+
+
Shares
स्वास्थ्यमन्त्रीसँग बीमा संवाद :

स्वास्थ्य बीमा डुब्न लाग्यो, उतारौं

२०७४ मा बनेको कानुन २०८२ सम्म लागु भएन । अनि, प्रश्न उठ्ने स्थिति बन्यो । हामीले बीमा अन्त्य गर्न खोजेको होइन, बीमा सुरुको जस्तो भएन । बीमा डुब्न लाग्यो, यसलाई उतारौं भन्दैछौं ।

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १३ गते २२:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • स्वास्थ्य बीमा प्रणाली अस्तव्यस्त र आम नागरिकको विश्वास हराउँदै गएको छ, अस्पतालले बीमा सेवा दिन अस्वीकार गरिरहेका छन्।
  • स्वास्थ्यमन्त्री प्रदीप पौडेलले सुधारको प्रतिबद्धता व्यक्त गरे पनि कार्यान्वयनमा समस्या देखिएको छ।
  • अहिलेको आर्थिक संकट र व्यवस्थापन कमजोरीले बीमाको दीर्घकालीन स्थिरता चुनौतीमा परेको छ।

पछिल्लो समय स्वास्थ्य बीमा कार्यक्रम अस्तव्यस्त मात्र बनिरहेको छैन, कार्यक्रमप्रति आम नागरिकको विश्वास समेत गुम्दै गएको छ । अस्पतालहरू सेवा दिन अस्वीकार गर्ने स्थितिमा पुगेका छन् । बीमा बोर्डमा निम्तिएको चरम आर्थिक संकटले कार्यक्रम नै प्रभावित बनेको छ । ८ वर्षसम्म ऐन-नियम कार्यान्वयन गर्न नसक्दा बीमा डुब्ने अवस्थामा पुगेको भनेर सर्वत्र आलोचना भएको छ । स्वास्थ्य बीमा प्रणाली सुधारलाई पहिलो प्राथमिकता बनाउने घोषणा गर्दै प्रदीप पौडेलले स्वास्थ्यमन्त्रीको पद सम्हालेको १० महिना बितिसकेको छ । तर स्वास्थ्य बीमाले फड्को मार्नुको साटो झनै सुस्त बनेको छ । स्वास्थ्य बीमाप्रति मन्त्री पौडेलको प्रतिबद्धतालाई खोक्रो प्रचार भनेर टिप्पणी हुन थालेको छ ।

स्वास्थ्य बीमा कार्यक्रम समस्याग्रस्त बन्नुको कारण के हो ? बीमाप्रति आमनागरिकलाई विश्वस्त बनाउन के गर्नुपर्छ ? स्वास्थ्य बीमालाई प्रभावकारी बनाउने आगामी योजना के छन् ? यिनै विषयमा केन्द्रित रहेर स्वास्थ्यमन्त्री पौडेलसँग अनलाइनखबरकर्मी पुष्पराज चौलागाईंले गरेको कुराकानी :

स्वास्थ्य बीमा प्रणालीलाई सुधार गर्ने प्रतिबद्धता तपाईंको कार्यकालको पहिलो घोषणा थियो तर १० महिनामा बीमा प्रणाली झन् धराशायी अस्तव्यस्त भएको देखिन्छ तपाइँको प्रतिद्धता खोक्रो प्रचार जस्तो देखियो नि ?

संवैधानिक र राजनीतिक प्रतिबद्धताको आधारमा नागरिकलाई स्वास्थ्य सेवा सर्वसुलभ र सस्तो रूपमा उपलब्ध गराउने, नसक्नेलाई निःशुल्क गराउने हाम्रो प्रतिबद्धता हो । तर कागजी प्रतिबद्धताले मात्र भएन, व्यावहारिक बनाउनुपर्‍यो । व्यावहारिक बनाउनका निम्ति लाग्ने सम्पूर्ण दायित्व कि राज्यले पूरा गर्न सक्नुपर्‍यो, होइन भने विकल्प खोज्नुपर्छ ।

अहिलेको बीमा प्रणालीमा वार्षिक २४ अर्ब रुपैयाँ आवश्यक पर्छ । तर सरकारले यो वर्ष पनि १० अर्ब मात्रै छुट्याएको छ । बाँकी रकम कहाँबाट ल्याउने त ? हामीले त्यसको पनि समाधान खोजेका छौं ।

बीमा सुरु हुँदाको दुई वर्ष छुट्याइएको पैसाले पुग्यो । त्यसपछिका वर्षमा पुग्ने गरी पैसा छुट्याइएन । पुग्ने गरी पैसा छुट्याउन सकिंदैन भने विभिन्न माध्यमबाट रकम जम्मा हुने स्थिति बनाऔं ।  त्यो भनेको योगदान गर्न सक्नेलाई योगदान गर्ने परिस्थिति निर्माण गरौं ।

संगठित क्षेत्रलाई बीमामा जोडौं । विभिन्न उपायबाट बीमाको आम्दानी निरन्तर हुने, आवश्यकता अनुसार हुने स्थिति निर्माण गरौं भनेर मन्त्रालय लागिपरेको छ । हामीले सीमित साधन-स्रोतभित्र क्षमता अभिवृद्धि गर्ने, सेवा अभिवृद्धि गर्ने गरी अध्ययन गर्‍यौं । त्यो अध्ययनबाट यो १० महिनामा दुईवटा प्रतिवेदन तयार भयो । ती प्रतिवेदनमै बीमाका बारेमा धेरै कुरा लेखेका छौं । कसरी स्रोत जुटाउने, नियमित बनाउने, बीमाको व्यवस्थापन गर्ने, बीमा भित्रको अनियमिततालाई अन्त्य गर्ने, व्यवस्थित ढंगले लागु गर्ने भन्ने हिसाबमा काम गरेका छौं ।

अहिले आम नागरिकले १०० रुपैयाँ खर्च गर्दा नागरिकको गोजीबाट ५५ रुपैयाँ खर्च भइरहेको छ । हामीले भनेको स्वास्थ्य बीमा प्रणाली विकास हुँदा नागरिकले ८ रुपैयाँभन्दा बढी खर्च गर्नु पर्दैन ।  यति पनि खर्च गर्न नसक्नेलाई राज्यले नै प्रिमियम गरिदिने व्यवस्था सहितको वृहत् प्रतिवेदन तयार गरे गर्‍यौं । त्यसलाई ठ्याक्कै कार्ययोजनामा लैजान सक्नेगरी अर्को प्रतिवेदन बनाउन प्रधानमन्त्रीज्यूबाट निर्देशन भयो ।  त्यसपछि कार्ययोजना प्रतिवेदन तयार गर्‍यौं । यो प्रतिवेदन लागु गर्नका निम्ति कुनै नयाँ कानुन बनाइरहनु पर्दैन । २०७४ सालमा बनेको कानुनले समेटेका कुराहरू मात्रै हामीले ल्याएको हो ।

२०७४ मा बनेको कानुन २०८२ सम्म लागु भएन । अनि, प्रश्न उठ्ने स्थिति बन्यो । हामीले बीमा अन्त्य गर्न खोजेको होइन, बीमा सुरुको जस्तो भएन । बीमा डुब्न लाग्यो, यसलाई उतारौं भन्दैछौं । बीमाबाट मात्रै आम नागरिकलाई सहज ढंगबाट स्वास्थ्य सेवा उपलब्ध हुनसक्छ ।

स्वास्थ्यको अहिलेको लगानी एकदमै थोरै छ । यो थोरै लगानी पनि घट्ने स्थिति छ । तर हामीले प्रस्ताव गरेको बीमा प्रणाली लागु भयो भने यति लगानी पनि गर्नु पर्दैन । हामीले राज्यको क्षमता र अवस्था बुझेर, स्वास्थ्य सेवाप्रति राज्यको दायित्व पूरा गर्नेगरी प्रस्ताव ल्याएका हौं ।

दुईपटक प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाइसक्नुभयो, तर कार्यान्वयन किन रोकियो ? कार्यान्वयनमा अड्चन प्रशासनिक, राजनीतिक दबा वा इच्छाशक्तिको अभाव हो ?

हामीले अहिले बजेट हेरिरहेका छौं । बजेटमा बीमाको आम्दानी वृद्धि हुने, योगदान गर्न सक्नेलाई वैधानिक आधार अबको बजेटले खोल्छ भन्ने स्वास्थ्य मन्त्रालयको विश्वास छ ।

स्वास्थ्य सुविधा बीमा बोर्डले मात्रै उपलब्ध गराउनुपर्छ । संगठित क्षेत्र बीमामा जोडिन सक्यो भने संगठित क्षेत्रको योगदानबाट झन्डै ६० अर्ब रुपैयाँ बीमाले आम्दानी गर्ने स्थिति हुन्छ । २४ अर्ब चाहिने बीमाले ६० अर्ब आम्दानी गर्न सक्यो भने बीमा व्यवस्थित हुन्छ । औपचारिक र अनौपचारिक क्षेत्रलाई यो वर्षदेखि बीमा बोर्डमा जोड्न मन्त्रालयले प्रस्ताव गरेको छ ।

कार्यान्वयन गर्न सकिएन भन्ने निष्कर्षमै नपुगिहालौं । यो संसारमै अभ्यास भएको विषय हो । त्यसैले सरकारको अनुरोध, निर्णयलाई औपचारिक क्षेत्रका मानिस, जनशक्तिले सजिलै कार्यान्वयनमा सहयोग गर्ने स्थिति बन्छ । पहिलो चरणमा सरकारी संगठित क्षेत्र समेट्दा सजिलो हुन्छ भन्ने आधारमा भनेका हौं ।

प्रगतिशील प्रिमियम र औसत प्रिमियम तोकेर नागरिकबाट योगदान पुग्ने स्थिति यो बजेटमार्फत निर्माण हुन्छ भन्ने विश्वास छ । त्यसपछि स्वास्थ्य कर कोष, सुगर ट्याक्स, स्वास्थ्यमा प्रतिकूल असर गर्ने चिजबिज सबै विषयमा कर बढाएर त्यो सम्पूर्ण रकम बीमा बोर्डमा दिने व्यवस्था गरिनुपर्छ भनेर मन्त्रालयले प्रस्ताव गरेको छ ।

सरकारका जुनजुन संरचनाहरू छन्, स्वास्थ्य सेवा उपलब्ध गराउनका निम्ति ती संरचनाहरूलाई स्वास्थ्य सेवाका निम्ति बीमा बोर्डमा गाभ्नुपर्छ । त्यसपछि स्वास्थ्य मन्त्रालयले विभिन्न सुविधाअन्तर्गत जुन रकम उपचार सेवा उपलब्ध गराएवापत स्वास्थ्य संस्थालाई दिइरहेको छ, त्यो रकम पनि बीमा बोर्डलाई दिनुपर्छ, जुन करिब १७ अर्ब भन्दा माथि छ ।

बीमा २० जनाले प्रिमियम तिरेर दुई जनाको उपचार गर्ने प्रणाली हो । त्यसो गर्दा प्रिमियम तिर्नेहरू सबै बीमा बोर्डमा जोडिन्छन् । सरकारले दिने स्वास्थ्य सेवा-सुविधाको रकम सबै बीमा बोर्डमा जान्छ । अनि सरकारी संरचना भित्र, गैरसरकारी संरचना भित्र स्वास्थ्य सेवा उपलब्ध गराउने संस्थाको सम्पूर्ण रकम बीमा बोर्डलाई जान्छ । उपचार गर्न नपर्नेहरू बाट योगदान बापत प्राप्त भएको रकम उपचार गर्न पर्नेहरूलाई बीमा बोर्डले उपलब्ध गराउन सक्छ ।

स्वास्थ्य बीमा सुधारका लागि पटकपटक प्रतिवेदन बने, कार्यान्वयन कहिल्यै भएनन् तपाईंले फेरि नयाँ समिति बनाएर नयाँ प्रतिवेदन बनाउनुभयो पहिलेका थन्किएका प्रतिवेदन कार्यान्वयन गर्न नसक्दा फेरि किन अर्को प्रतिवेदन चाहियो ? प्रतिवेदन बनाउने बहानामा समय बिताउने जिम्मेवारीबाट पन्छिने प्रयास देखियो नि ?

बीमा कार्यक्रम अनिवार्य गर्नुपर्छ भनेर २०७४ सालमा ऐन नै ल्याएर लागु भइसकेको छ । यसको लागि नीति, नियम, कानुन बनिसकेको छ । अब यसलाई व्यवस्थित गर्नुपर्नेछ । नियमित आम्दानी हुनेगरी स्रोत सुनिश्चित गर्नुपर्ने छ । हामीले संसारमा प्रचलित योगदानमा आधारित प्रणालीबाट बीमालाई विकास गर्न खोजिएको हो । यो कार्यक्रम पुरानै हो ।

बीमाको व्यवस्थापकीय पक्षमा पनि ठूलो समस्या छ । बीमाको सिलिङ बढाउन जरुरी छ । कतिपय रोगहरूको उपचार १ लाख रुपैयाँले पुग्दैन । कतिपयलाई १ लाख पनि चाहिँदैन । नचाहिनेलाई १ लाख पनि घटाउने, चाहिनेलाई जति चाहिने हो, त्यति उपलब्ध गराउनुपर्छ । बढी खर्च हुनेलाई ५ लाखसम्म पुर्‍याएर बीमालाई व्यवस्थित गर्न खोजिएको हो ।

बीचको समयको प्रतिवेदनभन्दा पछिल्लो प्रतिवेदनले सबै कुरालाई समेटेको छ । कस्ता कस्तालाई ५ लाख दिने, कस्तालाई १ लाख मात्रै दिने, दुरूपयोग हुन नदिन के नगर्ने, के गर्ने, अस्पताल र बीमा बोर्डको सम्बन्ध कस्तो हुने, अस्पतालले उपचारको प्याकेज कसरी बनाउने, अनि राज्यले यसको नियमित आम्दानी हुने सुनिश्चित बाटो कसरी बनाइदिने, यी सबै पछिल्लो प्रतिवेदनमा उल्लेख छ । त्यसलाई कार्यान्वयन गर्न अहिले प्रयास भइरहेको छ ।

यतिका समयसम्म कुनै पनि प्रतिवेदन कार्यान्वयनमा हुन सकेन भने, त्यो प्रतिवेदन बनाउने नाममा आफ्ना मान्छेलाई भत्ता बाँड्ने देखावटी काम गरेर श्रेय लिने नाटक मात्रै हो भन्ने आलोचना गलत हो ?

प्रतिवेदन बनाउनेमा रहनुभएका विषय विज्ञ तथा सल्लाहकार कसैले पनि भत्ता खानुभएको छैन । बरु धेरै योगदान गर्नुभएको छ । पहिलो र दोस्रो प्रतिवेदनमा आर्थिक लगानी केही पनि छैन । हामीले कसले के भन्छ भन्ने होइन, प्रतिवेदन कार्यान्वयन गर्ने हो ।

पटक-पटक औपचारिक क्षेत्रलाई अनिवार्य रूपमा बीमामा आबद्ध गराउने घोषणा गर्नुभयो । तर पहिलो खुड्किलो पार गर्नसमेत असफल हुनुभएको हो भने घोषणा नागरिकलाई झुक्याउनका लागि मात्र जस्तो देखियो नि ?

कार्यान्वयन गर्न सकिएन भन्ने निष्कर्षमै नपुगिहालौं । यो संसारमै अभ्यास भएको विषय हो । त्यसैले सरकारको अनुरोध, निर्णयलाई औपचारिक क्षेत्रका मानिस, जनशक्तिले सजिलै कार्यान्वयनमा सहयोग गर्ने स्थिति बन्छ । पहिलो चरणमा सरकारी संगठित क्षेत्र समेट्दा सजिलो हुन्छ भन्ने आधारमा भनेका हौं ।

स्वास्थ्य मन्त्रालयले आफ्नो बजेटको खाकाभित्र यसलाई समावेश गरेर पठाएको छ । अर्थ मन्त्रालयले आर्थिक पक्षबाट यो दायित्व पूरा गर्नसक्ने स्थिति छैन भन्ने कुरा स्वास्थ्य मन्त्रालयले राम्ररी बुझेको छ । त्यसैले आर्थिक पक्षबाट यसलाई दीर्धकालीन कसरी बनाउन सकिन्छ भन्ने आधारमा यो प्रस्ताव गरिएको हो । बीमा कार्यक्रम लागु गर्न सजिलो छ । पक्कै लागु हुन्छ ।

स्वास्थ्य बीमा सफल बनाउअस्पतालको सेवा चुस्तदुरुस्त हुनुपर्ने तपाईं आफैंले भन्दै आउनुभएको तर बिमित नागरिकले फार्मेसीबाट औषधि पाउँछन्, सहज सेवा नै सेवासुविधा केही छैन भने नागरिक किन बीमामा आबद्ध हुने ?

सुरुमा बीमाप्रति ठूलो आकर्षण थियो । आबद्धता पनि उत्साहप्रद नै थियो । पछि बीमा बोर्डको नियमित र आवश्यकता अनुसारको आम्दानी हुने स्थिति रहेन । बक्यौता बढ्दै गयो । बक्यौता बढ्दै गएपछि अस्पतालले पनि व्यवस्थित ढंगबाट बिमितलाई सुविधा दिन सकेनन् । कतिपय ठाउँमा बीमामा जोडिनु भनेको दोस्रो दर्जाको नागरिक हो भाष्य निर्माण भयो । अस्पतालमा पनि बक्यौता रहेपछि सेवा उपलब्ध गराउनका निम्ति खरिद गर्नुपर्ने सामग्रीहरू, उपचार प्रणालीभित्र आवश्यक पर्ने चिजबिज खरिद हुन सकेन । एक अस्पतालसँग ६०/६२ करोड रुपैयाँसम्म बक्यौता भएको स्थिति छ । म आइसकेपछि झन्डै साढे ७-८ अर्ब संस्थालाई उपलब्ध गरायौं । तैपनि, खासै घटेको छैन ।

स्वास्थ्य बीमा सफल बनाउने कुरा बारम्बार गर्नुहुन्छ, तर तपाईं पदमा आएपछि अस्पतालको सेवा सुधारका लागि उल्लेख्य काम भएको देखिँदैन नि ?

नीतिगत सुधारका धेरै निर्णय अहिले कार्यान्वयनको प्रक्रियामा छन् । अस्पतालको क्षमताभन्दा बढी सेवाग्राही छन् । एक अस्पतालमा दिनमा ३ हजार/३५ सय सेवाग्राही जान्छन् । त्यो आकर्षणलाई विश्वासमा बदल्न सही ढंगबाट व्यवस्थापन गर्नुपर्छ । आज पनि सरकारी अस्पतालको आकर्षण घटेको छैन । तर जनशक्ति, उपकरण, पूर्वाधारले नै नभ्याउने गरी सेवाग्राही गएको स्थितिमा व्यवस्थापन पूर्ण रूपमा गर्न सकिएको छैन । आजको चुनौती भनेको व्यवस्थापनमा हो ।

चुस्त व्यवस्थापनका लागि जनशक्ति बढाउने निर्णय भइसकेको छ । साउन महिनाको पहिलो क्याबिनेटले सो निर्णय गर्छ । २५ सय जनशक्ति थप्ने मन्त्रालयले निर्णय गरिसकेको छ । सबै स्थानीय तहमा जनस्वास्थ्य अधिकृत उपलब्ध गराउने प्रस्ताव पनि गरेको छौं ।

छुट्टै स्वास्थ्य सेवा ऐन बनाउँदैछौं । ऐनमा स्वास्थ्यका जनशक्ति विशिष्टकृत हो भन्ने रेकग्नाइज गरेको हुनुपर्‍यो । तलब अरु क्षेत्रका कर्मचारीको भन्दा बढी हुनुपर्‍यो । मन्त्रालयले यी सबै प्रबन्ध गरेर ऐन ल्याउँदैछ ।

अस्पतालमा अनिवार्य रूपमा ईएचएस सेवा सञ्चालन गर्न र निगमनलाई प्रभावकारी बनाउन काम गरिरहेका छौं । अस्पतालको फार्मेसी हरेक अस्पतालमै हुनुपर्छ, फार्मेसीमा कुन-कुन औषधि उपलब्ध छ, मूल्य कति हो, नागरिक बडापत्र टाँस गरेर सार्वजनिक गर्नुपर्छ । उपलब्ध हुन नसकेको औषधि किन उपलब्ध भएन, त्यसको पनि जवाफ दिनुपर्छ ।

हरेक अस्पताललाई डिजिटल प्रणालीमा लाने गरी काम गरिरहेका छौं । एक ठाउँमा जाँच गरेपछि त्यसको रिपोर्टले अर्को ठाउँमा पनि काम गर्ने हुनुपर्छ । त्यो एकैचोटि, निर्णय गर्ने बित्तिकै लागु गरिहाल्ने क्षमता त हाम्रो छैन, क्रमश: सबै शीर्षकमा बजेट विनियोजन गरिएको छ । म आएपछिको १० महिनामा अस्पतालको बेड संख्या नबढेको कहीं पनि छैन ।

स्वास्थ्य बीमा स्वायत्त संस्था हो भनेर भनिन्छ, तर बोर्डकै पदाधिकारीले मन्त्रालयको हस्तक्षेपले राजीनामा दिनुपरेको खुलासा गरिसकेका छन् यसपटक सल्लाकार रहँदा डा. रघु काफ्लेलाई बोर्ड निर्देशक बनाएर एमालेबाट अर्को अध्यक्ष नियुक्त गरेर स्वास्थ्य बीमामा राजनीतिक भागबण्डा गरिएको यस्तो राजनीतिक प्रभाव मनपरी नियुक्तिले स्वास्थ्य बीमा कहिलेसम्म स्वायत्त पारदर्शी रहला ?

म आइसकेपछि नेतृत्वमा (डा. गुणराज लोहनी) हुनुहुन्थ्यो । मैले उहाँलाई तपाईँ बस्नूस्, म सहयोग गर्छु भनेको थिएँ । उहाँले राजीनामा दिएर जानुभएपछि बीमामा जुन ऐन थियो, त्यो ऐनमा फराकिलो ढंगबाट प्रतिस्पर्धा गराउन सक्ने व्यवस्था थिएन । ऐन परिवर्तन गर्न हामीलाई समय लाग्यो ।

निर्देशक नियुक्ति मन्त्रीले गर्ने होइन, प्रक्रियाले गर्ने हो । उहाँ मेरो सल्लाहकार हुनुभयो, मैले के गर्ने ? उहाँले आफूले आकांक्षा राखेर प्रक्रियामा जानुभयो । प्रक्रियामा उहाँ अब्बल भएर आउनुभयो । हामीले प्रक्रियागत ढंगबाट नियुक्ति गर्‍यौं। त्यसैले जम्मैलाई नकारात्मक लिनुपर्छ भन्ने छैन । अध्यक्षलाई पनि जुन प्रक्रियाबाट नियुक्ति गर्नुपर्ने हो, त्यो प्रक्रियाबाट मैले नियुक्ति गरेको हुँ ।

मन्त्रालयमा भएको विपन्न सुविधाका सम्पूर्ण कार्यक्रम बीमा बोर्डमा लैजान्छु भन्दा मन्त्रीको हस्तक्षेप बुझिन्छ ? बीमा बोर्डलाई सबै हिसाबले स्वायत्त बनाउनुपर्छ भन्दा मन्त्रीले हस्तक्षेप गर्‍यो भन्न मिल्छ ? बीमा बोर्डसँग संगठित क्षेत्र जोडिदिनुपर्छ,  बीमा बोर्डभन्दा बढी म लागेको छु । अनि यो हस्तक्षेप हो ? बीमाको नियमित आम्दानी भएन, यो चलेन भनेर चिन्ता गर्ने मन्त्रीले बीमालाई हस्तक्षेप गर्न खोजेको भन्ने बुझिन्छ र ?

बीमा बोर्डलाई कसरी बलियो बनाउन सकिन्छ, कसरी साधन-स्रोत सम्पन्न बनाउन सकिन्छ, व्यवस्थापन कसरी चुस्त बनाउन सकिन्छ भनेर लाग्दा हस्तक्षेप गरेको भन्नु आरोप बाहेक केही होइन ।

राजनीतिक भागबण्डाका कारण अध्यक्ष निर्देशकबीच टकराव हुने गरेको छ । ऐन बनेदेखि कुनै अध्यक्ष निर्देशकले आफ्नो कार्यकाल सहज रूपमा पूरा गर्न सकेका छैनन् तपाईंले नियुक्त गरेका निर्देशक अध्यक्षबीच टकराव हुँदैन संस्था स्वायत्त रूपमा चल्छ भनेर कसरी विश्वास गर्ने ?

समस्या नै नपरेको विषयमा अनुमान नगरौँ न । अहिले त त्यस्तो केही समस्या छैन । अहिले विद्यमान ऐन र कानुनभित्रै पर्ने गरी प्रस्ताव गरेका छौं । बोर्डलाई सशक्त बनाउने, पूर्ण क्षमतामा चल्ने गरी नै २०७४ सालमै ऐनहरू आएको छ । त्यसैले धेरै परिवर्तन गरेर नयाँ ऐन ल्याउनुपर्ने स्थिति छैन । केही विषयमा सामान्य संशोधन गरे पुग्ने स्थिति छ । विद्यमान ऐनमा भएका विषयलाई कार्यान्वयन गरेर लैजानु जरुरी छ ।

बीमा बोर्ड आर्थिक रूपमा टाट पल्टिएको अवस्था छ । बोर्डले अस्पताललाई अर्बौं बक्यौता तिर्नै बाँकी छ । सेवा प्रदायक संस्था सेवा नै बन्द गर्न बाध्य भइरहेका छन् । यस्तो परिस्थितिले त बीमा बोर्ड बन्द हुने अवस्थामा पुग्यो नि ?

हैन-हैन बन्द हुँदैन । सरकारकै प्राथमिकताको पहिलो कार्यक्रम हो । त्यसैले बन्द गराउने कसैले भनेको छैन । अर्थ मन्त्रालय तथा प्रधानमन्त्रीज्यूसँग कुरा गर्दा पनि बीमा बन्द हुने भन्ने कसैले परिकल्पना गरेको स्थिति छैन । यसलाई व्यवस्थापन कसरी गर्ने भन्ने सन्दर्भमा कतै अलिअलि बाझिएको हुनसक्छ । तर त्यो मिल्दै नमिल्ने गरी बाझिएको पनि छैन ।

बक्यौता फरफारक गर्ने कुरामा पनि स्वास्थ्य अर्थ मन्त्रालय पूर्ण सहमत छ । बीमा कसरी सञ्चालन गर्ने, यसको आम्दानी नियमित कसरी गर्ने, भन्ने सन्दर्भमा अहिले स्वास्थ्य मन्त्रालयले प्रस्ताव गरेको विषयलाई अर्थ मन्त्रालयले बजेटमार्फत ल्याउने अवस्था बन्यो भने धेरै सजिलो हुन्छ । हामीले प्रस्ताव गरेको विषयमा अर्थ मन्त्रालय सकारात्मक छ । यो पटकको बजेटमा बीमालाई स्रोत सुनिश्चित हुनेगरी केही आधारहरू बन्छन् ।

बीमा बोर्डलाई स्वायत्त बनाउने, कुनै ढंगको हस्तक्षेप नगर्ने, स्वास्थ्य सुविधाहरू सबै बीमा बोर्डमा एकीकृत गर्ने र अरु पक्षबाट पनि बीमा बोर्डलाई आम्दानी गराउने स्थितिको निर्माण गर्ने आर्थिक नीति बजेटमार्फत आउँछ भन्ने हाम्रो विश्वास छ ।

पछिल्लो तथ्यांक हेर्दा ५४ प्रतिशत बिमितले नवीकरण गरेका छैनन् अधिकांश लक्षित वर्गको नवीकरण सरकारले गरिदिन्छ, बीमामा जोडिएका धेरैजसो बिरामी शल्यक्रिया वा गम्भीर उपचार चाहिनेहरू मात्रै छन् यस्तो विकराल अवस्थामा बीमालाई अझ विकसित गर्न कसरी सम्भव छ ?

यो व्यवस्थापनको पक्षसँग जोडिएको विषय हो । बीमा कार्यक्रमले सुरुवातमा जस्तो विश्वास आर्जन गर्न सकेको छैन । विश्वास आर्जन गर्न नसक्नुका विभिन्न कारण छन् । अस्पताल जाँदा झन्झट भयो, १ लाख रुपैयाँ बराबरको सुविधा पूर्ण रूपमा नपाउने स्थिति बन्यो वा १ लाखले पुगेन । बीमा गरेपछि ३ महिनापछि मात्रै सुविधा पाउने हुँदा बीमितलाई अप्ठ्यारो भयो । त्यसलाई घटाएर एक महिना बनाएका छौं । यस्तै अब रिफर सेन्टर ओरिजिन जहाँ हो, त्यहाँ जानु पर्दैन । तपाईँको जहाँ बस्नुहुन्छ, त्यहीँ नजिकको स्थानीय तहमा गएर रिफर गर्न सक्ने व्यवस्था मिलाएका छौं ।

सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रमबाटै यो सञ्चालित हुन्छ । स्वास्थ्य बीमा बोर्डमार्फत नै बीमा सञ्चालन गर्नुपर्छ । तर कार्यान्वयन, निगमन एक्जिक्युसन, रेगुलेसन एकै संस्थाले गर्न सक्दैन । त्यसमा पुनर्विचार गर्नुपर्छ ।

खासगरी बीमालाई नागरिक आफैँ राम्ररी बुझ्ने स्थितिमा पुग्नुपर्छ । यो मेरो पैसा हो, राज्यले मलाई अप्ठ्यारो पर्दा सहयोग गर्न ल्याएको कार्यक्रम हो, त्यसैले मैले नचाहिँदा यसलाई प्रयोग गर्नुहुँदैन भन्ने बुझ्नुपर्छ । नागरिकलाई सचेत बनाउने काम हामीले गर्नुपर्छ । अहिले सरकारले जुन-जुन उमेर समूहलाई प्रिमियम तिरिदिने गरेको छ, त्यो समूहका बिमित बढी छन् । आफैँ प्रिमियम तिरेर योगदान गर्नसक्ने त बीमा बोर्डमा जोडिएकै छैनन् ।

बीमाले अहिले १ लाखसम्मको सेवा दिएको छ । त्यसमा सहभुक्तानी एउटा व्यक्तिले तिर्नुपर्ने १ लाखको सेवा लिँदा लगभग २० प्रतिशत अर्थात् २० हजार तिर्नुपर्ने भन्ने खालको व्यवस्था गरेका छौं । सहभुक्तानीको व्यवस्था  नगर्ने हो भने जसले, जतिखेर पनि सबै चेक गराइदिने अवस्था बन्यो, उपचारै नगरी गरेँ भन्न थाले । मलाई लाग्छ, २० प्रतिशत सहभुक्तानी एकदमै धेरै भयो । भोलि बीमाको दायरा ५ लाख बनाइयो भने ५० हजार तिर्नुपर्छ । त्यसैले सहभुक्तानी १० प्रतिशत बनाउने विषयमा छलफल भइरहेको छ ।

अनावश्यक परीक्षण बढ्न थालेपछि व्यवस्थापनमा कडिकडाउ गर्ने कुरा हुन्छ नि ! तर जिम्मेवारीबाट पन्छिएर झन् बिमितलाई थप भार पारिएको देखिन्छ यस्तो अवस्था किन सिर्जना भयो ?

कतिपय कुराहरू कानुनले मात्रै हुँदैन । कानुन त अहिले पनि छ । तर कडिकाडाउ रूपले पालना भएको छैन । कसैले उपचारै नगरी हस्ताक्षर गर्‍यो भने उसलाई थुन्नुपर्छ । कसैले उपचारै नगरी भुक्तानी लियो भने त्यो अस्पतालको सम्बन्धन खारेज गर्नुपर्छ । कडाइ गर्न जरुरी छ । त्यो एउटा पक्ष भयो । तर पूर्ण कडाइ गर्दा गर्दै पनि यसलाई ५ प्रतिशतमा ल्याउन गाह्रो हुन्छ । पूर्ण कडाइ गरिएको ठाउँमा पनि ५-७ प्रतिशत अनियमितता भइरहेको छ ।

त्यसैले नागरिक आफैँ यसमा सचेत हुनुपर्छ ।  आफूलाई आवश्यक पर्‍यो भने बीमा प्रयोग गर्नुपर्छ । आवश्यक परेको छैन भने आवश्यक प्रयोग परेको मान्छेले यसलाई प्रयोग गर्न पाउनुपर्छ भनेर नागरिक आफैँ पनि सचेत हुनुपर्छ । त्यसैले को-पेमेन्टको कुरा एकैचोटि हट्न सक्दैन ।

स्वास्थ्य बीमा कार्यक्रमको ७६ प्रतिशत खर्च सरकारले अनुदानको रूपमा बेहोर्दै आएको यस्तो अवस्था कहिलेसम्म टिक्छ ? कहिलेसम्म सरकारको भरमा यो कार्यक्रम सञ्चालन हुन्छ  ?

सरकारको भरमा चल्दैन । यसको अर्थ बीमा नै बन्द गरिदिने, सामाजिक सुरक्षा कार्यक्रम पनि बन्द गरिदिने, सरकारले केही पनि नगर्ने भन्ने पनि हुँदैन ।

संविधानमा निःशुल्क आधारभूत स्वास्थ्य भन्ने अनि विशिष्टकृत स्वास्थ्य सेवा सस्तो, सर्वसुलभ भन्ने, भाषण गर्दा यो पनि निःशुल्क, अर्को पनि निःशुल्क हुने, व्यवहारमा त केही नहुने स्थिति हुन भएन । बीमा कार्यक्रमले स्वास्थ्योपचारमा ठूलो टेवा पुर्‍याएको छ । राज्य दायित्वबाट पन्छिन मिल्दैन । नागरिकलाई स्वास्थ्य सेवा सहज र सुलभ ढंगले दिनका लागि बीमा मात्रै एउटा माध्यम हो ।

सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई थेग्न नसकेर निजी कम्पनीलाई जिम्मेवारी सुम्पिन लागेको सुनिँदै आएको यो असफलताको स्वीकारोक्ति हो, कि निजी क्षेत्रलाई पोस्ने रणनीति हो ?

हैन, पहिले पनि निजी कम्पनीलाई दिने भनेर चर्चा भएको सुनिएको हो । बरु अहिले चर्चा भएको छैन । समाजवादी हुँ भन्ने राजनीतिक पार्टीका नेतालाई मेरो प्रश्न- बीमा समेत निजीलाई दिएर राज्यले स्वास्थ्यमा जिम्मेवारी पूरा गरेको भाषण गर्ने हो ?

सरकारले निजी कम्पनीको स्वरूपमा चलाऊ भन्यो भने ठूलो दुर्घटना हुन्छ ।  सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रमबाटै यो सञ्चालित हुन्छ । स्वास्थ्य बीमा बोर्डमार्फत नै बीमा सञ्चालन गर्नुपर्छ । तर कार्यान्वयन, निगमन एक्जिक्युसन, रेगुलेसन एकै संस्थाले गर्न सक्दैन । त्यसमा पुनर्विचार गर्नुपर्छ । एक्जिक्युट गर्नेले रेगुलेट गर्न मिल्दैन । बीमा बोर्डभित्रै दुइटा संरचना विकास गर्ने पो हो कि ? बीमा बोर्डले एक्जिक्युट गर्ने, रेगुलेट अर्को कसैले गर्ने हो कि ? यस विषयमा हामी यो भन्दा पछिल्लो स्टेजमा छलफल गर्छौं र निष्कर्ष निकाल्छौं ।

स्वास्थ्य बीमासम्बन्धी दाबी भुक्तानीमा पटकपटक अनियमितता, लेनदेन, निजी अस्पताल बीमा बोर्डबीच मिलेमतो, झुटा दाबी जस्ता कुराहरू प्रतिवेदनमै उल्लेख हुँदा समेत मन्त्रालयले किन कारबाही प्रक्रिया अघि बढाउन सकेको छैन ?

भुक्तानीको विषयमा तपाईँले सुनेको कुरा पुरानो हो । पछिल्लो समय यस्तो भएको छैन । रकम कति हो, त्यसको आधारमा प्रतिशत निर्धारण गरिएको छ । त्यो प्रतिशत निजी, सरकारी सबैलाई दिइएको छ । निजीलाई धेरै, सरकारीलाई कम गरिँदैन । बक्यौता रकम कति हो, त्यसको आधारमा प्रतिशत निर्धारण हुन्छ । त्यो प्रतिशतका आधारमा सबै स्वास्थ्य संस्थालाई रकम उपलब्ध गराइन्छ । त्यसैको आधारमा फरफारक हुन्छ ।

प्रधानमन्त्रीज्यूले दुवै प्रतिवेदनलाई गम्भीर रूपले हेर्नुभएको छ । त्यसलाई कार्यावन्यन गर्ने गरी अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । उक्त प्रतिवेदन कार्यावन्यन गर्नेगरी बजेट आउँछ भन्ने विश्वास छ ।

झुटा दाबी निजीको बढी छ । सरकारी अफिसको नेतृत्वले यस्तो दाबी गर्दा रकम आफ्नो खातामा आउँदैन । तर निजीको नेतृत्वकै गोजीमा जान सक्ने भएको कारणले झुटा दाबी ज्यादा भएको हो । त्यसमा केही सूचक र तथ्यगत विषयहरू छन् ।

निजी अस्पताल र बीमा बोर्डको एक्जिक्युट संयन्त्र मिलेर लेनदेन भयो भन्ने कुरामा मलाई धेरै विश्वास लाग्दैन । झुटा दाबीलाई ५ प्रतिशत भन्दा तल लानै सकिँदैन । ५ प्रतिशत पुग्यो भने पनि एकदमै ठूलो उपलब्ध हो । अहिले २० प्रतिशतको हाराहारीमा झुटा दाबी होला । त्यसैले १०-१२ प्रतिशतको बीचमा व्यवस्थित गर्न जरुरी छ ।

स्वास्थ्य बीमाको दायरा लाखबाट लाख रुपैयाँ पुर्‍याउने प्रतिबद्धता जनाउनुभयो तर त्यो निर्णयबाट किन पछि हट्नुभयो ?

होलेस्टिक रूपमा सबैलाई ५ लाख चाहिँदैन । तपाईँको उपचारमा ५० हजारले हुन्छ भने जबर्जस्ती ५ लाख दिने त हुँदैन । उपचारमा १ लाखभन्दा बढी लाग्दै लागेन भने ५ लाख किन दिनुपर्‍यो ? तर कडा रोगको उपचारलाई १ लाखले पुग्दैन । त्यसैले ५ लाख रुपैयाँसम्मको सेवा पाउने प्रस्ताव अघि बढाएका छौं । उपचारको प्रक्रियामा उसलाई कति चाहिने हो, ५ लाखभित्र त्यति उपलब्ध हुन्छ ।

हामीले बीमाको दायरा पनि बढाउने रणनीति अगाडि सारेका छौं । जस्तो, यो वर्ष मैले बीमा गरेँ । तर मेरो पैसा यो वर्ष खर्च भएन भने अर्को वर्ष त्यही बाँकी रहेको रकम थप हुन्छ । यसले नवीकरण गर्ने कुरालाई प्रोत्साहित गर्छ ।

दुई पटक प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउनुभयो । तर कार्यावन्यन गर्न सफल हुनुभएन । तपाईंको प्रतिवेदनलाई प्रधानमन्त्रीले नै पत्याउनु भएन नि !

हैन, हैन । कार्यावन्यन गर्न सफल नभइसकको अवस्था छैन । प्रधानमन्त्रीले नपत्याउनु भएको पनि होइन । प्रधानमन्त्रीज्यूले दुवै प्रतिवेदनलाई गम्भीर रूपले हेर्नुभएको छ । त्यसलाई कार्यावन्यन गर्ने गरी अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । उक्त प्रतिवेदन कार्यावन्यन गर्नेगरी बजेट आउँछ भन्ने विश्वास छ ।

भिडियो र तस्वीर : आर्यन धिमाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?