Comments Add Comment

प्रतिनिधिसभाका सांसद भन्छन्- गाह्रो छ हजुर !

चन्दा दिनैपर्‍यो, पुराणमा र पास्नीमा जानैपर्‍यो !

Photo Credit : onlinekhabar/File Photo

२८ वैशाख, काठमाडौं । प्रदेश १ अन्तरगत पर्ने निर्वाचन क्षेत्रबाट चुनाव जितेका एकजना संघीय सांसद अघिल्लो साता काठमाडौंमा डेरा सर्न खोजिरहेका थिए । संसद भवनसम्म हिँडेर जान सकिने गरी बानेश्वर एरियामा एउटा फ्ल्याटको भाडा मासिक २५ हजार भन्दा बढी पर्ने सुनेपछि उनले हिम्मत हारेर भने- भैगो, टाढै बस्छु र उतैबाट धाउँछु ।

हामीले सोध्यौं- तपाई त प्रतिनिधिसभाको सांसदजस्तो मान्छे, मासिक २५ हजार रुपैयाँ पनि कोठाभाडा तिर्न सक्नुहुन्न त ?

माननीयले लामो सास तान्दै जिन्दगीको हिसाब सुनाए- ‘मासिक ५०/६० हजार रुपैयाँले काठमाडौंमा चल्न नसकिने रहेछ । हामीले पाउने तलबबाट पार्टीलाई लेबी काट्नैपर्‍यो । जिल्लाबाट आउने कार्यकर्ताहरुलाई खाने-बस्ने व्यवस्था गर्नैपर्‍यो । कतिपयलाई र्फकनेबेलामा बाटो खर्च पनि दिनैपर्‍यो नभए रिसाइहाल्छन् । भेटघाटहरु गर्न रेस्टुरेन्ट छिर्दा तिर्ने चिया-कफीको खर्च दैनिक हजार रुपैयाँ भन्दा कम हुँदैन ।’

यति भनिसकेपछि ती माननीयले पर्सबाट केही रसिदहरु निकालेर देखाउँदै भने, ‘यी हेर्नुहोस् चन्दा दिएको रसिद ! आफ्नो निर्वाचन क्षेत्रको भजन मण्डलीलाई ५ हजार, क्लबलाई ५ हजार, मन्दिरलाई ५ हजार, क्यान्सर पीडितलाई ५ हजार…।

माननीयज्यूले त यति सहयोग गरिदिनैपर्‍यो पनि भन्छन्, दिएन भने तिमीलाई बेकार जिताइएछ भन्दै गाली गर्छन् । पार्टी नै छाडेर अर्कोतिर लाग्लान् भन्ने डर हुन्छ ।

काठमाडौंमा डेरा बसिरहेका सांसदको दुःख यतिमै सीमित छैन । संसदमा बैठक चलिरहेका बेला जिल्लामा बोलावट हुन्छ । स्थानीय तहका सार्वजनिक महत्वका कार्यक्रमहरुमा त ठीकै छ, स्थानीय नेताले आफ्ना छोराछोरीको पास्नी, ब्रतबन्ध इत्यादिमा पनि बोलाउने गर्छन्, गएन भने रिसाउँछन्, गयो भने आधा महिनाको तलब जिल्ला धाउँदै सिद्धिन्छ ।

यो पनि पढ्नुहोस सांसदको दुःख ! एक वर्षमा चार लाख ऋण

जनप्रतिनिधिलाई घरको निजी जमघटमा बोलाएर फेसबुकमा तस्वीर पोष्ट गर्ने अनि समाजमा फुईँ लगाउने सामाजिक मनोरोगको कोपभाजनमा जनप्रतिनिधिहरु पर्न थालेको उनको बुझाइ छ । यस्तो नभएको भए कार्यकर्ता किरिया बसेका ठाउँमा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित माला लगाएर पुगेको तस्वीर भाइरल हुने नै थिएन । मन्त्री पण्डितको बेइज्यती हुने नै थिएन ।

मागको फेहरिस्त यति लामो हुन्छ कि एउटा सांसदले त्यो पूरा गर्ने क्षमता नै राख्दैन । अनि उही आरोप वर्षिन्छ, खोई माग पूरा गरेको ? प्रतिपक्षी दलको सांसद भए त अर्को पार्टीको सरकार छ भन्दियो सकियो, सत्ता पक्षकाले त त्यसो भनेर उम्किन पाउँदैनन्

आफ्ना कार्यकर्तालाई खुशी बनाउन सांसदले पैसाको खोलो बगाउनुपर्ने र त्यसका लागि कुनै न कुनै स्वार्थ जोडिएको ब्यापारी वा ठेकेदारसँग निहुरिनुपर्ने बाध्यतामा सांसद परिरहेको उनले दुःखेसो सुनाए ।

आफ्नै पार्टीका कार्यकर्ताले नै नेता र जनप्रतिनिधिलाई भ्रष्ट बन्न बाध्य पारिरहेको उनको बुझाइ छ । एउटा सांसद कसरी बाँचिरहेको छ भन्ने कुरा कार्यकर्ताले बुझिदिनुपर्ने उनी बताउँछन् ।

यसका साथै सांसदहरुको समस्यालाई ध्यान दिँदै उनीहरुले पाउने तलबको प्रतिशत कट्टा गरेर पार्टीले लिने चलन पनि कांग्रेस, कम्युनिष्ट, राप्रपा लगायतका सबै पार्टीले खारेज गर्नुपर्ने उनी बताउँछन् । तलबले पुगेन भनेर सांसदको तलब बढाउन माग गर्ने अवस्था छैन । किनभने, त्यो अलोकप्रिय निर्णय हुनेछ ।

तर, ती माननीय आफ्नो नाम मिडियामा आओस् भन्ने चाहँदैनन् । भन्छन्- ‘मैले नै यस्तो गुनासो गरेको हो भन्ने थाहा पाए भने कार्यकर्ताहरु रिसाइहाल्छन् नि !’

तर, राजनीतिक जीवनको उत्तरार्धमा आइपुगेका ती माननीयले आफ्नो मनको कुरो सुनाए, ‘चुनाव लड्दाखेरिकै ऋण त्यसै छ, बेकारमा सांसद भइएछ जस्तो लाग्छ । अब अर्कोपालि टिकट पाए पनि चुनाव लड्दिनँ ।

काठमाडौंमा घर नहुने सांसदको साझा दुःख

माथि उल्लेखित व्यथा कुनै एकजना सांसदको मात्रै होइन, हामीले प्रतिनिधिसभाका धेरैजना सांसदहरुलाई सोध्दा उनीहरुले एकै प्रकारको पीडा सुनाए । तर, मतदाता र कार्यकर्ता रिसाउने डरले उनीहरु औपचारिकरुपमा भने प्रस्तुत हुन मानेनन् ।

काठमाडौंमै घर हुने र प्रशस्त सम्पत्ति भएका सांसदहरुलाई त कुनै दुःख नहोला, तर विकट जिल्लाहरुबाट राजधानीमा आएर बसोबास गरिरहेका सांसदहरुको दुःखचाहिँ अलि जटिल प्रकारकै देखिन्छ ।

सांसदहरुका बारेमा आम धारणा छ, उनीहरु भत्ता मात्रै खान्छन् काम केही गर्दैनन् । उनीहरुमाथि लाग्ने अर्को आरोप हो, चुनाव जितेपछि फर्केर गाउँ जाँदैनन्, चुनावअघि गरेका माग बिर्सिन्छन् । र, अर्को आरोप छ- मन्त्री र सांसदहरुले आफ्नो सुविधा देशले नधान्ने गरी बढाउँदै लगिरहेका छन् ।

तर, जिल्लाबाट आएका कार्यकर्ता काठमाडौंमा पाल्नुपर्ने, जिल्लावासीले बोलाएका ठाउँमा निम्तो मान्न जानैपर्ने, मठ मन्दिरदेखि खेलकुद प्रतियोगितासम्मलाई चन्दा दिनैपर्ने लगायत अनेकन बन्धनमा जेलिएका छन् उनीहरु । तर, कोही पनि यस विषयमा खुलेर बोल्न सक्दैनन् ।

सांसदहरुमाथि जिल्लावासीको दवाब सबैभन्दा बढी बजेट भाषण अगाडि हुने गर्छ । उनीहरुले लिएर आउने मागको फेहरिस्त यति लामो हुन्छ कि एउटा सांसदले त्यो पूरा गर्ने क्षमता नै राख्दैन । अनि उही आरोप वर्षिन्छ, खोई माग पूरा गरेको ? प्रतिपक्षी दलको सांसद भए त अर्को पार्टीको सरकार छ भन्दियो सकियो, सत्ता पक्षकाले त त्यसो भनेर उम्किन पाउँदैनन् ।

हिजोआज सिंहदरबार परिसरमा सांसदहरुको चहल-पहल बाक्लिएको छ । बजेट आउने दिन नजिकिँदै गर्दा माननीयहरु मन्त्रालयका ढोका चहारिरहेका छन् । कनिष्ट कर्मचारीलाई पनि नमस्कार ठोकिरहेका छन् । मुलुक संघीय संरचनामा गएपछि उनीहरुलाई बजेट पार्न थप चुनौति भएको छ ।

सिंहदरबार परिसरमा भेटिएका नेपाली कांग्रेसका एक सांसद भन्छन्, ‘हजुर गर्दैछौं, ५ वर्ष छ, किन अहिले न आत्तिनुभएको भनेर हात जोडेर यसरी नै बुझाउँछौं । बुझ्नेलाई ठीकै छ, कतिपयले त बुझ्दै बुझ्दैनन् ।’

यसैसाता काठमाडौंमा एकजना मन्त्रीलाई कार्यकर्ताले सोधे- मन्त्रालयमा गएको थिएँ, हजुरसँग भेट भएन । जिल्ला जानुभएको रहेछ । मन्त्रीज्यु जिल्लातिर कति गइरहनुभएको ?

मन्त्रीले ठट्टा मिश्रित भावमा भने, जिल्लाका साथीभाइले बोलाउँछन्, जानैपर्‍यो । पास्नीसम्म गइदिन्छु, तर न्वारानमा चाहिँ नबालाओ है, पुरोहितबाटै काम चलाओ भन्ने गरेको छु !

कांग्रेस सांसद प्रकाश रसाइली स्नेहीले चाहिँ जनताका लागि काम गर्दा अप्ठेरो महसुस नभएको बताए । यति भन्दाभन्दै उनले आफैंले भोगेको एउटा प्रसंग सुनाए-

‘एकपटक मैले मेरी छोरीलाई चामल किन्न पठाएँ, मैले सधैँ खाने चामल पसलमा रहेनछ, पैसा भएर पनि त्योभन्दा महंगो चामल नलिई मेरी छोरी फर्किई । फरर फुल्ने चामलको भात त्यो दिन खाएको भए सांसद भएपछि चामल नै अर्को खान थाल्यो भन्छन् भन्ने छोरीलाई लागेछ ।

सांसदहरु पैदल हिँडेको देखे भने लु हेर त सांसद भएर पनि पैदल हिँडेको भनेर गिज्याउँछन् । कार चढ्यो भने तिनैले भन्छन्- हिजोसम्म चप्पल पड्काउनेहरु अहिले कार चढ्ने भए । भ्रष्टाचार गरेरै त होला नि ।

प्रदेश १ का एक सांसदले हामीलाई सुनाएको व्यथा यस्तो छ-

मेरो निर्वाचन क्षेत्रमा केहीअघि महापुराण आयोजना गरिएको थियो, त्यहाँ जसले धेरै दक्षिणा दियो, उसलाई बोकेर घुमाउने व्यवस्था रहेछ । मलाई पनि पुराण आयोजक समितिले बोलाएपछि जानैपर्‍यो । मेरै कम्युनिष्ट पार्टीका साथीहरु पनि पुराण आयोजक समितिमा हुनुहुन्थ्यो । म जाने दिन दान गर्ने ठूलो प्रतिस्पर्धा चलिरहेको रहेछ । मानिसहरुले १ लाखसम्म दान दिने घोषणा गरिसकेका रहेछन् ।

म गएपछि सबै मेरो पछिपछि लागे । मैले पूजा अर्चना गरें । दक्षिणा लेखाउनुपर्छ भन्ने कुरा आयो । गोजीमा कसो त्यस दिन ५ हजार रुपैयाँ बोकेको रहेछु । त्यो सबै दक्षिणामा लेखेँ । तर, मैले दिएको ५ हजार थोरै भयो भनेर विपक्षी पार्टीका साथीहरु मात्रै नभएर मेरै पार्टीका साथीहरु पनि असन्तुष्ट हुनु भएको पछि मैले बुझेँ । म गएको अघिल्लो दिन अर्को पार्टीको साथीले १ लाख रुपैयाँ दिनुभएको रहेछ ।

नाम नखोल्ने शर्तमा हामीलाई केही सांसदले यस्तो पीडा सुनाए-

-सानोदेखि ठूला धेरै कार्जेका लागि निम्ता आउँछन् । दक्षिणा, उपहार लैजानैपर्‍यो । फेरि काठमाडौंदेखि नै जाउआउ गर्नुपर्दा थप खर्च भइहाल्छ । महिनैपिच्छे यस्ता कार्यक्रम धेरै पर्दा आर्थिक दायित्व बढेको छ ।

-अस्ति भर्खरै एउटा पास्नीमा गएँ, एक सय रुपैयाँ दक्षिणा दिएको त सांसद भएर नि एक सय दिएको भन्दै कुरा काटिरहेको सुनेँ । साना-साना कार्यक्रममा पनि उपस्थित नभए मतदाताले चित्त दुखाउँछन् । एउटा टोलस्तरीय फुटबल टुर्नामेन्ट उद्घाटन गर्न नगएका कारण त्यहाँका युवा मतदाता रुष्ट भएका छन् ।

सांसदले नीति बनाउने कि विकास गर्ने ?

सांसदहरु भनेका जनताले चुनेर पठाएका प्रतिनिधि हुन् । उनीहरुको जिम्मेवारी भनेको नीति निर्माण गर्ने हो, तर जनताले उनीहरुबाट विकासको अपेक्षा राख्छन् । त्यतिमात्रै होइन, जागिरमा भनसुन, कलेजमा भनसुन र अस्पतालमा भनसुनदेखि म्यानपावरमा भनसुन समेतका भनसुनहरु सांसदले गरिदिनुपर्छ ।

मेरो घरछेउको बाटो पिच कहिले हुन्छ ? खोलामा पुल बनाउने भनेको ५ वर्ष भइसक्यो, खै कहिले बन्छ ? यस्तै प्रश्नहरु हुन्  प्रतिनिधिसभाका सांसदहरुले गाउँ जानासाथ सामना गर्नुपर्ने ।

तपाईहरुको काम विकास गर्ने हो कि कानून बनाउने ? भन्ने प्रश्नमा स्वतन्त्र सांसद छक्कबहादुर लामा भन्छन्, ‘केही न केही विकास नगरे त अर्कोपटक जनताले कहाँ चुनाव जिताउँछन् र ! फेरि गाउँ जाँदा खाली हात जान पनि मिल्दैन ।’

सांसदको काम कानून बनाउने भए पनि विकास निर्माणका काममा अग्रसरता देखाउनैपर्ने उनी बताउँछन् । लामा भन्छन्- ‘समानुपातिक सांसद जस्तो टीका लगाएर बनेको भए समस्या थिएन, हामीलाई त गाह्रो छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment