Comments Add Comment

‘उपेन्द्रजीले देशलाई जवाफ दिनुपर्छ’

संघीय समाजवादी फोरम र नयाँ शक्तिबीच एकता गरी समाजवादी पार्टी गठन गरेको छ । आन्दोलनमा मात्र होइन, चुनावमा सहकार्य गरेको राजपा र तत्कालनी फोरम प्रदेश २ मा सरकार छ । तर, फोरमले नयाँ शक्तिसँग एकता गरेपछि फेरिएको परिस्थितिबारे राजपा अध्यक्ष मण्डल सदस्य राजेन्द्र महतोसँग श्रवण देवले गरेको कुराकानीः-

राजपाकै सहयात्री दल फोरमले नयाँ शक्तिसँग एकता गरेको सन्दर्भमा के छ धारणा ?

सुरुवाती दौरमा एउटा वैकल्पिक शक्ति निर्माण गर्ने कुरा भएको थियो । कांग्रेस, कम्युनिष्टबाहेक सबै शक्तिलाई एकताबद्ध भएर देशलाई विकल्प दिने कुरा भएको थियो । तर उनीहरु यो अभियानमा लाग्दै लागेनन्, तयार नै भएनन् । पार्टी निर्माण गर्न काम गरे । वैकल्पिक शक्ति निर्माणमा कामै गरेनन् ।

अर्काे कुरा, संविधान संशोधन, अधिकार, पहिचान, सुशासन समृद्धिको एजेन्डा छुट्यो । प्रतिपक्षमा रहेर संघर्ष गर्ने कुरा भएको थियो, तर उहाँहरु सरकारसँग जोडिनुभयो । अर्थात जुन काम गर्नुपर्ने थियो, त्यसको उल्टो भयो । यद्यपि दुई पार्टी स्वतन्त्र छन्, त्यसमा मे केही भन्दिनँ ।

संविधान संशोधनका लागि ६ महिना कठोर आन्दोलन भयो, थुप्रै मानिस शहीद भए । त्यतिबेला फोरम पनि आन्दोलनमा थियो । तर, सरकारको नीति कार्यक्रममा संविधान सर्वस्वीकार्य रहेको र यसमा कुनै विमति छैन भनेर लेखिँदा पनि उपेन्द्रजीले समर्थन गर्नुभयो । यो त सैद्धान्तिक विचलन हो ।

हिँजो संविधान पुनर्लेखनको कुरा गर्नुहुन्थ्यो, आज उहाँ आफैंले संविधानमा विमति छैन भनेर हस्ताक्षर गर्नुभयो । यो के भयो ? उपेन्द्रजीले देश र दुनियाँलाई जवाफ दिनुपर्छ ।

तर, पार्टी एकता गर्न त तपाईंहरुलाई पनि आहृवान गरिएको थियो

हो सही कुरा । वैकल्पिक शक्ति निर्माणकै लागि बैठक भएको थियो, जसमा हामीलाई पनि बोलाइएको थियो । त्यो बैठकमा चार शक्ति थिए- राजपा, जनमुक्ति पार्टी, फोरम र नयाँ शक्ति । प्रथम चरणमा चार शक्ति र त्यसपछि सबै शक्तिलाई समेट्ने कुरा भएको थियो । तर उहाँहरु त्यता लाग्नु भएन । आफ्नो पार्टी निर्माणतिर लाग्नुभयो ।

सबैभन्दा ठूलो कुरा नीति, सिद्धान्त र आदर्शका विषयमा सहमति हुनुपर्छ । सरकार छाड्नुपर्‍यो, संविधान संशोधनको मुद्दामा आउनुपर्‍यो, संघर्षमा आउनुपर्‍यो नि । देशलाई विकल्प चाहिएको छ भने हिमाल, पहाड, मधेसका जनताकोे एजेन्डालाई अगाडि बढाउनुपर्‍यो नि । यो सबै कुरालाई छाडेर पार्टी एकता गर्नुको कुनै अर्थ छैन ।

