News Summary
Generated by OK AI. Editorially reviewed.- चलचित्र विकास बोर्डले चलचित्रकर्मी दक्षता अभिवृद्धि वर्ष २०८२ को अवसरमा एकहप्ते घोडचढी तालिम सुरु गरेको छ।
- तालिममा विजय बराल, नाजिर हुसेन, कविता नेपाली लगायतका कलाकार सहभागी छन्।
- तालिम भक्तपुरको ह्वाइट हाउस एग्रो भिल्लामा सुरेश ठकुरीको समूहले सञ्चालन गरिरहेको छ।
काठमाडौं । चलचित्र विकास बोर्डले ‘चलचित्रकर्मी दक्षता अभिवृद्धि वर्ष २०८२’ को अवसरमा नेपाली फिल्म क्षेत्रका अभिनय कलाकारको सीप विकास गर्ने उद्देश्यसहित एकहप्ते घोडचढी तालिम थालेको छ ।
ऐतिहासिक, पौराणिक, एक्सन तथा साहसिक फिल्मको निर्माणमा घोडाचढीलाई अत्यावश्यक सीपका रूपमा लिइँदै आएको वर्तमान सन्दर्भमा कलाकार तथा स्टन्ट आर्टिस्टलाई सुरक्षित, अनुशासित तथा व्यावसायिक बनाउने लक्ष्यसहित तालिम सञ्चालन गरिएको हो ।
कार्यक्रममा अहिलेका चर्चित अभिनय कलाकार विजय बराल, नाजिर हुसेन, कविता नेपाली, विशाल पहाडी, एवन उप्रेती, दिनेश खड्का, सरिता भारती, अरुण बहादुर स्याङ्तान, श्रीदेव भट्टराई, गोपाल ढकाल लगायत सहभागी छन् ।

भक्तपुरको निकोसेरास्थित ह्वाइट हाउस एग्रो भिल्लामा चलिरहेको तालिममा प्रशिक्षक सुरेश ठकुरी र उनको समूहले प्रशिक्षण दिइरहेका छन् । तालिममा सहभागीलाई घोडासँगको तालमेल, व्यावहारिक अभ्यास, सुरक्षा मापदण्डसहित आवश्यक आधारभूत सीपसम्बन्धी प्रशिक्षण प्रदान गरिँदै आएको छ ।
बोर्डले यस्ता किसिमका सीपमूलक तालिम कार्यक्रममार्फत नेपाली फिल्मको उत्पादन गुणस्तर अभिवृद्धि हुनुका साथै कलाकार तथा प्राविधिकको सुरक्षा, व्यावसायिकता र आत्मनिर्भरता वृद्धि हुने विश्वास व्यक्त गरेको छ ।
बोर्डले अर्को हप्ता पर्दा अगाडिका कलाकारलाई पौडी तालिम पनि सञ्चालनमा ल्याउने तयारी गरेको छ ।

प्रतिक्रिया 4