
News Summary
Generated by OK AI. Editorially reviewed.- पोखरामा आयोजित गजल साँझमा देवु र सन्तोष श्रेष्ठले सात वटा गजल प्रस्तुत गरे।
- कार्यक्रम नेपाल साहित्य समाज र गण्डकी प्रदेशले आयोजना गरेको थियो।
- साहित्यकारहरूले यसलाई नेपाली गजल र संगीतको लागि ऐतिहासिक र महत्त्वपूर्ण बताए।
अहो ! क्या छ बान्की, तिमी पोखराकी
भनूँ रूप खानी, तिमी पोखराकी…।
१७ जेठ शनिबार देवेन्द्र के. सी. ‘देवु’का यी शब्द विश्व कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठको सुमधुर संगीत र स्वर गुञ्जिदा पोखराको पार्दीस्थित नेपाल पर्यटन बोर्डको सभा हल नै प्रेमिल बनेको थियो ।
देवेन्द्र के. सी. ‘देवु’ गजल साँझमा देवुका ७ वटा गजल सन्तोषले साजबाजसहित प्रस्तुत गरेका थिए ।
बोकेर फूलपाती, स्यूँदोभरी सजाई
को धाउँदै छ दिलमा, छमछम चुरा बजाई
सन्तोषलाई बाँसुरीमा टेकबहादुर राना र तबलामा मिलन गिरीले साथ दिएका थिए । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, गण्डकी प्रदेशले आयोजना गरेको कार्यक्रम भव्य, सभ्य र उत्कृष्ट भएको समाजका महासचिव असफल गौतमले बताए ।
कार्यक्रमका संयोजक गजलकार, गजल अभियन्ता एवं समालोचक घनेन्द्र ओझाले गजलकार देवेन्द्र के. सी. ‘देवु’ र संगीतकार, गायक सन्तोष श्रेष्ठको छोटो परिचय दिँदै के. सी., श्रेष्ठ र आफू ‘नेपाली शास्त्रीय गजल गायनको स्वर्ण दशक, वि. सं. २०८०–२०९०’ अभियानमा रहेको र सोही अभियानको एउटा महत्त्वपूर्ण पाटो यो कार्यक्रम रहेको बताए ।
ओझाले यो कार्यक्रम पोखराको वा गण्डकी क्षेत्रका लागि मात्र नभएर नेपाल र नेपाली गजल/गजल संगीतकै लागि महत्त्वपूर्ण र ऐतिहासिक रहेको उल्लेख गरे ।
साहित्यकार सरुभक्तले नेपाली गजलमा पछिल्लो समय शास्त्रीयताको खोजी र अभ्यास बढिरहेका बेला यस्तो अर्थपूर्ण कार्यक्रम पोखरामा हुनुले गौरव अनुभूति भएको बताए । उनले अभियानलाई स्वागत गर्दै पूर्ण सफलताको कामना गरे । श्रेष्ठले यो कार्यक्रम गण्डकी प्रदेशमै पहिलो भएको सुनाए ।
लोक गायिका हरिदेवी कोइरालाले गजलकार देवुको साहित्यिक जीवनबारे उल्लेख गर्दै गजल गायन सफल र उत्कृष्ट रहेको बताइन् ।
गायक श्रेष्ठले यो अभियानको एक वर्ष पूरा भएको र यसबीचमै आधा दर्जन गजल गायनका कार्यक्रम सम्पन्न भइसकेका बताउँदै गजल गायन अभियान सातै प्रदेशमा आयोजना गर्ने उल्लेख गरे ।
अनेसासका केन्द्रीय सदस्य दुर्गा शाह ‘बाबा’ले यस्तो महत्त्वपूर्ण कार्यक्रम पोखरामा हुनु खुसीको खबर भएको बताउँदै देवुको साहित्ययात्राको सफलताको कामना गरे ।
प्रतिक्रिया 4