Comments Add Comment

बालुवाटार जग्गा प्रकरणः कति पानीमा छन् विष्णु पौडेल ?

२९ वैशाख, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव, पूर्वमन्त्री एवं बहालवाला सांसद विष्णु पौडेल बालुवाटार जग्गा प्रकरणमा विवादित बन्दै आएका छन् । पौडेलका छोरा नवीन पौडेलका नाममा बालुवाटारमा ८ आना  जग्गा फेला परेपछि उनी विवादमा तानिएका हुन् ।

यसवीचमा नेकपा महासचिव पौडेलले दुईपटक लिखित स्पष्टीकरण दिइसकेका छन् । साथै औपचारिक कार्यक्रमहरुमा बोल्दाखेरि पनि दोष प्रमाणित भए सजायँ भोग्न तयार रहेको र सरकारी जग्गा जोगाउने सरकारको अभियानलाई साथ दिने पौडेलले बताउँदै आएका छन् ।

मिडियालाई दिएका अन्तरवार्ताहरुमा पनि पौडेलले आफूले व्यक्तिको जग्गा किनेको हुँदा गल्ती नगरेको दाबी गर्दै आएका छन् ।

पौडेलको बचाउमा प्रधानमन्त्री केपी शर्मा ओली र सरकारमा प्रवक्ता एवं सूचना प्रविधिमन्त्री गोकुल बास्कोटा र भूमी व्यवस्थामन्त्री पदमा अर्यालले पनि सार्वजनिक अभिव्यक्तिहरु दिएका छन् ।

नेकपा महासचिव पौडेलले राजाको शासनका बेला व्यक्तिका नाममा रहेको जग्गा किनेको प्रधानमन्त्री ओलीको स्पष्टीकरण छ । सरकारका प्रवक्ता गोकुल बास्कोटा विष्णु पौडेलले गल्ती गरेको नभएर फसेको प्रतिक्रिया दिएका छन् । त्यस्तै मन्त्री पदमा अर्यालले सो जग्गा ५/६ जना व्यक्तिबाट किनबेच हुँदै पौडलका छोराका नाममा आइपुगेको बताएकी छिन् ।

आखिर बालुवाटारको जग्गा प्रकरणमा विष्णु पौडेलले कुनै बदनियत गरेको नभएर जग्गा खरिद गर्ने क्रममा उनी फसेका मात्रै हुन् त ? पौडेल पूर्णरुपमा पानीमाथि ओभानो छन् या अलिअलि भिजेका छन् ? प्रस्तुत आलेखमा हामीले यसबारे तटस्थ भावबाट विश्लेषण गर्ने प्रयास गरेका छौं ।

को हुन् विष्णु पौडेल ?

नेकपा महासचिव पौडेलका बारेमा चर्चा गर्दा उनको पृष्ठभूमि, इतिहास र आर्थिक स्थितिका बारेमा चर्चा गर्नैपर्ने हुन्छ ।

विसं २०१६ सालमा स्याङजाको पुतलीबजारमा जन्मेका पौडेल ०३५ सालदेखि तल्कालीन माले हुँदै एमाले र नेकपाको राजनीतिको शीर्ष तहसम्म आइपुगेका नेता हुन् । पञ्चायतकालमा जेलनेलसमेत भोगेका उनले भूमिगत समयमा पाल्पा, गुल्मी, अर्घाखाँची, नवलपरासी, रुपन्देही आदि जिल्लामा पार्टीको काम गरे । पौडेलले लुम्बिनी र महाकाली अञ्चल कमिटीको पनि नेतृत्व सम्हालेका छन् ।

०४७ सालदेखि पार्टीको केन्द्रीय सदस्य बनेका पौडेल ०५१ सालको मध्यावधि चुनावमा पाल्पाबाट प्रतिनिधिसभामा विजयी भए । ०६४ को पहिलो संविधानसभामा रुपन्देही- ४ बाट सभासद जिते । ०७० को चुनावमा सोही निर्वाचन क्षेत्रका डा. बाबुराम भट्टराईलाई चुनाव हराएर दोस्रोपटक सभासद बने । ०७४ सालको प्रतिनिधिसभा चुनावमा उनी रुपन्देही-२ बाट सांसद बनेका छन् र प्रतिनिधिसधभामा छन् ।

०५३ सालमा लोकेन्द्रबहादुर चन्दको मन्त्रिमण्डलमा युवा तथा खेलकुद मन्त्री बनेका पौडेल ०६५ मा प्रचण्ड नेृत्वको मन्त्रिमण्डलमा जलस्रोत मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए भने त्यसपछि झलनाथ खनालको नेतृत्वमा बनेको सरकारमा रक्षामन्त्री बने । ०७२ सालमा केपी ओलीको सरकारमा उनी अर्थमन्त्री बने ।

पौडेलको राजनीतिक चढाव मन्त्री पदमा मात्रै होइन, पार्टी संगठनमा पनि ०४६ सालपछि तीव्र गतिमा भएको देखिन्छ । माओवादीसँग पार्टी एकता हुनुअघिसम्म एमालेको उपमहासचिव रहेका पौडेल तत्कालीन महासचिव ईश्वर पोखरेललाई पछि पार्दै एकीकृत पार्टीको महासचिव बन्न सफल भएका छन् ।

सबै पक्षसँग मिल्न सक्ने, मिडियामा देखिने भन्दा पनि भित्री काम गर्न सिपालु रहेका पौडेलले पार्टी एकताका क्रममा प्रचण्डको समेत विश्वास जितेर महासचिव बन्न् सफल भएको नेकपाका नेताहरु बताउँछन् ।

कति छ त विष्णु पौडेलको सम्पत्ति ?

केपी ओली नेतृत्वको अघिल्लो सरकारमा रहेका बेला अर्थमन्त्री पौडेलले सार्वजनिक गरेको सम्पत्ति विवरण एकचोटि हेरौं-

ललितपुरको भैंसेपाटी आवास क्षेत्रमा छोरा नवीन पौडेलका नाममा ९ आना १ पैसा २ दाम जग्गा र त्यसमा निर्माण भएको एउटा घर । काठमाडौं ४, बालुवाटारमा छोरा नवीन पौडेलका नाममा ८ आना जग्गा । १६ तोला सुन । एभरेस्ट बैंकमा २१ हजार रुपैयाँ नगद मौज्दात । छोरा नवीनको राष्ट्रिय वाणिज्य बैंकमा ५७००, यती डेभलपमेन्ट बैंकमा १०००, ग्लोबल आइएमई बैंकमा ३३००० रुपैयाँ र कमनवेल्थ बैंक अफ अस्ट्रेलियामा ६१४ अस्ट्रेलियन डलर ।

बुहारी प्रमिता अधिकारीका नाममा ग्लोबल आइएमई बैंकमा ३३ हजार र कमनवेल्थ बैंक अफ अस्ट्रेलियामा १३ हजार अस्ट्रेलियन डलर मौज्दात ।

छोरा नवीन र बुहारी अधिकारी अहिले अस्ट्रेलियामा छन् । बुहारी नेपाली दूतावास अस्ट्रेलियामा शाखा अधिकृत छिन् । छोरा नवीनले अस्ट्रेलियन डलर २४ हजार पाँच सयमा कार खरिद गरेका छन् ।

पौडेलकी श्रीमती दोमाया पौडेलका नाममा एनडीइपी बैंकको तीन कित्ता सेयर छ । त्यसैगरी छोरा नवीनका नाममा क्यापिटल मर्चेन्ट बैंकमा ५२२ कित्ता, नेपाल लाइफ इन्स्योरेन्सको ५२२ कित्ता र दक्षिणकाली इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिजमा १२७५० कित्ता सेयर छ ।

छोरा नवीनले दुई लाख चुक्ता पुँजी भएको तिलोत्तमा होल्डिङ कम्पनी स्थापना गरेका छन् । तर, सञ्चालनमा आएको छैन । पौडेलले माइलस्टोन बचत तथा ऋण सहकारी संस्थामा ५० हजार र गौतम बुद्ध स्वास्थ्य सेवा सहकारी बुटवलमा २५ हजार रुपैयाँ लगानी गरेका छन् । छोरा नवीनले राष्ट्रिय वाणिज्य बैंकबाट २० लाख १६ हजार ओभर ड्राफ्ट ऋण लिएका छन् ।

पौडेल स्वयंले बुटवलका सतीश कसौधनबाट १० लाख रुपैयाँ ऋण लिएका छन् ।

अब पौडेलको सम्पत्ति विवरणबारे अर्को पाटोबाट केलाऔं-

नेकपा महासचिव पौडेलले ०६१ साल असोज २४ गते नवलपरासी जिल्लाको बर्दघाट १० भुताहामा पूर्व-पश्चिम राजमार्ग नजिकै श्रीमतीका नाममा रहेको ८ कठ्ठा जग्गा बेचेको र त्यसैबाट बालुवाटारमा किनं ३०९ र ३१५ का कुल ८ आना जग्गा खरिद गरेको आफ्नो लिखित स्पष्टीकरणमा बताएका छन् ।

भुताहाको सो ८ कठ्ठा जग्गा पौडेलपत्नीबाट उमादेवी ढकालका नाममा सरेको छ । उमादेवी उनै जग्गाधनी हुन्, जसका नाममा हरेको बालुवाटारको जग्गा विष्णु पौडलका छोरा नवीन पौडेलका नाममा सरेको छ । यो परिघटनालाई हेर्दा बालुवाटारको जग्गा र भुताहाको जग्गा पौडेल र ढकाल परिवारले साटासाट गरेको देखिन्छ र यस विषयमा दिएको प्रतिक्रियामा ‘अँ त्यस्तै हो’ भनेर स्वीकार गरेकै पनि देखिन्छ ।

बर्दघाटको उक्त ८ कठ्ठा जग्गाचाहिँ कहाँबाट आयो त ? यो पौडेलको पुख्र्यौंली सम्पत्तिकै एक हिस्सा थियो । स्याङजाबाट पौडेल परिवार रुपन्देहीको रामापुरमा बसाईँ सरेको थियो, त्यहाँ उनीहरुको दुई विगाह जमीन थियो । त्यही जमीन अंशवण्डा गरेपछि आएको आर्जनबाट पौडेलले भुताहामा १३ कठ्ठा जग्गा किनेका थिए । त्यसमध्ये ५ कठ्ठा ०५७ सालतिरै विक्री गरिएको थियो भने त्यसैबाट बचेको ८ कठ्ठा ०६१ सालमा बालुटाारको ८ आनासँग सट्टापट्टा गरिएको हो । यसरी हेर्दा बालुवाटारमा रहेको ८ आना जग्गालाई पौडेलको पुर्ख्यौली सम्पत्तिकै एक अंश मान्नुपर्ने हुन्छ ।

तर, कथा यतिमै सिद्धिँदैन । यहाँनेर सुकुम्बासीको प्रकरण पनि अगाडि आउँछ ।

रामापुर र भुताहामा जग्गा हुँदाहुँदै पौडेल परिवार बुटवलको दीपनगरस्थित सुकुम्बासी बस्तीमा बसोबास गर्न थाल्यो । र, पौडेलका छोरा नवीनले सुकम्बासी समस्या समाधान आयोगबाट दीपनगरको घरजग्गाको धनीपूर्जा प्राप्त गरे ।

नक्कली सुकम्बासी बनेर प्राप्त गरेको जग्गा र त्यहाँ बनेको घर बेचेर पौडेलले कलंकीमा जग्गा जमीन जोडे । र, अहिले त्यही कलंकीको बेचेर भैंसेपाटी आवास क्षेत्रमा घर जग्गा किनेर पौडेल परिवार बसोबास गर्दै आएको छ ।

यसरी हेर्दा सुकुम्बासीका नाममा गरिएको आर्जनबाट भैंसेपाटीको घरजग्गा जोडिएको देखिन्छ भने स्याङ्जाको जमीन बचेर भुताहामा किनेको जमीनबाट चाहिँ बालुवाटारको दुई कित्ता घडेरी जोडेको देखिन्छ ।

मिडियामा आएको विवरण अनुसार ०६४ साल ताका विष्णु पौडेलले नन्दीकेशर ढकालको १ कठ्ठा जग्गा १३ लाख रुपैयाँका किनेका थिए । त्यहाँ उनले सानो घर पनि बनाए । र, पछि ०६९ सालतिर करिब ८० लाख रुपैयाँमा विक्री गरे ।

माथिका विवरणहरु हेर्दा एकातर्फ पौडेलले सुकुम्बासी बस्तीबाट कलंकी हुँदै जायजेथा बढाएको देखिन्छ भने अर्कोतर्फबाट सुख्खनागरको जग्गाबाट पनि एकाध वर्षमै लाखौं नाफा गरेको देखिन्छ । त्यो सम्पत्तिले नपुगे अष्ट्रेलियामा रहेका छोरा बुहारीको आर्जनबाट पनि उनले भैंसेपाटीमा घर किन्न सक्ने हैसियत बनाएनन् होला भन्न सकिँदैन । तर, यसमा पनि केही प्रश्नहरु उठाउने ठाउँ अवश्य देखिन्छन् ।

हुन त नेकपा महासचिव विष्णु पौडेललाई पनि निजी सम्पत्ति आर्जन गर्न र घर जग्गा किन्न अधिकार छ । उनका छोरा नवीनलाई पनि सम्पत्तिको अधिकार नहुने प्रश्नै भएन । तर, यहाँ केही गम्भीर प्रश्नहरु चाहिँ जरुर उठ्छन् ।

नेकपाका शीर्षतहका नेता विष्णु पौडेलले आफूमाथि उठेका प्रश्नहरुको लिखित स्पष्टीकरण त दुई-दुईपटक दिइसकेका छन् । तर, ती स्पष्टीकरणले नसमेटेका केही प्रश्नहरु यस्ता छन्-

१. सुकुम्बासीका नाममा हडपेको जमीन फिर्ता गर्नुपर्दैन ?

गत वैशाख ६ गते महासचिव पौडेलले सार्वजनिक गरेको दोस्रो प्रेस विज्ञप्तिको २ नम्बर बुँदामा यस्तो भनेका छन्-

‘नेपाल कम्युनिष्ट पार्टीको वर्तमान सरकारले सरकारी तथा सार्वजनिक सम्पत्तिको खोजी गर्ने, प्राप्त गर्ने, संरक्षण गर्ने र राष्ट्रको हितमा सदुपयोग गर्ने कार्यलाई तीव्र गतिमा अगाडि बढाइरहेको छ । यसका लागि राज्यका सम्बिन्धत संयन्त्रहरु परिचालित भएका छन् । खोजी तथा छानविनका कार्यहरु भइरहेका छन् । गैर कानूनीरुपमा दर्ता भएको जग्गाको दर्ता बदर गरी नेपाल सरकारको नाममा कायम गर्न, गैर कानूनीरुपमा जग्गा दर्ता गर्ने कार्यमा संलग्न व्यक्तिहरुलाई कानूनवमोजिम कारवाही गर्न र सरकारी तथा सार्वजनिक जग्गा संरक्षण गर्ने प्रणालीलाई सुदृढ बनाउन वर्तमान सरकारले सञ्चालन गरिरहेको अभियानलाई सहयोग पुर्‍याउनु मैले मेरो कर्तव्य ठानेको छु ।’

तर, पौडेलमाथि प्रश्न उब्जन्छ- बुटवलको दीपनगरमा सार्वजनिक जमीन तपाईँका छोरा नवीन पौडेलका नाममा दर्ता हुनु सरकारी जमीनको हिनामिना हो कि हैन ? सुकुम्बासी नै नभएको व्यक्तिले सुकुम्बासीका नाममा पूर्जा लिएर हडपेको जमीन सरकारका नाममा फिर्ता गर्नुपर्छ कि पर्दैन ? आफैं नक्कली सुकम्बासी बनेर सरकारी जमिन व्यक्तिका नाममा दर्ता गराउने अनि गैरकानूनीरुपमा दर्ता भएको जग्गाको दर्ता बदर गरी नेपाल सरकारको नाममा कायम गर्न, गैर कानूनीरुपमा जग्गा दर्ता गर्ने कार्यमा संलग्न व्यक्तिहरुलाई कानूनवमोजिम कारवाही गर्न तयार छु भन्न नैतिकताले कसरी सुहाउँछ ?

पौडेलले आफ्नो स्पष्टीकरणको तेस्रो बुँदामा भनेका छन्ः

‘सरकारी जग्गा हडप्ने दुषित मनसायले काजग श्रेष्ता मिलाई किर्ते, जालसाजी वा गैर कानूनी कार्य गरी जग्गा दर्ता गर्ने वा गराउने कुनै कार्यमा म र मेरो परिवारका कुनै सदस्यको प्रत्यक्ष वा अप्रत्यक्ष संलग्नता नरहेको र कहिल्यै नरहने पनि अवगत गराउन चाहन्छु । मेरो निम्ति यस्तो अपराधजन्य गतिविधि सोच्नसमेत नसकिने विषय हो ।’
प्रश्न- उसोभए पौडेलज्यू, दुटवल दीपनगरमा सरकारी जमिन सुकम्बासीका नाममा तपाईको छोराको नाममा दर्ता भएको प्रकरणचाहिँ के हो त ? यसबारेमा चाहिँ स्पष्टीकरण दिनुपर्दैन ?

२. पौडेल फसेका हुन् कि या भुमाफियासँग लसपस ?

बालुवाटारको सरकारी जग्गा व्यक्तिका नाममा बनाएर विष्णु पौडेल लगायतका व्यक्तिलाई बेच्ने शोभाकान्त ढकाललाई त्रिताल आयोगले ‘भूमाफिया’ भनेको छ । तर, यिनै भूमाफियासँग नेकपा महासचिव पौडेलको दशकौं लामो साँठगाँठ देखिँदै आएको छ । बालुवाटारमा जग्गा किन्नेबेलामा मात्रै पौडेल र ढकालको चिनजान भएको होइन । उनीहरुको सम्बन्ध जग्गा किन्नेबेलाको मात्रै होइन ।

भूमाफिया ढकाललाई पौडेलले संविधानसभाको समानुपातिक उम्मेद्वार बनाउन जोड गर्नु र ढकालले उनलाई बालुवाटारको ८ आना जग्गा उपलब्ध गराउनुमा केवल ‘गोरु बेचेको साइनो’ छ भन्न सकिँदैन । त्यसैले भूमाफियासँगको पौडेलको लामो लसपस छानविनको विषय हो ।

एकछिनलाई मानौं, बालुवाटारको जग्गा विष्णु पौडेलले पैत्रिक सम्पत्ति बेचेर किने या सट्टा पट्टा गरे होलान्, तर-तर यो घटनामा पौडेललाई फसाइएको भन्दा ढकाल र पौडेल परिवारको पुरानो मित्रता यसमा झल्किन्छ ।

हो, एनआरएनले जसरी बालुवाटारको जग्गा भाटभटेनीका साहु मीनबहादुर गुरुङमार्फत् किन्यो, त्यसमा एनआरएन फस्यो भन्न सकिन्छ । तर, शोभाकान्त ढकाल र विष्णु पौडेलको हकमा फसेको भन्न सकिँदैन । भूमाफियासँग पौडेलको पुरानो सम्बन्ध नभएर जग्गा किनबेचको मात्रै सम्बन्ध भएको भए पौडेललाई फसेको भन्न सकिन्थ्यो ।
ढकाल र पौडेलको लसपस राजनीतिक दलका नेताहरु कसरी माफियाको सेवामा लाग्छन् भन्ने कुराको प्रमाण होइन र ? यसको जवाफ पनि पौडेलको स्पष्टीकरणमा छैन ।

विष्णु पौडेलका तीन विकल्प-

अब विष्णु पौडेलका सामु तीनवटा विकल्प छन्ः

एक- सबैभन्दा पहिले त उनले बुटवल दीपनगरस्थित सुकुम्बासी बस्तीको जग्गा छोराका नाममा गराएको विषयमा स्पष्टीकरण दिनुपर्छ । र, नक्कली सुकुम्बासी बनेर लिइएको जग्गाबाट गरेको आयआर्जन सरकारलाई फिर्ता गर्ने घोषणा गर्नुपर्छ ।

दुई- भुमाफिया ढकालसँग गर्दै आएको लामो संसर्ग र जग्गा साटासाट कारोबारका लागि सार्वजनिकरुपमा गल्ती स्वीकार्दै क्षमा माग्नुपर्छ । आगामी दिनमा यसरी दलालहरुसँग उठबस नगर्ने प्रतिवद्धता जनसमक्ष गर्नुपर्छ ।

तीन- विष्णु पौडेलले ‘खरीद’ गरेको बालुवाटारको सरकारी जग्गा भूमाफियाले आफ्नो नाममा पारेको जग्गा हो भन्ने प्रमाणित भइसकेको छ । यो अवस्थामा अनेकन तर्क नगरिकन पौडेलले उक्त जग्गा सरकारलाई फिर्ता गर्ने स्वघोषणा गर्नुपर्छ । पौडेलले नै यस्तो घोषणा गर्ने हो भने बालुवाटारको जग्गा सरकारीकरण गर्नका लागि सहजीकरण हुनेछ । कम्युनिष्ट नेताहरु निजी सम्पत्तिलाई राष्ट्रियकरण गर्नुपर्छ भन्छन् । त्यसैले विष्णु पौडेलले बालुवाटारको सम्पत्ति राष्ट्रियकरणको स्वघोषणा गर्नु वाञ्छनीय हुन्छ । भैंसेपाटीमा उनको घरजग्गा छँदैछ, अब किन चाहियो त्यो ८ आना ?

के यति नैतिक सहास विष्णु पौडेलले गर्न सक्लान् ?

अन्यथा, सरकारी जमीन सुरक्षा गर्ने सरकारको कारवाहीमा साथ दिन्छु भन्ने पौडेलको प्रतिवद्धता एउटा पाखण्ड मात्रै सावित हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment