+
+
Shares

फिल्मको पात्र पछ्याउँदै सगरमाथा जितेकी कविता (भिडियो)

व्यवसायिक पर्वतारोहणको अनुभव नभएकी कविताले पहिलो प्रयासमै ८ हजार मिटरभन्दा अग्ला दुई हिमाल चढिन्, त्यो पनि २४ घण्टाको अन्तरालमा । उनका लागि हिमाल चढाइमात्र होइन । आफ्नो सीमाको परीक्षण पनि थियो ।

प्रतिक्षा रिजाल प्रतिक्षा रिजाल
२०८२ जेठ २७ गते १४:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कविता नेपालीले चलचित्र ‘एक्लो’ मा ‘एरियल’को भूमिका निभाउँदै हिमाल चढ्न पुगेकी छन्।
  • उनीले ‘बुगी वुगी’ र पर्वतारोहणमार्फत चर्चामा आएकी हुन् । हालै उनले सगरमाथामा पनि सफलता हासिल गरिन्।
  • उनले हिमाल चढ्ने अनुभवले जीवन र आत्म-खोजमा नयाँ दृष्टिकोण प्राप्त गरेकी छन्।

काठमाडौं । पात्रको खोजीमा निस्किएका कलाकार कहिलेकाहिँ आफैँ पात्र बन्न पुग्छन् । डान्सर तथा मोडल कविता नेपालीको अहिलेको जीवन पनि यहीँकतै फन्को मारिरहेको छ ।

डेब्यु फिल्म ‘एक्लो’ छायांकनको क्रममा उनी यति गहिरोसँग पात्रभित्र डुबुल्की मारिन् कि उनी उनी यतिबेला स्वयम पात्र बनिरहेकी छन् । यो फिल्ममा आफूले निर्वाह गरेको पात्र ‘एरियल’जस्तै उनले पनि जीवनमै सगरमाथा चढिन् ।

‘सुरुमा म अभिनय गर्न गएकी थिएँ, तर त्यो पात्रकै प्रभावले म हिमाल चढ्न पुगेँ,’ अनलाइनखबरसँगको कुराकानीमा उनले भनिन् ।

भारतीय डान्स रियालिटी शो ‘बुगी वुगी’मार्फत दर्शकमाझ चिनिएकी कविता नेपाली अहिले अभिनय र पर्वतारोहणमार्फत फेरि चर्चामा आएकी छन् । अभिनय यात्रामा पाइला चाल्दै गर्दा उनले शारीरिक र मानसिक रूपमा चुनौतीपूर्ण मानिने पर्वतारोहण पनि अँगालेकी छन् ।

व्यवसायिक पर्वतारोहणको अनुभव नभएकी कविताले पहिलो प्रयासमै ८ हजार मिटरभन्दा अग्ला दुई हिमाल चढिन्, त्यो पनि २४ घण्टाको अन्तरालमा । सगरमाथा चढेको भोलिपल्ट ल्होत्सेको चुचुरो चुम्न धेरैका लागि प्रेरणादायी कुरा हो ।

फिल्मको सेटबाट सुरु थियो हिमाल यात्रा

कविताको अभिनय यात्रा सशक्त छवि बनाउने दृढताबाट सुरु भएको हो । विगतमा उनले केही म्युजिक भिडियो र विज्ञापनमा काम गरे पनि, पहिलो फिल्मको रूपमा उनले ‘एक्लो’ रोजिन् । एक यस्तो प्रोजेक्ट जसले उनलाई शारिरिक र भावनात्मक दुवै हिसाबले बलियो बनाइदियो । यो फिल्ममा उनले ‘एरियल’ नामकी वैज्ञानिकको भूमिका निर्वाह गरेकी छन्, जसले अन्तरिक्ष दुर्घटनापछि एक रहस्यमय गुफा शहरसम्मको यात्राको कथा बोकेको छ ।

कविताका अनुसार, ‘एक्लो’ डेब्यु फिल्म मात्र होइन, त्यो उनको आत्म-खोजको सुरुवात पनि बन्यो । फिल्ममा उनले सबै स्टन्ट आफैँ गरेकी छिन् । हिमालमै बसेर अभिनय गरेकी छिन् । ‘एरियल बन्नु र त्यसको मनोविज्ञान बुझ्नु मेरा लागि एउटा चुनौती थियो । त्यही पात्रको कारणले म हिमाल चढ्न पुगेँ’ उनले भनिन् ।

हिमाल चढ्ने सपना : पात्रभन्दा बाहिरको यात्रा

शारिरिक र मानसिक चुनौतीको बीच उनले नयाँ सपना देखिन्- सगरमाथा चढ्ने । अभिनयको लागि मात्र होइन, आफैँलाई परीक्षण गर्न र अनुभव गर्न यो निर्णय लिइन् ।

त्यसपछि उनले सगरमाथाको सफल आरोहण गरिन् । केही घण्टामै उनले ल्होत्से हिमाल पनि चढिन् । ‘अत्यन्तै चुनौतीपूर्ण र जोखिमपूर्ण कार्य । त्यहाँ एक क्षण यस्तो आयो, जब साँच्चै लाग्यो म सक्दिन,’ उनी भन्छिन्, ‘सास लिनै गाह्रो, शरिर सुन्निएको, आँखै अन्धकार जस्तो तर त्यही बेला म भित्रैबाट म सक्छु भन्ने आवाज आयो’ उनले भनिन् ।

उनका लागि हिमाल चढाइमात्र होइन । आफ्नो सीमाको परीक्षण पनि थियो । त्यो समयमा उनले आफ्नो सबैभन्दा ठूलो डरसँग सामना गरिन्, असफलताको, थकानको र जीवनकै अन्त्यको । तर उनले त्यो डर पार गरिन्, अनि प्रमाणित गरिन्, शक्तिको अर्थ केवल शारीरिक होइन, मानसिक दृढता हो ।

तस्वीर र भिडियो : शंकर गिरी
सम्पादन : अविकृत मुखिया

हिमाल चढ्नुअघि र पछिको रूपान्तरण

कविता भन्छिन्, ‘हिमाल चढ्नु अगाडि म फिल्मका लागि तयारी गरिरहेकी एक कलाकार थिएँ, अहिले म आफूभित्र गहिरो परिवर्तन अनुभव गर्छु ।’ आफ्नो उद्देश्य र अर्थको खोजीमा आफू अनिश्चित रहेको उनको भनाइ छ ।

भन्छिन्, ‘अब मलाई थाहा छ, म के गर्न सक्छु ।’ हिमालले उनलाई जीवन बुझाउने नयाँ दृष्टिकोण दियो । आफूभित्रको साहस, सहनशीलता र सन्तुलन खोज्न उनले प्रकृतिलाई अँगालेकी थिइन् । उनले आफैँलाई बुझ्न सिकिन्, अनि त्यो बुझाइले अब उनी जुनसुकै भूमिकामा पनि अझ आत्मविश्वासका साथ जान सक्छिन् भन्ने लाग्यो ।

एक्लो : आत्मखोजको कथा

कविताले फिल्ममा निर्वाह गरेको चरित्र ‘एरियल’लाई केवल अभिनयकै रुपमा मात्र हेर्दिनन् । ‘म पात्र बनेर हिमाल गएको थिएँ, म कविता होइन । एरियल थिएँ,’ उनी भन्छिन् ।

त्यो पात्रको गहिरो मनोविज्ञान, एक्लोपन, अनिश्चितता र खोज, यी सबै कुराले उनलाई जीवनमै केही सिकायो । उनले फिल्मभित्रको कथा मात्र होइन, त्यो यात्राको आत्मिक अनुभूति पनि आत्मसात् गरिन् ।

फिल्ममा उनले स्टन्टहरू आफैँ गरेकी छिन्, हिमालमै छायांकनको क्रममा दिनरात बिताएकी छिन् र यो अनुभव उनले अभिनयमा शतप्रतिशत समर्पण गरेकी छन् भन्ने प्रमाण हो ।

कविता अहिले अभिनयलाई निरन्तरता दिने सोचमा छिन् । उनलाई नयाँ फिल्मको अफर आइरहेका छन् । उनलाई पहिले पनि केही फिल्मको अपर आए । तर, उनी खास प्रोजेक्टबाट डेब्यु गर्न चााहन्थिन् ।

‘मैले सोचेकै थिएँ पहिलो काम नै गहिरो सन्देश दिने र सशक्त पात्र भएको होस्,’ उनी भन्छिन् । अब फिल्म एक्लोपछि ‘एक्लो २’ पनि बन्ने हुनाले सुरुमा त्यसैमा निरन्तरता दिने उनले बताइन ।

एउटा फिल्मको पात्रबाट प्रेरित भएर सगरमाथा चढ्नु सामान्य कुरा होइन । यो निर्णय, त्यो तयारी, त्यो डर, त्यो दृढता सबैले कवितालाई कलाकार बनाएको छैन, उनी एक प्रेरणादायी व्यक्तित्व बनेकी छन् ।

लेखक
प्रतिक्षा रिजाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?