पनि विदेशी प्राविधिकहरु छैनन् ।

माडरदेखि शिखरसम्म यसरी नापिन्छ

सगरमाथाको उचाइ नाप्नका लागि सिरहा जिल्लाको माडरदेखि सगरमाथाको आधार शिविरसम्म विभिन्न प्रविधिहरु राखिएका छन् । जुन प्रविधि अन्तिममा सगरमाथाको टुप्पोमा समेत राखिनेछ । नापी विभागले बिभिन्न ठाउँमा फरक-फरक टोली राखेर विभिन्न प्रविधिबाट मापन गरिरहेको छ ।

अहिले सोलुखुम्बुको छोल्यामु डाँडो, पिके शव हिल स्टेशन, पात्तले डाँडाबाट पि्रसाइज लेबलिङको काम भइरहेको छ । सिरहाको माडरबाट समुद्र सतहको उचाइ लिएर शुरु भएको यो मापन सगरमाथाको टुप्पोमा पुगेपछि आधिकारिकता आउनेछ ।

प्राविधिकहरूले नेपाल-भारत सीमा नजिकैको माडरदेखि सगरमाथा वरपरका विभिन्न बिन्दुमा पुगेर भू-उपग्रहको सहायताले जमिनको अवस्थिति पत्ता लगाउने जीपीएस र गुरुत्वाकर्षण मापन गर्ने ग्राभिमिटर लगायतका उपकरणहरूको प्रयोग गरी मापन तथ्यांक संकलन गरेका छन् । सबै तथ्यांक संकलन भइसकेपछि सगरमाथाको उचाइ निकालिनेछ ।

सगरमाथा उचाइ मापनको धेरैजसो काम लगभग सकिएको छ । नापी विभागले खटाएका फरक-फरक टोलीले गुरुत्व सर्भेका साथै गणितीय तथा समतलन सर्भे गरिरहेका छन् । सिरहाको माडरदेखि उदयपुरको कटारी, घुर्मी हुँदै ओखलढुंगा र सोलुखुम्बुको पात्तलेसम्म गुरुत्व सर्वे गरिएको छ । यो करिब १७० किलोमिटरको बीचमा ठाउँ-ठाउँमा मापन यन्त्र राखिएका छन् ।

यसका साथै सगरमाथा देखिने १२ वटा कम उचाइका समथर ठाउँबाट त्रिकोणमितीय समतलन नापी गरिएको विभागका प्रवक्ता ढकालले बताए । त्यसका साथै परिसुद्ध समतलन नापी (प्रिसाइज लेबलिङ) को काम तीनै १२ वटा बिन्दुबाट भइरहेका छन् । भौगोलिक जटिलताका कारण सबै ठाउँमा जान नसकिए पनि जिएनएसएसबाट सगरमाथा क्षेत्रका २५० वटा ठाउँमा मापन गरिएको छ ।

नापीको आरोहण टोलीलाई शिखरमा पुर्‍याउने जिम्मा पिक प्रमोसन नामको आरोहण कम्पनीले लिएको छ । शेर्पा आरोहीको साथ र सहयोगमा नापीका प्राविधिक टुप्पैसम्म पुग्ने नापी विभागका महानिर्देशक प्रकाश जोशीले बताए । नापी टोलीले जीपीएस र अन्य उपकरणसहित सगरमाथाको टाकुरामा पुगेर तथ्यांकहरू ल्याइएपछि सगरमाथा उचाइ मापनको सबैभन्दा ऐतिहासिक काम सम्पन्न हुने उनले बताए ।

नेपालको टोलीले सगरमाथाको आधिकारिक उचाइ मापन गरेपछि भारत र चीन लगायतका अन्तर्राष्ट्रिय नापी विज्ञहरूसँग छलफल गर्दै नापीको परिणाम सार्वजनिक गरिनेछ । जसले गर्दा सगरमाथाको नयाँ उचाइलाई विश्वले आधिकारिकता दिने विश्वास भूमिसुधारमन्त्री अर्यालले व्यक्त गरेकी छन् ।

हिमालय क्षेत्र मुनितिर रहेको भूगर्भमा भारतीय र युरेसियाली प्लेटको हलचल जारी रहेको र टिबेटियन प्लेटहरु भूकम्पबाट खलबलिने गरेका कारण हिमालयको उचाइ बढिरहने कतिपय भूगर्भविदहरुले बताउने गरेका छन् । तर आधिकारिक रुपमा मापन नगरी अरुले भनेका आधारमा उचाइ कायम गर्न नसकिने भएकाले सरकारले आफ्नो टोली पहिलोपटक पठाएको हो ।

यसबीचमा सगरमाथाको उचाइका फरक-फरक तथ्यहरु आएपनि नेपालले स्वीकार गरेन । चीनको पछिल्लो सर्वेपछि विवाद पनि भयो । करिब ९ वर्षअघि सगरमाथाको उचाइ पुनः ८ हजार ८४८ नै हो भन्ने सहमति जुटेको थियो । के सगरमाथाको उचाइ बढेको होला ? वा घट्यो ? यसको आधिकारिक जवाफका लागि भने केही समय पर्खिनुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment