+
+
Shares

मानसिक स्वास्थ्य सम्बन्धी जनशक्ति थप गरिने

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १ गते १८:३४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मानसिक स्वास्थ्यको समस्या गम्भीर बन्दै गएकोले मन्त्रालयले सरकारी, गैरसरकारी र अन्तर्राष्ट्रिय संस्थाहरूसँग सहकार्य बढाउने योजना बनाएको छ।
  • मन्त्री प्रदीप पौडेलले मानसिक स्वास्थ्य समस्या समाधानका लागि नीति र कार्यक्रम तर्जुमा गर्ने र जनशक्ति थप्ने प्रतिबद्धता जनाएका छन्।
  • विद्यालयमा मानसिक स्वास्थ्य सम्बन्धी शिक्षा र परामर्श समावेश गर्न र विद्यालय नर्स कार्यक्रम ल्याउने तयारी भइरहेको छ।
१ वैशाख, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मानसिक स्वास्थ्यका समस्या समाधानमा क्रियाशील संघसंस्थाहरूबीच कामका दोहोरोपन हटाउन तथा सहकार्य बढाउन पहल थालेको छ ।

बिहीबार मन्त्रालयमा आयोजित बैठकमा मानसिक स्वास्थ्यका समस्या गम्भीर बन्दै गइरहेको भन्दै मन्त्रालयले यस क्षेत्रमा कार्यरत सरकारी, गैरसरकारी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूसँग सहकार्यको प्रयास अघि बढाएको हो ।

बैठकमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मानसिक स्वास्थ्य अहिले गम्भीर स्वास्थ्य चुनौतीका रूपमा देखा पर्न लागेको भन्दै यसलाई सम्बोधन गर्न आवश्यक सबै उपायबारे छलफल गरेर मन्त्रालयले नीति तथा कार्यक्रम तर्जुमा गर्ने बताए ।

‘मानसिक रोगका बिरामीको संख्या दिन प्रतिदिन बढिरहेको छ । यो समस्याबाट सबै जनसंख्या प्रभावित हुन सक्ने देखिएको छ,’ उनले भने, ‘यसको सम्बोधन कसरी प्रभावकारी गर्न सकिन्छ भनेर हामीले प्रयास थालेका छौं ।’

तर, यस क्षेत्रमा काम गर्नेले दोहोर्‍याएर नभै क्षेत्र तोकेर काम गर्न आवश्यक रहेको भन्दै त्यसका लागि मन्त्रालयले समन्वय गर्ने मन्त्री पौडेलको भनाइ छ ।

मन्त्रालयले यसका लागि मानसिक स्वास्थ्य सम्बन्धी जनशक्ति थप गर्ने योजना अघि बढाइरहेको पनि उनले बताए । ‘बालबालिकामा पनि यस्तो समस्या नआओस् भनेर शिक्षा मन्त्रालयसँग मिलेर विद्यालय पाठ्यपुस्तकमा स्वास्थ्य शिक्षा अनिवार्य गरेर मानसिक स्वास्थ्यका विषय समेत राख्ने तयारी अघि बढेको छ,’ मन्त्री पौडेलले भने ।

उनले विद्यालय पुस्तकमा मनोसामाजिक परामर्श र मानसिक स्वास्थ्यबारे जानकारी समावेश गरिने पनि बताए । उनले विद्यालय स्वास्थ्यदूत कार्यक्रम घोषणा गरेको स्मरण गर्दै आगामी बजेटमा विद्यालय तहसम्म यो कार्यक्रममार्फत बालबालिकामा मानसिक स्वास्थ्य सम्बन्धी सजगता बढाउन प्रयास गरिने बताए ।

‘हामी यो समस्या समाधानमा तीन वटै सरकारको सहकार्य गरेर अघि बढ्दैछौं,’ उनले भने, ‘तब मात्र प्रभावकारी रुपमा मानसिक स्वास्थ्य समस्या सम्बोधन गर्न सकिन्छ ।’

मन्त्री पौडेलले संस्थागत विद्यालयमा समेत विद्यालय नर्स कार्यक्रम लैजानेबारे शिक्षा मन्त्रालयसँग सहकार्य गरिने प्रतिबद्धता जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?