हामीले पनि ६ वटा पार्टी एकता गरिसकेका छौं । सातौं, आठौंसँग पनि एकता हुन्छ । एकीकरण त हुँदै गर्छ नि । तर, वैकल्पिक शक्ति निर्माण गर्ने प्रयासबाट उहाँहरु पछि हट्नुभयो ।

उपेन्द्र यादवले संविधान संशोधनको मुद्दालाई अगाडि बढाउन चाहेन, सत्ता छोड्न चाहेन भन्ने तपाईंहरुको आरोप हो ?

हेर्दा त त्यही देखिन्छ । जुन मिसनका लागि बैठक बसेको थियो, त्यही मिसनमा हिँडेको भए त सरकार छोड्नुपर्थ्यो । जुन नीति र कार्यक्रममा संविधानमा कुनै विमति छैन भनिएको छ, त्यो पास हुँदैनथ्यो । संविधानमा सर्वस्वीकार्य छ भन्ने थप्पा लाग्दैनथ्यो । अब त यो संविधानलाई बाबुरामले पनि थप्पा लगाइदिए । उपेन्द्रले पनि थप्पा लगाइदिए । त्यस्तो अवस्थामा राजपा कसरी सहमत हुन्छ ? जुन मुद्दाका लागि ६ महिना संघर्ष गर्‍यो, त्यसलाई छाडेर खाली पार्टी तोड र जोड अभियानमा लाग्न सक्दैन ।

प्रधानमन्त्रीको रबैया यस्तै रहृयो भने यो संविधान पनि कोल्याप्स हुँदा कुनै आश्चर्य हुँदैन । जनताको मागअनुसार संशोधन, परिमार्जन जरुरी हुन्छ । नगरिए फ्याँकिन्छ

तर उहाँहरु मिलेपछि पनि पहिलो बैठकबाटै राजपालाई वार्तामा आहृवान गरेको छ । अब समाजवादी पार्टीसँग मिल्नुहुन्छ कि नाइँ ?

हेर्नुस्, नीति, सिद्धान्त, आदर्श मिल्यो सबैथोक हुन्छ । मिलेन भने केही हुँदैन ।

तपाईंले भनेको जस्तो नीति, सिद्धान्त र आदर्श मिल्ने अवस्था छ कि छैन त ?

नेपाली जनतालाई विकल्प चाहिएको छ । नयाँ शक्ति निर्माण आवश्यक छ । त्यो शक्तिको आधारमा संविधान संशोधनसहित समृद्धि, सुशासनको सवालमा वैकल्पिक शक्ति निर्माणको अभियानमा हामी जतिखेर पनि सहयोग गर्न तयार छौं । तर, अहिलेको यथास्थितिमा एकता हुन सक्दैन ।

उनीहरुले के गरे भने एकता हुन्छ त ?

यो विषयमा गृहकार्य भएको छैन । हामी महाधिवेशनको तयारीमा लागेका छौं । कात्तिकमा गर्ने भनेर मिति तय भएको छ र अब हाम्रो पूरा ध्यान, ऊर्जा महाधिवेशनमै केन्दि्रत हुन्छ ।

तथापि वैकल्पिक शक्ति निर्माणका लागि जुन दिन, जुन शक्तिमाथि भरोसा हुन्छ, त्यसमा सहयोग गर्न हामी सधैं तयार छौं ।

फोरमसँगै राजपालाई मधेस केन्द्रित दल भनिन्थ्यो । अब फोरम रहेन । समाजवादी पार्टी त आफूलाई राष्ट्रिय शक्ति दाबी गरेको छ । राजपाले चाहिँ के गर्छ ?

हेर्नुस्, देशमा कांग्रेस, कम्युनिस्टले राष्ट्रिय शक्ति भनिरहेकै छन् । तर, दुवैले देशको समस्या समाधान गर्न नसक्दा धेरै संघर्षहरु भए । राष्ट्रिय शक्ति निर्माण गर्नुको मतलब सबै छोडेर सिँढीलाई उल्टाइदिने हो ? जनता जे कुराका लागि लडे, मरे, त्यसलाई छोडेर राष्ट्रिय शक्तिको नाममा सबैथोक तिलाञ्जली दिइहाल्नु हो ? यो काम राजपा गर्न सक्दैन । राजपा मूल्य, मान्यता छाडेर कुनै शक्ति निर्माणको पक्षमा छैन ।

उसो भए राजपाको आगामी कार्यदिशा के हो ?

यदि समग्रमा भन्ने हो भने देश सबैको हो । हिमाल, पहाड, तराईमा बस्ने मधेसी, मुस्लिम, जनजाति, थारु सबैका लागि हो । शासन प्रणालीमा सबैको सहभागिता हुनुपर्छ, प्रतिनिधित्व हुनुपर्छ, पहिचान बन्नुपर्छ । देशलाई समृद्धितर्फ लानुपर्छ । यही एजेन्डाका साथ पार्टी अगाडि बढिरहेको छ । यही कुराका लागि ६ वटा पार्टी मिलेर राजपा बनेको हो । संघर्षको माध्यमबाट उद्देश्यहरु प्राप्ति गर्न काम गरिरहेको छ ।

तपाईँको हरेक ठाउँमा संविधान संशोधन गर भन्न छाड्नुहुन्न, तर प्रधानमन्त्रीले त यसलाई जतिबेला पनि गाउने गीत बनाउनु हुन्न भन्नुभयो । होला त संविधान संशोधन ?

मैले संसदमै प्रधानमन्त्रीकै सामुन्ने भने, यसअघि ६ वटा संविधान आइसक्यो । सबै असफल भयो । यो सातौं संविधान हो । यसलाई पनि गीता, कुरान, बाइबल, महाभारत बनाउने प्रयास गरेपछि असफल बन्छ । २०४८ सालको संविधानलाई दुनियाँकै सर्वाेत्कृष्ट संविधान हो भनेर यही कांग्रेस कम्युनिस्टले भन्थे । कमा, फुलिस्टप परिवर्तन हुँदैन भने, गरेनन् पनि । त्यही भएर फेल भयो ।

प्रधानमन्त्रीको रबैया यस्तै रहृयो भने यो संविधान पनि कोल्याप्स हुँदा कुनै आश्चर्य हुँदैन । जनताको मागअनुसार संशोधन, परिमार्जन जरुरी हुन्छ । नगरिए फ्याँकिन्छ । मैले रोष्टमबाटै प्रधानमन्त्रीलाई भनिसकेको छु, नश्लवादी चिन्तन र सोच हटाउनुस् । यो देश सबैको हो भने मधेसी, दलित, मुस्लिम, जनजाति सबैले भनिरहेका छन् । यसलाई इन्कार गरेर यो संविधान टिकाउन सकिन्न । यो कुनै गीत होइन, जनताको आवाज हो । यसलाई सुन्नुपर्छ ।

प्रदेश सरकार संघीयतालाई मजबुत बनाउने सरकार हो । यो सरकार यसैका लागि काम गरिरहेको छ । यो भएन, त्यो भएन, भनिरहेको छ, लडिरहेको छ । यो आन्दोलनलाई उपेन्द्रजीले समाप्त गर्न चाहनुभयो भने अर्काे रुप लिन सक्छ

संविधान संशोधन भनेर आन्दोलन गर्नुर्भयो । यही सरकारलाई समर्थन गर्नुभयो । अहिले समर्थन फिर्ता लिनुभयो । कति दिनसम्म जपिरहनुहुन्छ संशोधनको माला ?

यो कुनै म्ााला जप्ने कुरा होइन । संविधान देशको मूल दस्ताबेज हो र जनतालाई अधिकार नदिएसम्म यसको बिरोध भइरहन्छ । जनताले अधिकार नपाएसम्म संघर्ष हुन्छ । गजेन्द्रनारायण सिंहले ‘जब तक शोषित इन्सान रहेगा, धर्ती पर तुफान रहेगा’ भन्नुहुन्थ्यो । उहाँले यो त्यसै भन्नु भएको होइन । शोषण, उत्पीडन रहँदासम्म संघर्ष भएको छ ।

संविधान मूल कानुन हो, त्यसको माध्यमबाट विभेद गरिएको छ, अधिकारबाट बञ्चित गरिएको छ । हिमाल, पहाड, तराईका जनतासँग बेइमानी गरिएको छ । यसलाई सुधार नगरिएसम्म आवाज त उठिरहन्छ । संघर्ष कहिले नरम त कहिले गरम हुनसक्छ । तर जनता संघर्ष गरिरहन्छन् । आह्वानकर्ता यसअघि फोरम र राजपा थिए । भविश्यमा राजपा मात्रै हुनसक्छ किनकी फोरमलाई त अर्कै भूत सवार भइसक्यो ।

आन्दोलन गर्नुभयो, सरकारलाई दिएको समर्थन फिर्ता लिनुभयो । तैपनि संविधान संशोधन भएन । अब के गर्ने ?

संसारकै अभूतपूर्व आन्दोलन गरियो । कठोर आन्दोलन गरियो । जनताको सहयोगमा ६ महिनासम्म बन्द, हड्ताल, चक्काजाम नाकाबन्दी गरियो । ज्यानको बाजी लगाएर संघर्ष गरे जनताले । म पनि ज्यानको बाजी लगाएर नाकाबन्दीमा सहभागी भएँ । ज्यान लिने उद्देश्यले हमला भयो । अब पनि सरकारले नसुने जनता फेरि उठ्छन् । जनतामा त्यो तागत छ । जनता कहिल्यै हार्दैनन्, अजेय हुन्छन् । भनिन्न नि, समयको देर छ, अन्धेर छैन ।

तर, प्रदेश २ मा फोरम र राजपाको सरकार छ । फोरम र नयाँ शक्तिको पार्टी एकता, तपाईंहरुले गर्ने भनेको आन्दोलन आदिले सरकारको समीकरणमा कुनै असर गर्छ ?

प्रदेश २ को सरकार आन्दोलनको उपज हो । यो सरकार अहिले पनि आन्दोलन गरिरहेको छ । माथिको समीकरण फोरमले आफ्नो तरिकाले गर्‍यो ठीक छ, हामीलाई कुनै आपत्ति छैन ।

तर, मलाई के विश्वास छ भने प्रदेश सरकार संघीयतालाई मजबुत बनाउने सरकार हो । यो सरकार यसैका लागि काम गरिरहेको छ । यो भएन, त्यो भएन, भनिरहेको छ, लडिरहेको छ । यो आन्दोलनलाई उपेन्द्रजीले समाप्त गर्न चाहनुभयो भने अर्काे रुप लिन सक्छ । यो आन्दोलनलाई पनि भत्काइदिनुभयो भने हामी आफ्नै बाटोमा हिँड्छौं ।

अन्तिममा, राजपाको आन्तरिक विषय, पछिल्लो समय पार्टीमा अध्यक्ष मण्डलको बिरोध भइरहेको छ । के होला महाधिवेशनमा ?

विशेष परिस्थितिमा ६ पार्टी एक भएपछि अध्यक्ष मण्डल बनाइएको हो, चक्रीय प्रणाली अनुसार । तर, सारा कार्यकर्ताको सुझाव आइरहेको छ अध्यक्ष मण्डली ठीक छैन, अध्यक्ष प्रणालीमा लैजानुपर्छ । यही आधारमा हामी काम गरिरहेका छौं । तर अन्तिम निर्णय महाधिवेशनले नै गर्छ । तर मेरो व्यक्तिगत विचारमा अब अध्यक्ष मण्डल रहँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment