+
+
Shares

‘जिरो टु ८८४८’ डकुमेन्ट्रीको ट्रेलर : नेपालको नयाँ पदमार्ग चिनाउने पहल

अनलाइनखबर अनलाइनखबर
२०८२ असार ९ गते २०:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपालको सबैभन्दा होचो ठाउँ कचनकवलदेखि सगरमाथासम्मको पदमार्ग प्रवर्धन गर्ने उद्देश्यले ‘जिरो टु ८८४८’ नामक डकुमेन्ट्री सार्वजनिक गरियो।
  • डकुमेन्ट्रीले नयाँ पदमार्ग, तापक्रम वृद्धिबारे सचेतना र भौगोलिक पर्यटन प्रवर्धन गर्ने उद्देश्य राख्छ, जुन अगस्टमा अमेरिकी हलबाट रिलिज हुनेछ।
  • यस डकुमेन्ट्रीमा १८ पटक सगरमाथा चढेका टेन्डी शेर्पा र विश्व साइकलयात्री पुष्कर शाह जस्ता व्यक्तिहरू जोडिएका छन्।

काठमाडौं । नेपालको सबैभन्दा होचो ठाउँ झापाको कचनकवलदेखि सर्वोच्च शिखर सगरमाथासम्मको पदमार्ग प्रवर्धन गर्ने उद्देश्यले निर्माण गरिएको डकुमेन्ट्री ‘जिरो टु ८८४८’ सार्वजनिक गरिएको छ ।

सोमबार नयाँ बानेश्वरस्थित वान सिनेमाज हलमा आयोजित कार्यक्रममा निर्माताले ट्रेलर सार्वजनिक गरे । समुन्द्री सतहबाट ५८ मिटर उचाइमा रहेको कचनकवलदेखि ८८४८ मिटर उचाईको सगरमाथा चुचुरोसम्म ९० दिन लगाएर तयार पारिएको यो डकुमेन्ट्रीले नयाँ पदमार्गबारे संसारलाई जानकारी दिने सो अवसरमा बताइयो ।

‘जिरो टु ८८४८’ नाम तय गरिएको ५१० किलोमिटर लामो उक्त रुटले नयाँ पदमार्गबारे चिनाउने, विश्वब्यापी तापक्रम वृद्धिबारे सचेतना दिने र भौगोलिक पर्यटनको प्रवर्धन गर्ने अभियानका अगुवा तथा संचारकर्मी प्रेम बानियाँले बताए ।

‘एउटै पदमार्गमा हामीले तराई, पहाड र हिमालको जीवन्त संस्कृति भेट्नेछौं । यो मार्ग अध्ययनको विषय पनि हुनेछ’ डकुमेन्ट्रीबारे बानियाँले भने, ‘यो वृत्तचित्र फिल्मभन्दा धेरै भावना र दर्शन हो ।’ लामो समयदेखि अमेरिकामा बस्दै आएका बानियाँ यो डकुमेन्ट्रीको लागि अहिले काठमाडौंमा छन् ।

नीराजन पाण्डे र बलराम पाण्डे निर्देशित यो डकुमेन्ट्री अगस्टमा अमेरिकी हलबाट रिलिज हुनेछ । हल रिलिजको एकसातापछि कुनै एक ओटीटी प्लाटफर्ममा रिलिज गर्ने जानकारी बानियाँले दिए । नेपालमा सन् २०२६ को जनवरीमा प्रदर्शन तयारी छ ।

यो डकुमेन्ट्रीमा १८ पटक सगरमाथा चढेका टेन्डी शेर्पादेखि विश्व साइकलयात्री पुष्कर शाहसम्म जोडिएका छन् । मुन्धुम ट्रेलको क्रममा बानियाँलाई भेटेपछि आफू डकुमेन्ट्रीसँग जोडिएको शाहले बताए । ‘नेपालबारे धेरैले गहिराइमा बुझ्न सकेका छैनन् । यो डकुमेन्ट्रीले देशबारे धेरै बताउँछ’ टेन्डीले भने ।

यो डकुमेन्ट्रीमा चर्चित हलिउड फिल्ममेकर तथा पर्वतारोही कोनराड एन्कर पनि जोडिएका छन् । उनी फिल्ममा प्रशिक्षकको रोलमा छन् ।

यो पदमार्ग स्थापनाका लागि संसारका विभिन्न देशहरुको अनुभव र ब्यबहारिक पक्षबारे लामो समय अध्ययन र अनुसन्धानमा बिताएको बानियाँले बताए । जसअनुसार यो रुट झापा जिल्लाको कचनकवलदेखि सुरु भएर इलामको कन्याम, श्रीअन्तुहुँदै धनकुटाको नाम्जे र हिले बजार पुग्छ । त्यसपछि भोजपुरमा मुन्धुम ट्रेललाई छोएर खोटाङको हलेसीहुँदै ओखलढुंगा जिल्लाको सदरमुकाम ओखलढुंगा पुग्छ ।

लगत्तै सोलुखुम्बुको पातले, सल्लेरी, बुप्सा, थामडाँडाहुँदै सुर्के त्यसपछि फाक्दिङ हुँदै मञ्जो, नाम्चे बजार, खुम्जुङ, त्याङ्बोचे, दिङ्बोचे, लोबुचे, गोरखक्षेपपछि कालापत्थर र बेसक्याम्प । त्यसपछि क्याम्प १, क्याम्प २, क्याम्प ३, क्याम्प ४ (साउथकोल), हिलारी स्टेप र समिट ८८४८ सम्पन्न गर्नेछ ।

बृतचित्रको सम्पादन, छायांकन तथा निर्देशन निरन्जन पाण्डे र बलराम बुढाथोकीले गरेका हुन् । उमंग शाही यसको सहायक छायाकार हुन् । श्री वाग्ले कार्यकारी निर्माता हुन् । प्रोडक्सन टिममा कपिलशरण वाग्ले, राजेन्द्र पाण्डे, लक्ष्मण पराजुली र जयनारायण शाह छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?