
News Summary
Generated by OK AI. Editorially reviewed.- स्वास्थ्यमन्त्री प्रदीप पौडेलले वैदेशिक रोजगारीमा रहेका श्रमिकको स्वास्थ्य उपचारको जिम्मेवारी रोजगारदाताले लिनुपर्ने प्रस्ताव लैजान घोषणा गरेका छन् ।
- उनले अन्तर्राष्ट्रिय सहयोगमार्फत स्वास्थ्य सेवा प्रभावकारी बनाउने प्रयासका लागि यो पहल गरिएको बताए।
- मन्त्री पौडेलले भने, ‘जुन देशमा रोजगारी गर्छ, त्यो रोजगारदाताले उसको स्वास्थ्य उपचारको जिम्मा लिनुपर्छ।’
१४ जेठ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले वैदेशिक रोजगारीमा रहेका श्रमिकको स्वास्थ्य उपचारको जिम्मेवारी रोजगारदाताले लिनुपर्ने विषयमा आगामी सेप्टेम्बरमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) मा प्रस्ताव लैजाने घोषणा गरेका छन् ।
मन्त्री पौडेलले अन्तर्राष्ट्रिय सहयोगमार्फत स्वास्थ्य सेवालाई प्रभावकारी बनाउने प्रयासअन्तर्गत यो पहल गरिएको बताए ।
‘जुन देशमा रोजगारी गर्छ । त्यो रोजगारदाताले उसको स्वास्थ्य उपचारको जिम्मा लिनुपर्छ,’ मन्त्री पौडेलले अनलाइनखबरसँग भने ।
नेपाली श्रमिकहरूको वास्तविकतालाई उदाहरण दिँदै मन्त्री पौडेलले भने, ‘कतिपय देशमा नेपालीले बनाएको रंगशाला छ । नेपालीले बनाएको सय–दुई सय तलाका घरहरू छन् । युवावस्थामा मेहेनत गरेका श्रमिक कमजोर भएपछि र स्वास्थ्य समस्या भएपछि देश फर्किने गरेका छन् । त्यसकारण रोजगारदाताले उसको स्वास्थ्यको जिम्मा लिनुपर्छ ।’
अब दुई देशबीच श्रम सम्झौता हुँदै यस विषयलाई सहमतिमा समावेश हुने मन्त्रालयले जनाएको छ ।
भारत, बंगलादेश, फिलिपिन्स लगायत वैदेशिक रोजगारीमा जाने मुख्य गन्तव्य देशले यस प्रस्तावका लागि तयार रहेको मन्त्री पौडेलको दाबी छ ।
‘यी सबै डब्लूएचओका सदस्य राष्ट्रहरु हुन् । ती सबै राष्ट्रहरुले हाम्रो प्रस्तावलाई समर्थन गर्नेछन्,’ मन्त्री पौडेलले भने ।
प्रतिक्रिया 4