Comments Add Comment

पाकिस्तानको ग्वादरस्थित पाँचतारे होटलमा आक्रमण

२९ वैशाख, काठमाडौं । पाकिस्तानको ग्वादरस्थित एक पाँच तारे होटलमा बन्दुकधारीले आक्रमण गरेका छन् । बलुचिस्तान प्रान्तमा पर्ने ग्वादरस्थित पर्ल कन्टिनेन्टल होटलमा तीन जना बन्दुकधारीले गरेको आक्रमणबाट एक सुरक्षाकर्मीको मृत्यु भएको छ ।

होटलका प्रवक्ताका अनुसार रमजान र विदाको कारण होटलमा पाहुनाहरु थिएनन् । कर्मचारीहरु पनि कम थिए । यद्यपि होटलभित्र अझै पनि केही कर्मचारी रहेको अनुमान छ ।

अलगावादी संगठन बलोचिस्तान लिब्रेसन आर्मी -बीएलए)को माजिद ब्रिगेडले आक्रमणको जिम्मेवारी लिएको छ । बीएलएले चीन र विदेशी सहयोगलाई निशाना बनाउँदै आक्रमण गरेको जनाएको छ ।

बीएलए समूहसँग आबद्ध रहेको बताइने एक ट्वीटर अकाउन्टमा लेखिएको छ, चीन र पाकिस्तानमा अझै हमला गरिने छ ।

ग्वादर चीन र पाकिस्तानको बीच आर्थिक करिडोरको मुख्य केन्द्र हो जहाँ चीनका धेरै इन्जिनियर र कर्मचारी छन् । ग्वादरको पश्चिमी सीमा इरानसँग जोडिएको छ । यहाँको सीमा क्षेत्रमा कच्ची बाटो छ, त्यसैले बिभिन्न व्यक्तिहरुको आवत जावत भइरहन्छ ।

बलुचिस्तान पाकिस्तानको सबैभन्दा गरिब र कम विकसित प्रान्त हो । यहाँ लामो समयदेखि अलगाववादी अभियान चलिरहेको छ । बलुचिस्तानमा स्थानीय अलगाववादी संगठन (बीएलए)ले चिनियाँ सहयोगको विरोध गर्दै आएको छ ।

यहाँको अर्थव्यवस्था प्राकृतिक स्रोत खासगरी प्राकृतिक ग्यासमा आधारित छ । चीनको महत्वाकांक्षी बेल्ट एन्ड रोड परियोजना अन्तर्गत यहाँ चीनले ठूलो आर्थिक सहयोग गरेको छ ।

बन्दुकधारीले स्थानीय समयअनुसार साँझ ४ बजेर ५० मिनेटतिर होटलमा आक्रमण गरेका थिए । एक सुरक्षाकर्मीले होटलको ढोकामा बन्दुकधारीलाई रोक्न खोजेका थिए । त्यहाँ गोली चलेर उनको मृत्यु भयो ।

मिडिया रिपोर्टका अनुसार बन्दुकधारी अझै पनि होटलभित्र रहेको र सुरक्षाकर्मीहरु उनीहरुसँग लडिरहेका छन् । होटलभित्र केही कर्मचारीहरु पनि रहेको अनुमान छ । तर होटलभित्र रहेका व्यक्तिहरुको संख्या भने एकीन छैन ।

होटल अरब सागरको किनारमा एक चट्टानमाथि छ । यसको अर्कोतर्फ ग्वादर बन्दरगाह छ ।

बलुचिस्तानका गृहमन्त्री मीर जियाउल्लाहले बीबीसीलाई बताएअनुसार पुलिस, फ्रन्टिएर कोर र अन्य सुरक्षा एजेन्सीहरुले होटललाई घेरा हालेका छन् । गृहमन्त्री जियाउल्लाहको दाबीअनुसार होटलमा विदेशी नागरिक कोही पनि छैनन् ।

बलुचिस्तानमा आत्मघाती आक्रमण हुने सूचना आएको थियो तर ग्वादरमा त्यस्तो घटना नभएको उनले बताए । ग्वादरमै गत महिना आतंकवादी आक्रमणमा ११ सुरक्षाकर्मीसहित १४ जनाको मृत्यु भएको थियो ।

ग्वादरमा पाकिस्तानी तालिबान, बलुचिस्तान लिबरेसन आर्मी, सुन्नी मस्लिम चरमपन्थी समूह लश्कर ए झांग्वी लगायतका आतंकवादी समूह सक्रिय छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment