Comments Add Comment

बर्ष २०७६ मा हिट फिल्मका सिरिज नै सिरिज

गतबर्ष हिट भएका ३ चलचित्र हेर्दा पनि यस्तो लाग्छ, अहिले दर्शकका लागि नाम सबैभन्दा चाडो नोटिसमा छन् । गतबर्ष ब्लकबस्टर भएको ‘छक्का पन्जा ३’, सुपरहिट भएको ‘ए मेरो हजुर ३’ र हिट भएको ‘नाई नभन्नु ल ५’ सबै हिट नामका सिरिज हुन् । ३ वटा चलचित्र हिट हुनु त्यो पनि सिरिज मात्र, संयोग मात्र पक्कै होइन ।

दर्शकले चलचित्रको नाम पनि नोटिस गर्ने र त्यो नामले ब्रान्ड स्थापित गरेको छ भने हलसम्म दर्शक आउने क्रम देखिएको छ । तर, सबै सिरिजलाई दर्शकले माया गरेका छन् भन्ने होइन । सायद, गतबर्षको व्यापारिक लोभ देखेर पनि हुनसक्छ अहिले चलचित्र बनाउनेहरु नयाँ नामलाई स्थापित गर्न भन्दा पनि पुरानै नाममा जोखिम मोलिरहेका छन् । कलाकार दयाहाङ राइको भनाइलाई नै मान्ने हो भने पनि, सिरिज आफैमा ‘घातक’ हो । तर, पनि यो जोखिम मोलेर कि वार कि पारको खेल खेल्न निर्माता तयार भएका छन् ।

अहिलेसम्मको चलचित्र निर्माणको घोषणा हेर्ने हो भने यो बर्षलाई ‘सिरिजको बर्ष’ भनेर घोषणा गर्दा केही पनि फरक पर्दैन । यो बर्षको दोश्रो महिनाको सुरुकै हप्तामा रिलिज हुन लागेका २ चलचित्र ‘विर विक्रम २ र जात्रै जात्रा’ आफैमा सिरिज हुन् । निर्माणपक्षको कुरा मान्ने हो भने, ‘विर विक्रम २’ सिरिज हो भने ‘जात्रै जात्रा’ सिक्वेल हो । दुबै चलचित्रलाई व्यापारिक रुपमा सफल हुने आशा छ । यो आशामा सबैभन्दा पहिला रंग भर्ने काम यो चलचित्रको नामले गरेको छ ।
रिलिजको क्रममा रहेका र बन्ने तयारीमा रहेका चलचित्रको अवस्था हेर्दा पनि सिरिजको बाढी नै यो बर्ष लाग्दैछ ।

निर्माता रोज राणाले १२ बर्षपछि चलचित्र ‘खलनायक’को सिरिज बनाउने तयारी गरेका छन् । ‘खलनायक २’ नाम राखेर यसको सिरिज बन्दैछ । हिट नामको पछि लाग्दा यसलाई ब्रान्ड बनाउन खर्च गरिराख्न पर्दैन भन्ने निर्माताको वुझाई छ ।
आज मात्र घोषणा हुन लागेको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ पनि सिरिज हो । निर्देशक रामबाबु गुरुङले ‘पुरानो डुङ्गा, साइली’ सफल नभएपछि फेरि ‘कबड्डी’ ब्रान्डकै साहारामा लागेका छन् । जसको नाम, ‘कबड्डी कबड्डी कबड्डी’ राखिएको छ ।

चलचित्र ‘मेरी मामु’ नचलेपछि निर्माता सन्तोष सेन ‘प्रेमगीत’कै ब्रान्डमा लागेका छन् । उनले बनाउन लागेको हिट सिरिज ‘प्रेमगीत’को तेश्रो सिरिजको अघिल्ला २ सँग कनेक्शन छैन । तर, उनी ‘प्रेमगीत ३’ बनाएर दर्शकलाई हलसम्म तान्ने दाउमा छन् ।

निर्माता सुनिल रावल ‘होस्टेल र होस्टेल रिटन्र्स’पछि यही नामलाई नै बलियो बनाउँदै ‘होस्टेल ब्याक अगेन’ बनाउने तयारीमा जुटेका छन् । यसपटक, उनले यो चलचित्रलाई आफै निर्देशन गर्दैछन् । यो बर्ष नै चलचित्र ‘लप्पन छप्पन’को सिरिज ‘लप्पन छप्पन २’ बनाउने तयारी गरिएको छ । मुकुन्द भट्टको निर्देशनमा तयार हुने चलचित्रका निर्माता पनि अघिल्लो चलचित्रको नामलाई नै क्यास गर्ने कोशिशमा लाग्नेछन् ।

‘ए मेरो हजुर ४’को तयारीमा पनि निर्माता सुनिल कुमार थापा लागेका छन् । अनमोल केसीले काम गर्न तयार भएको खण्डमा ‘भागवत गीता’ नभए चलचित्रको नाम ‘ए मेरो हजुर ४’ राख्ने तयारी गरिएको वुझिएको छ । चलचित्रलाई अर्को बर्षको भदौमा रिलिज गर्ने योजना सुनिल र निर्देशक झरना थापाको छ ।

यो बर्ष नेपाली चलचित्रमा सिरिज हाबी हुने देखिएको छ । त्यो भन्दा पनि निर्माता–निर्देशकले चलचित्रको नयाँ नाम राखेर त्यसलाई ब्रान्डिङ गर्नु भन्दा दर्शकले सुनिसकेको नाम नै बिकाएर सिरिजको हौवा दिने धुन कसेका छन् । गतबर्ष ३ वटा सिरिज चलेको चलचित्र क्षेत्रमा यो बर्ष कतीवटा सिरिज चल्लान्, यो बर्षको अन्त्यमा पक्कै समिक्षा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment