Comments Add Comment

देउता नै असुरक्षित !

३० वैशाख, काठमाडौं । बाटोको कुनामा अबिरले रंगिएको एउटा पुरानो ढुँगा देख्दा तपाईँको मनमा के आउँछ ? देवता रहेछ भनेर अलिकति आदरभावमा झुकेर अघि बढ्नुहुन्छ या अबिर दलिदिए हरेक ढुँगा देवता बन्छ भन्ने सोच्नुहुन्छ ? ज्ञान र सँस्कारअनुसार सोच फरक फरक होला ।

तर मूर्तिका रुपमा पुजिने त्यस्ता ढुँगाको धार्मिक महत्वसँगै ऐतिहासिक, पुरातात्विक महत्वलाई बुझ्नुहुन्छ भने तपाईं घण्टौँ घोत्लिएर सोच्न बाध्य हुनुहुनेछ ।

अझ मूर्त सम्पदाको अमूर्त पक्षले त त्यसको धेरै महत्व बुझाउँछ । प्राण प्रतिष्ठा गरेर नयाँ ढुँगालाई पनि मूर्ति बनाउन, देवताको प्रतीकका रुपमा पुज्न त सकिएला तर पुरानोमा हुने अमूल्य निधि त्यसमा रहँदैन । पुरानैको महत्व किन हुन्छ त ? उस्तै देखिने नयाँ हुँदा महत्व किन कम ?

पुरातत्वको महत्व बुझ्न धेरै आयामहरु छन्, तर सजिलो रुपमा विभिन्न वेबसाइटमा बेच्न राखिएका हाम्रा पुराना मूर्तिहरुको लाखौं डलर मूल्यबाट पनि झस्याङ्ग नै भइन्छ । पूर्खाले जोगाएका कति मूर्तिहरु अहिले युरोपका संग्रहालयमा देख्दा पनि त्यहाँ पुग्नेहरु खुइय गर्छन् ।

यो पनि पढ्नुहोस दोलखाको जात्राले देखाएको देश !

सम्पदा विज्ञ एवं अभियन्ता आलोक सिद्धि तुलाधर त्यसैका लागि पछिल्लो पुस्तामा सम्पदा र सँस्कृतिको ज्ञान अझ विस्तार गर्न आवश्यक रहेको बताउँछन् । आफूले ४० वर्षमा बल्ल गहिरिएर सम्पदाबारे बुझ्न थाल्दा पुर्नजन्म भएको ठानेका उनले पछिल्लो समय भने युवा पुस्तालाई बुझाउन समय खर्चिरहेका छन् ।

पछिल्लो पुस्तामा आफ्नो कला र सम्पदा बुझ्ने इच्छा कस्तो छ त ? केही वर्ष अघिसम्म कमै देखिने सम्पदाबारे बुझ्न चाहने र त्यसपछाडि लुकेको अर्थलाई खोज्ने काम ०७२ सालको भूकम्पपछि भने केही बढेको छ ।

‘अहिलेदेखि बुझाउन थालिएन भने यिनीहरुले के सिक्छन् त ? कसरी सम्पदाको संरक्षण आवश्यक छ भनेर बुझ्छन् ?’ सम्पदाबारे बुझ्न बसन्तपुर दरबार क्षेत्रमा घुमिरहेका ११ वर्षका सिद्धार्थ प्रधान तुलाधर र १६ वर्षकी शुभेक्षा प्रधान तुलाधरतिर देखाउँदै आलोकले प्रश्न गरे ।

किन आफ्नो सम्पदामा आफै जानकार र जागरुक हुनुपर्छ भन्दै उनले पुनर्निर्माण चलिरहेको नौ तले दरबारतिर देखाए, हाम्रो सम्पदा हामी आफैले बनाउन नसक्ने पनि होइन तर विदेशीलाई बनाउन भनेर दिइसके पनि त्यसमा हाम्रै कला र शैली कायम छ कि छैन भनेर विचार गर्नै पर्छ ।

‘हुन त हाम्रो कला र सम्पदा हामीले उनीहरुलाई सिकाउन पर्ने कुरा हो । उनीहरु आएर बनाउनुपर्ने कुरा हो त ?’ उनले प्रश्न गरे ।

भूकम्पमा नौ तले दरबारको माथिल्लो तला भत्कनुको कारण छैठौं तलामा केही वर्षअघि पुनर्निर्माणकै क्रममा एक विदेशी संस्थाको डिजाइनमा क्रंकिटको बिम राखिएको थियो । त्यहाँ काठले बनेका सबै संरचनामा बिचमा क्रंकिट राखिएपछि झनै कमजोर बन्यो ।

त्यसैले भूकम्पका बेला बिम बिचमा नै भाँचिएको थियो । काठमा नै जोडिएको भए लचकदार हुने थियो ।

नौ तले दरबारमा मानिसहरुको धार्मिक महत्व नजोडिएकाले पनि वास्ता नभएको होला तर ऐतिहासिक महत्व पुरातात्विक बस्तुमा आफ्नै कला अरुमार्फत निर्माण हुँदा राम्रो भने लाग्दैन नै । यस्तोमा धार्मिक महत्व जोडिएकै सम्पदाको हालत पनि राम्रो भने छैन ।

नाैं तले दरबारको मात्र होइन जमिनको सतह बढ्दै जाँदा खाल्डोमा परेका चैत्य, कुमारी घरका अनुपम तोरण, सिखमु (श्रीखण्ड तरमुल महाबिहार) बिहार, सिँल्य सत्तल हरेकका आफ्नै कथा छन् ।

हामी हाम्रो सम्पदाको कति वेवास्ता गर्छौं भन्ने बुझ्न एकैछिन काष्ठमण्डप र त्यसैको सुरक्षामा वरपर स्थापना गरिएका अष्टभैरवलाई हेरौं ।

बसन्तपुर गणेशस्थानको ठीक अगाडि एउटा सत्तल थियो । ०७२ सालको भूकम्पले भत्किएको त्यही सत्तल नै हो काष्ठमण्डप । जहाँ अहिले स्थानीयकै सहभागितामा पुनर्निर्माण चलिरहेको छ ।

हरेक ऐतिहासिक-पुरातात्विक सम्पदाको पछाडि लुकेका केही कथनहरु, केही विश्वासहरु, केही लोकोत्तिहरु काष्ठमण्डपमा पनि छन् । त्यसका आधारहरु भूकम्पपछिको अध्ययनले भने फरक पारिदिएको छ ।

इतिहासकारहरु र भेटिएका केही लेखोटका आधारमा पनि काष्ठमण्डप १२ औं शताब्दीमा बनेको भनेर लामो समय रहृयो । १२ औं शताब्दीमा बनेको भनेर आधारहरु आइरहँदा पनि स्थानीय भने ८ औं शताब्दीका प्रसिद्ध तान्त्रिक लीलाब्रज बज्राचार्यको समयमा उनैको सक्रियतामा बनेको बताउँथे । भूकम्पपछि गरिएको अध्ययनबाट भने पहिले ७ औं शताब्दीमा बनेको भनिए पनि पछिल्लो अध्ययनबाट त अझ ५ औं शताब्दीकै आधारहरु समेत भेटिएका छन् । निर्माणको समय यति पुरानो रहेपनि त्यसपछिका विभिन्न समयमा केही सुधार भने भएकै छन् ।

यसको निर्माण पछिका आधारहरु फेरिए पनि मुख्यतः एउटै रुखको काठबाट निर्माण भएको भनिएको काष्ठमण्डपको अनुपम कला फेरिनु हुँदैन भन्नेमा सम्पदा बचाउनुपर्छ भन्ने केही जानकारहरु लागिपरेका छन् ।

काष्ठमण्डप कुनै दरबार पनि होइन । बीच भागमा गोरखनाथको मूर्ति राखिएको भए पनि मण्डप कुनै मन्दिर भने होइन ।

मण्डप बाहिरबाट देखिने बुट्टामा बुद्ध जन्मनुअघि र पछिका विभिन्न कथा कुँदिएका थिए । इन्द्र, पार्वती, गणेश, शिब भगवानका चित्रहरु पनि थिए । त्यसले एक त यो सबैको हो भन्ने अर्थ दिएको देखिन्छ भने अर्को धार्मिक सहिष्णुता झल्काएको बुझिन्छ ।

त्यसैले यो कुनै धर्मसँग सम्बन्धित संरचना होइन । यो कुनै राजासँग सम्बन्धित दरबार पनि होइन । मरुसत्तल समेत भनिने यो एउटा पाटी हो, जहाँ जो पनि गएर आराम गर्न सक्छन् ।

त्यसैले त लिच्छवी राजा जयदेवको शासन कालमा नै उत्तर तिब्बतदेखि दक्षिण भारतवर्षसम्म आवातआवत गर्नेले यही क्षेत्रमा विश्राम गर्थे भनिन्छ । यहाँ विद्वानहरु बस्ने, छलफल र विचार विमर्श गर्ने मात्रै होइन दुःखी गरीबहरुको आश्रयसमेत थियो । ब्यापारिक हिसाबले पनि केन्द्रमा रहेकाले सत्तलको महत्व अझ बढी थियो ।

त्यसैले त्यसको निर्माण पनि त्यही ढंगमा भएको देखिन्छ । चारतिर भएको ढोकामा बन्द गर्ने कुनै स्वरुप देखिँदैन । खुला राख्नुको उद्देश्य नै मानिसहरु सहज रुपमा जान सकुन्, बस्न सकुन् भनेर हो । भूकम्पअघिसम्म पनि भरियाहरु त्यहाँ कति सुतेका भेटिन्थे, कति बटुवाहरु आराम गरेका भेटिन्थे ।

पुनर्निर्माण भएपछि पनि त्यहीँ ढंगमा प्रयोग गर्न सकिएला त भन्नेमा भने आलोक सिद्धि तुलाधर शंका गर्छन् ।

डर छ कतै त्यहाँ टिकट काटेर जानुपर्ने ठाउँ पो बनिदिन्छ कि ! ‘सत्तलहरु त धेरै छ तर यति पुरानो यति ठूलो सत्तल अरु देखिँदैन । त्यसैले पनि भौतिक स्वरुप बनाउँदा पहिलेको जस्तै बनाउनुपर्छ भन्ने त छँदै छ त्यसको अरु पक्षहरु पनि त्यही अनुसार बचाइराख्न जरुरी छ’ उनले भने ।

त्यसैले आलोक जस्ता जानकारहरु स्थानीयको सहभागितामा नै काष्ठमण्डपको पुनर्निर्माण हुनुपर्छ भनेर निरन्तर लागिपरे । काष्ठमण्डपबारे अभियन्ताहरु जागरुक भएर सम्पदाको मूर्त अमूर्त पाटोमा छलफल गरिरहँदा काष्ठमण्डपको सुरक्षामा राखिएका अष्टभैरव असुरक्षित देखिएका छन् ।

काष्ठमण्डपको सुरक्षाका लागि भनेर त्यसको निर्माणसँगै सबै दिशाबाट आठ भैरवले घेर्न आठ भैरवको मूर्ति स्थापना गरिएको देखिन्छ । जसमा असितांग भैरव, क्रोध भैरव, प्रचण्ड भैरव, उन्मत्त भैरव, रुरुक भैरव, संहार भैरव, कपाली भैरव र भीषण भैरव पर्छन् । प्रत्येक भैरवको आआफ्नै विशेषता र महत्व छ ।

तर, कुनै भैरव पसलका सामानहरुमा छोपिएका छन्, कुनै भैरव कहाँ छन् भनेर खोज्दा पनि भेटिँदैन कुनै सडकभित्र पुरिएका छन् ।

केही समयअघि काष्ठमण्डपमा पूजा गर्दा स्थानीयले एउटा भैरव यहीँ छ भनेर पूजा गरेबाट सडकमा मूर्ति पुरिएको थाहा भएको थियो । कुनै सडकमा पुरिएका र कुनै पसलमा सामानभित्र रातो रंग्याएर छोपिएका ती मूर्तिहरु अमूल्य सम्पदा हुन् भन्ने हेक्का नहुँदा बुझ्नेहरुको मन त खिन्न हुन्छ नै ।

सुरक्षामा राखिएका देवता नै असुरक्षित ? सुन्दा अचम्म लाग्ने यो कुरा आँखैले देख्दा भयानक लाग्छ ।

आखिर किन हराउँदैछ मूर्ति ? कसले लुकाउँदै छ ? काष्ठमण्डपमा सुरक्षामा राखिएका ती मूर्तिहरुको खोजी हुनुपर्छ भन्ने आवाज यदाकदा सुनिने गरेको भए पनि मरु टोलको बाटो बन्द गरेर देवता जोगाउन कोही लागिपर्ला ? कठीन छ । किनभने त्यसको महत्व बुझ्नुपर्ने गरी बुझिएकै छैन ।

आˆना सम्पदा र पुरातात्विक मूर्तिहरुको वेवास्ता हुनुमा अघिल्लो पुस्ताको पनि दोष देख्छन् २० वर्षका महर्षीप्रसाद राजभण्डारी । सम्पदा र सँस्कृति बुझ्न केही वर्षदेखि लागिपरेका उनले प्रमाणीकरणकै अभावमा कतिपय पुरातात्विक मूर्तिहरु लोप हुने खतरा रहने सुनाए ।

‘कतिपय मूर्ति त अरुले हेर्न हुँदैन भनेर लुकाएर राखिन्छ । हेर्नु हुँदैन भन्ने भएपछि त्यसको प्रमाणिकरण नै भएन । हाम्रै कुलदेवता पनि हामीले हेर्न पाएका छैनौँ । कस्तो छ भन्ने नै थाहा नहुँदा हामीले महत्व कसरी बुझ्ने त ? हराएमा कसरी हाम्रो हो भनेर भन्ने’ उनले भने, ‘हेर्न पाइँदैन भन्ने कुरा धार्मिक रुपमा ठीक छ भन्ने हो भने पनि कस्तो छ भन्ने चित्रसहितको एउटा विवरण त तयार पार्न सकिन्छ नि । त्यसो गर्न सकियो भने भविष्यसम्म त्यसलाई सुरक्षित राख्न सकिन्छ ।’

हेर्न हुँदैन भनिएका मूर्तिको सुरक्षामा महर्षिले देखेको कठिनाइ जायज भए पनि सबैको आँखा अगाडिबाटै मूर्ति कसरी हराएका छन् त ? यस्तो वेवास्ता किन ?

(अनलाइनखबरमा हरेक हप्ता पुरातात्विक सम्पदा र त्यससँग जोडिएको सामाजिक साँस्कृतिक महत्वबारेका सामग्री प्रस्तुत हुनेछन् । काष्ठमण्डप र त्यसको सुरक्षामा राखिएको अष्टभैरवसम्बन्धी यो सामग्री दोस्रो अंक हो ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment