+
+
Shares

अल्छी किन लाग्छ, कसरी हटाउने ?

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १२ गते १५:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शरीरमा ऊर्जा, पोषण, र हार्मोनको असन्तुलनले अल्छीपन निम्त्याउँछ भन्ने वैज्ञानिक तथ्यहरू उल्लिखित छन्।
  • मनोवैज्ञानिक कारणहरूमा तनाव, चिन्ता, र डिप्रेसनले प्रेरणा र ऊर्जामा कमी ल्याउँछन्।
  • सामाजिक र वातावरणीय प्रभाव जस्तै मौसम, कार्यस्थलको वातावरण, र जीवनशैलीले पनि अल्छीपन बढाउँछन्।

के काम गर्न जाँगर चल्दैन ? हिँड्न, डुल्न मन लाग्दैन ? शरीर शिथिल भएजस्तो हुन्छ ? सामान्यता हामीलाई यस्तो भइरहेकै हुन्छ । शरीरमा फूर्ति नभएको जस्तो वा ताजा नभएको जस्तो हुन्छ । किन ?

यसमा एउटा मात्र कारण छैन । अल्छी लाग्नुका कारणहरू बहुआयामिक हुन्छन् जसमा जैविक, मनोवैज्ञानिक, सामाजिक र वातावरणीय कारकहरू समावेश हुन्छन् ।

अल्छी लाग्नुका जैविक कारणहरू

ऊर्जाको स्तरमा कमी

शारीरिक स्वास्थ्यले मानसिक र भावनात्मक अवस्थालाई प्रत्यक्ष प्रभाव पार्छ। यदि शरीरमा ऊर्जा स्तर कम छ भने, अल्छी लाग्नु स्वाभाविक हो। उदाहरणका लागि, निद्राको कमीले अल्छी लाग्ने हुन्छ । पर्याप्त निद्रा नपाउँदा मस्तिष्क र शरीरले आवश्यक विश्राम प्राप्त गर्दैन, जसले थकान र अल्छीपन निम्त्याउँछ ।

अनुसन्धानअनुसार, वयस्क व्यक्तिलाई २४ घण्टामा सामान्यतया ७–९ घण्टा निद्रा आवश्यक हुन्छ । निद्राको कमीले डोपामिन र सेरोटोनिन जस्ता न्यूरोट्रान्समिटरहरूको सन्तुलन बिग्रन्छ, जसले प्रेरणाको कमी गराउँछ ।

पोषणको कमी

शरीरलाई आवश्यक पोषक तत्त्वहरू (जस्तै भिटामिन बी१२, आइरन वा प्रोटिन) को कमीले ऊर्जा स्तर घटाउँछ। उदाहरणका लागि, आइरनको कमीले रक्तअल्पता निम्त्याउँछ, जसले थकान र अल्छीपन बढाउँछ ।

शारीरिक निष्क्रियता

नियमित व्यायाम नगर्ने व्यक्तिहरूमा रक्तसञ्चार र अक्सिजन आपूर्ति कम हुन्छ, जसले मांसपेशी र मस्तिष्कलाई कमजोर बनाउँछ। यसले पनि अल्छीपनको अनुभव गराउँछ ।

हार्मोनल असन्तुलन

हार्मोनहरूले हाम्रो मनोदशा र प्रेरणालाई नियन्त्रण गर्छन्। थाइराइड हार्मोनको कमी (हाइपोथाइरायडिज्म) वा कोर्टिसोल (तनाव हार्मोन) को असन्तुलनले पनि अल्छीपन निम्त्याउँछ। उदाहरणका लागि, थाइराइड ग्रन्थीको कम सक्रियताले मेटाबोलिजम सुस्त बनाउँछ, जसले थकान र निष्क्रियता बढाउँछ।

मनोवैज्ञानिक कारणहरू

तनाव र चिन्ता

आधुनिक जीवनशैलीमा तनाव र चिन्ता अल्छीपनका प्रमुख कारणहरू हुन् । जब हामी लामो समयसम्म तनावमा हुन्छौं, मस्तिष्कको प्रीफ्रन्टल कोर्टेक्स (जुन निर्णय लिने र प्रेरणासँग सम्बन्धित हुन्छ) कमजोर हुन्छ ।

तनावले कोर्टिसोलको स्तर बढाउँछ, जसले प्रेरणा र ऊर्जालाई घटाउँछ । उदाहरणका लागि, कामको दबाब, आर्थिक चिन्ता वा पारिवारिक समस्याले व्यक्तिलाई मानसिक रूपमा थकित बनाउँछ, जसले अल्छीपनको अनुभव गराउँछ ।

डिप्रेसन

डिप्रेसन अल्छीपनको एक प्रमुख कारण हो । डिप्रेसन मस्तिष्कमा डोपामिन र सेरोटोनिन जस्ता रसायनहरूको कमी गराउँछ, जसले व्यक्तिलाई कुनै पनि काममा रुचि नहुने बनाउँछ । अवसादग्रस्त व्यक्तिहरूले प्रायः सानातिना कामहरूमा पनि प्रेरणा पाउन गाह्रो हुन्छ । जस्तो:- बिहान ओछ्यानबाट उठ्न वा दैनिक कामहरू गर्न पनि मन नलाग्नु डिप्रेसनको लक्षण हुनसक्छ।

प्रेरणाको कमी

प्रेरणाको कमीले पनि अल्छीपन निम्त्याउँछ । यदि व्यक्तिको कुनै स्पष्ट लक्ष्य छैन वा कामको उद्देश्य बुझिएको छैन भने, उसलाई काम गर्न मन लाग्दैन । यो विशेष गरी तब हुन्छ जब काममा चुनौती वा इनामको कमी हुन्छ । उदाहरणका लागि, एउटै काम बारम्बार दोहोर्‍याउँदा व्यक्तिमा दिक्क लाग्ने र अल्छीपन उत्पन्न हुन्छ ।

सामाजिक र वातावरणीय कारणहरू

सामाजिक दबाब र अपेक्षा

हाम्रो समाज र संस्कृतिमा काम, परिवार, र सामाजिक जिम्मेवारीहरूको दबाबले अल्छीपन निम्त्याउन सक्छ। उदाहरणका लागि, यदि कसैलाई परिवार वा समाजले अनावश्यक अपेक्षा राख्छ भने उसले मानसिक रूपमा थकित महसुस गर्न सक्छ । यो विशेष गरी नेपालजस्ता समाजमा प्रचलित छ, जहाँ सामाजिक अपेक्षाहरूले व्यक्तिलाई दबाबमा राख्छ।

वातावरणीय प्रभाव

मौसम : गर्मी वा जाडोको अत्याधिक तापक्रमले शरीरलाई सुस्त बनाउँछ । नेपालमा गर्मी मौसममा तातो र उमसले काम गर्न गाह्रो हुन्छ।

कार्यस्थलको वातावरण : कार्यस्थलको वातावरणले पनि अल्छीपनका लागि कारक बन्न सक्छ । यदि कार्यस्थलमा उचित प्रकाश, हावा वा आरामदायी वातावरण छैन भने, व्यक्तिमा अल्छीपन बढ्छ ।

डिजिटल असन्तुलन : स्मार्टफोन, सामाजिक सञ्जाल र इन्टरनेटको अत्याधिक प्रयोगले पनि थकान महसुस हुने, अल्छी लाग्ने हुन्छ ।

जीवनशैलीसँग सम्बन्धित कारणहरू

अस्वस्थ जीवनशैली

खानपान : जंक फूड, चिनी, वा क्याफिनको अत्याधिक सेवनले ऊर्जा स्तरमा उतारचढाव ल्याउँछ, जसले अल्छीपन निम्त्याउँछ।

निष्क्रियता : लामो समयसम्म बसेर काम गर्नु वा शारीरिक गतिविधिको कमीले मांसपेशी र मस्तिष्कलाई कमजोर बनाउँछ।

अनियमित दिनचर्या : अनुशासित दिनचर्या नहुँदा व्यक्ति आलस्य र अल्छीपनको सिकार बन्छ।

समय व्यवस्थापनको कमी : समयको सही व्यवस्थापन नहुँदा कामहरू थुप्रिन्छन्, जसले व्यक्तिलाई हैरान र तनावग्रस्त बनाउँछ। यो अवस्थामा व्यक्तिले काम शुरू गर्नै मन नलाग्ने अनुभव गर्छ ।

अल्छीपनका प्रभावहरू

-अल्छीपनले व्यक्तिगत र व्यावसायिक जीवनमा नकारात्मक प्रभाव पार्छ। काममा ढिलासुस्तीले समयमै काम सम्पन्न हुँदैन । हाम्रो आय-आर्जन तथा उत्पादकता घटाउँछ ।

-बारम्बार अल्छीपनले आत्मविश्वास र आत्मसम्मान कम गर्छ ।

-अल्छीपनले सामाजिक जिम्मेवारी पूरा नहुँदा सम्बन्धहरूमा तनाव उत्पन्न हुन सक्छ ।

-निष्क्रियताले मोटोपन, मधुमेह, र हृदयरोग जस्ता समस्याहरू निम्त्याउँछ । मानसिक स्वास्थ्यमा पनि यसले नराम्रो प्रभाव पार्न सक्छ ।

अल्छीपन व्यवस्थापनका उपायहरू

शारीरिक स्वास्थ्य सुधार

-कम्तीमा राति ७–९ घण्टा सुत्ने । सुत्ने-उठ्ने समयको उचित व्यवस्थापन गर्ने ।

-प्रोटिन, फाइबर र भिटामिनयुक्त खाना खाने। फलफूल, सागसब्जी र पानीको सेवन बढाउने ।

-दैनिक ३० मिनेटको हल्का व्यायाम (जस्तै हिँड्ने, योग वा स्ट्रेचिङ) गर्दा यसले ऊर्जा बढाउँ ।

-ध्यान तथा गहिरो सास फेर्ने अभ्यासले तनाव र चिन्ता कम गर्छ।

-साना र स्पष्ट लक्ष्यहरू बनाएर काम शुरू गर्ने। उदाहरणका लागि, २५ मिनेट काम गरेर ५ मिनेट विश्राम लिने ।

यदि डिप्रसन वा चिन्ता गम्भीर छ भने, मनोवैज्ञानिक वा परामर्शदाताको सहयोग लिने।

जीवनशैली परिवर्तन

-दिनचर्या बनाउने, दिनको योजना बनाएर कामलाई प्राथमिकता दिने।

-स्मार्टफोन र सामाजिक सञ्जालको प्रयोग सीमित गर्ने।

-साथीभाइ र परिवारसँग समय बिताउँदा प्रेरणा र ऊर्जा बढ्छ।

-काम सम्पन्न गरेपछि आफूलाई रमाइलव लाग्ने कुरामा सहभागी हुने । जस्तै:- मनपर्ने खाना खाने वा चलचित्र हेर्ने, मनपर्ने मान्छेलाई भेट्ने, आफूलाई आनन्द लाग्ने ठाउँमा जाने। प्रेरणादायी पुस्तकहरू पढ्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?