Comments Add Comment

महात्मा गान्धी छात्रवृत्तिमा किन पर्दैनन् मुसहर विद्यार्थी ?

वीरगञ्जस्थित भारतीय महावाणिज्य दूतावासले विभिन्न किसिमका छात्रवृत्ति नेपाली विद्यार्थीलाई दिने गर्छ जसमध्ये एक हो, महात्मा गान्धी छात्रवृत्ति । वर्षेनी एसईई परीक्षा उत्तीर्ण गरी उच्च शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरुलाई यो छात्रवृत्ति प्रदान गरिन्छ ।

महात्मा गान्धी छात्रवृत्तिका लागि आवेदन माग गर्दा प्रकाशन हुने सूचनामा दलित, विपन्न, असहाय, गरिब जस्ता वर्गलाई विशेष प्राथमिकता दिने कुरा उल्लेख गरिन्छ । तर व्यवहारमा ठीक उल्टो छ ।  छात्रवृत्ति वितरण गर्ने बेलामा त्यस्तै वर्गलाई उपेक्षामा पार्ने गरिएको छ । नदिने मनसाय भए किन ती वर्गको नाम बेच्नु पर्‍यो ? होइन, त्यस्तै वर्गको लागि हो भने फेरि उनीहरु नै छुट्छन् कसरी ? यी प्रश्नको उत्तर महावाणिज्य दूतावासका जिम्मेवार अधिकारीले पक्कै दिनुपर्छ । खाली पहुँचवालाका छोराछोरीलाई छात्रवृत्ति दिने हो भने सूचनामा सीधै त्यही लेखे भइहाल्यो । सिफारिसकर्ता छैन भने तपाईंको काम बन्दैन । हात्तीको चपाउनेे र देखाउने दाँत बेग्ला बेग्लै भएजस्तो गर्न किन जरुरी छ ?

आरोप त्यसै लगाइरहेको छैन । पर्साको पर्सागढी नगरपालिका-१ बसबरिया बस्ने सनोज माझी मुसहरले २.५ ‘ए’ ग्रेडमा एसईई उत्तीर्ण गरे ।  हालसम्म प्राप्त जानकारी अनुसार पर्सा जिल्लाबाट विज्ञान संकायमा अध्ययन गर्ने मुसहर समुदायको एक मात्र विद्यार्थी हुन्, सनोज । सनोजको परिवारमा आमा-बुवा सहित ९ जना सदस्य छन् । उनीहरु सुकुम्वासी हुन् । परिवारको आर्थिक अवस्था जरजर छ । ज्याला मजदुरी गरेर परिवारको पालन पोषण भइरहेको छ ।

सनोज माझी मुसहर

यस्तो अवस्थामा पनि उसले हिम्मत देखाएर विज्ञान विषय लिएर पढने निधो गर्‍यो । वीरगञ्जको पृस्टेन मोडेल क्याम्पसमा अध्ययन पनि गरिरहेको छ । विश्वविद्यालय अनुदान आयोगबाट मुसहर, डोम, चमार, वादी समुदायलाई निःशुल्क रुपमा डाक्टर, इन्जिनियर पढ्न सहयोग मिल्छ भन्ने सुनेपछि उसको हौसला बढेको हो । त्यही लक्ष्य लिएर उसले तयारी थालेको पनि छ । तर आर्थिक अभावका कारण मानसिक तनाव पनि त्यतिकै खेप्नु परिरहेको छ । भारतीय महावाणिज्य दूतावासबाट वितरण हुने छात्रवृत्तिका लागि आवेदन खुलेको जानकारी साथीबाट पाएपछि भरथेग हुन्छ भनेर उसले पनि आवेदन दियो । मासिक २ हजार पाए पनि ठूलै भर हुन्छ भन्ने सोच उसको थियो ।

सबैले सनोजलाई भने तिमी नेपालको सबैभन्दा पछाडि पारिएको दलित मुसहर समुदायबाट छौ, तिम्रो जातिबाट त कोही पढ्दै पढ्दैनन् तर तिमीले यति साहस गरेर यहाँसम्म आएका छौ । तिमीलाई शतप्रतिशत छावृत्ति पर्छ । पक्कै पनि तिम्रो सपना पूरा हुनेछ । त्यही आशामा सनोजले फुफूसित पैसा मागेर साइबरमा गएर छात्रवृत्तिका लागि आवेदन दियो । तोकिएको कागजात पनि पठायो । केहि दिनअघि महात्मा गान्धी छात्रवृत्तिको नतिजा आइसकेको कुरा उसले साथीबाट थाहा पाउँछ । साह थरको उसले आफू छनौटमा परेको कुरा सुनाउँछ । त्यसपछि सनोज हतार हतार फेरि साइबरमा पुगेर ईमेल चेक गर्छ, त्यहाँ कुनै मेल नै आएको छैन । रिफ्रेस गरेर, पटक पटक हेर्छ । तैपनि भेट्टाउँदैन ।

साइवर सञ्चालकले भन्छन्, ‘भाइ तिमी छनौटमा परेको भए अरुको जस्तै तिम्रोमा पनि मेल आउनु पर्ने थियो तर आएको छैन । तिमीलाई छात्रवृत्तिमा छनौट नै गरिएको छैन ।’

यो कुराले सनोजमा व्रजपात जस्तै भयो । उ एकछिनसम्म बोल्न सकेन । उभित्र भित्रै रोइरहेको थियो । अब मेरो सपना कसरी पूरा गर्ने भन्ने चिन्तामा पर्छ । सनोजका बारेमा सुनेर युनिसेफमा कार्यरत विमला मानन्धरले १५ हजार सहयोग गर्छिन् ।

सनोज त एउटा उदाहरण मात्र हुन् । महात्मा गान्धी भारतीय महावाणिज्य दूतावासले दिने छात्रवृत्ति हो । नेपालमा पनि विभिन्न सरकारी र गैरसरकारी निकायले छात्रवृत्ति वितरण गर्दै आएका छन् । त्यसमा मुसहर लगायत दलित समुदायका कति विद्यार्थीहरु परेका छन् त ??

संविधानले नै पढ्न पाउने हक सुनिश्चित गरेको छ । तर दलित विपन्न समुदायका विद्यार्थी पैसाकै अभावमा उच्च शिक्षा पढ्न नपाएको अवस्था छ । दलितको नाममा आउनेे छात्रवृत्तिका बारेमा सम्बन्धित समुदायलाई जानकारी नै पुग्दैन । आर्थिक अभावकै कारण मुसहर समुदायका उच्च शिक्षा अध्ययन गर्न चाहने बालबालिका वञ्चित हुनु हुँदैन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment