
News Summary
Generated by OK AI. Editorially reviewed.- हामीले \'क्याम्प फोर\'मा मौसमको खराबीका कारण सगरमाथा आरोहण स्थगित गर्यौं।
- सगरमाथाको टाकुरामा पुगेर २० मिनेट बस्यौं र सुरक्षित रुपमा फर्किए।
गएको बिहीबार ७ गते हामी ‘क्याम्प फोर’मा थियौं । त्यहाँबाट सगरमाथा उक्लने तयारीका साथ हामी त्यहाँ पुगेका थियौं । तर, मौसम अनुकूल भएन । अवस्था कति खराब थियो भने, टेन्टबाट बाहिर निस्कनै नसकिने ।
जबकि हामीसँग सगरमाथा उक्लनका लागि धेरै समय बाँकी थिएन । एक त अक्सिजन लगायत सामाग्री हामीसँग अभाव भइसकेको थियो । अर्को, हाम्रो डेटलाइन पनि गुज्रिन लागेको थियो ।
यदि मौसमले साथ दिएन र हाम्रो बसाइ लम्बियो भने हाम्रो ‘एक्सपिडिसन’ नै रद्द हुन सक्थ्यो । यदि त्यसो भयो भने मेरो सपनामाथि धक्का लाग्ने थियो । किनभने सगरमाथा चढ्ने सपना र दृढता थियो मसँग ।
सन् २०१६ मा पनि मैले सगरमाथा चढ्नका लागि प्रयास गरेको थिएँ । तर, त्यसबेला मलाई आरोही समूहमा राखिएन । म्याराथुनतर्फ राखियो । त्यसबेला एभरेष्ट म्याराथुन हुँदै थियो । खासमा म भारतीय आर्मीमा कार्यरत छु । भारतको ‘नेशनल इन्स्टिच्युट अफ माउन्टेनरिङ’मा प्रशिक्षण दिने गर्छु । त्यहाँ हिमाल आरोहणलगायतको तालिम दिइन्छ । सोही इन्स्टिच्युट अन्तर्गत चार वटा स्कुलको हामी सात जना प्रशिक्षक आरोहणमा सहभागी भयौँ ।
गत १८ अप्रिलमा हामीले लोबुचे हिमाल आरोहण गरेका थियौँ । ६ हजार ११९ मिटर अग्लो यो हिमाल चढेपछि सगरमाथाका लागि हामीले आरोहणको तयारी थाल्यौँ ।
हिमालमा पुगेपछि त्यहाँको हावापानीसँग भिज्नुपर्छ । कम अक्सिजन र अत्याधिक चिसो हुने त्यो ठाउँमा शरीरलाई अनुकुल बनाएपछि बल्ल सगरमाथा चढ्ने गरिन्छ । यसका लागि पनि विभिन्न चरण हुन्छन् । आधार शिविरमा केही समय बस्ने । त्यहाँबाट क्याम्प वान जाने । फेरि फर्केर आधारशिविर बस्ने ।
‘क्याम्प वान’बाट ‘क्याम्प टु’ जाने । फर्केर फेरी क्याम्प वानमा बस्ने । अर्को पटक ‘क्याम्प थ्री’मा पुग्ने । फेरि फर्केर क्याम्प टुमा बस्ने ।
यसरी आफ्नो शरीरलाई बानी पारेपछि बल्ल क्याम्प फोरमा उक्लिने गरिन्छ । क्याम्प फोरबाट सगरमाथाको टाकुरा ।
प्राय उचाइमा पुगेपछि हाम्रो शरीरमा धेरै समस्या आउन थाल्छ । खाना नै रुच्दैन । निद्रा लाग्दैन । खानेकुराको गन्ध आउनसाथ वान्ता हुन खोज्छ ।
एक त अनिद्रा, अर्को खाना नरुच्ने । यसले गर्दा शरीरमा उर्जा नै नहुने । जतिबेला शरीरलाई बढी भन्दा बढी उर्जा चाहिन्छ, त्यहीबेला शरीरमा अनेक समस्या आइलाग्छ । लगातारको हिँडाइ, अनिद्रा, अरुचिले शरीर शक्तिहीन भए पनि सगरमाथा चढ्नैपर्ने थियो ।
त्यसैले हामी क्याम्प फोरबाट उक्लिने निधोमा पुग्यौं ।
मौसम अनुकुल थिएन । त्यसैले अरु आरोहीहरू त्यसदिन नचढ्ने भए । हाम्रो टोली र शेर्पाहरू मात्र त्यसदिन सगरमाथातर्फ लाग्यौं । यसबेला साँझको साढे पाँच बजेको थियो। अघिल्लो दिनसम्म मौसम निकै प्रतिकूल थियो । त्यसैले बाटोमा जे पनि हुनसक्ने भए बाँकी नै थियो । त्यसमाथि ठाउँ-ठाउँमा लासहरू भेटिन्थे । त्यस्ता लासहरू देख्दा चाहिँ मन खिन्न हुने, कताकता डर लाग्ने । यद्यपि ‘डर के आगे जित है’ भन्ने सोचेर हामी सगरमाथातर्फ लम्किरह्यौं ।
भोलिपल्ट बिहानको ४.४५ बजे हामीले सगमाथाको टाकुरामा टेक्यौं ।
मेरा लागि जीवनको यो एउटा नयाँ अध्याय थियो । सगरमाथा चढ्ने सानैदेखिको रहर पूरा भएको क्षण थियो त्यो । हामी त्यहाँ २० मिनेट जति बस्यौं ।
हिमाल चढ्न जति कठिन छ, ओर्लन अझ कठिन हुन्छ । किनभने टुप्पोमा पुगिसक्दा सबै उर्जा खर्च भइसकेको हुन्छ । त्यहाँबाट फर्कदा शरीर कमजोर भइसकेको हुन्छ । त्यसैले हिमाल चढ्ने क्रममा भन्दा पनि ओर्लने क्रममा मृत्यु हुने जोखिम हुन्छ ।
यद्यपि हामी जसोतसो सुरक्षित रुपमै ओर्लियौं । अनि जीवनको एउटा महत्वपूर्ण अनुभव संगाल्न पाएकोमा खुसी साट्यौं ।
सगरमाथा बेसक्याम्पबाट
प्रतिक्रिया 4