+
+
Shares

विश्वका १०० ‘थिंक ट्यांक’ मा नेपालबाट समृद्धि फाउन्डेसन र पीआरआई

समृद्धि फाउन्डेसन लामो समयदेखि नेपालमा आर्थिक स्वतन्त्रता, सार्वजनिक नीति, उद्यमशीलता लगायत विषयमा अनुसन्धान र नीतिगत बहस गरिरहेको गैरनाफामूलक थिंक ट्यांक संस्था हो । पीआरआई भने नेपाल सरकारको थिंक ट्यांक संस्था हो ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक ११ गते १८:२५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विश्वको चर्चित कन्सल्टेन्सी संस्था अन थिंक ट्यांकले नेपालका समृद्धि फाउन्डेसन र नीति अनुसन्धान प्रतिष्ठानलाई १०० थिंकट्यांक टु वाच २०२५ सूचीमा समावेश गरेको छ।
  • समृद्धि फाउन्डेसनले आर्थिक स्वतन्त्रता र सार्वजनिक नीतिमा अनुसन्धान गर्दै आएको गैरनाफामूलक संस्था हो भने नीति अनुसन्धान प्रतिष्ठान सरकारको थिंक ट्यांक हो।
  • अन थिंक ट्यांकले सूचीमा रहेका थिंक ट्यांकहरूको योगदान सम्मान गर्न र सहकार्य प्रोत्साहन गर्न मनोनयनका आधारमा सूची तयार गरेको जनाएको छ।

११ कात्तिक, काठमाडौं । विश्वको चर्चित कन्सल्टेन्सी सेवा प्रदायक संस्था ‘अन थिंक ट्यांक’ (ओटीटी) ले निकालेको संसारका ‘१०० थिंकट्यांक टु वाच २०२५’ को सूचीमा नेपालबाट समृद्धि फाउन्डेसन र नीति अनुसन्धान प्रतिष्ठान (पीआरआई) परेका छन् ।

विश्वका चर्चित थिंकट्यांकहरू अमेरिकाको कार्नेजी काउन्सिल, ब्रुकिङ्स, युरोपको युरोपियन पोलिसी सेन्टर, भारतको अब्जर्भर रिसर्च फाउन्डेसन (ओआरएफ) लगायतसँगै नेपालका दुई संस्था पनि परेका हुन् ।

समृद्धि फाउन्डेसन लामो समयदेखि नेपालमा आर्थिक स्वतन्त्रता, सार्वजनिक नीति, उद्यमशीलता लगायत विषयमा अनुसन्धान र नीतिगत बहस गरिरहेको गैरनाफामूलक थिंक ट्यांक संस्था हो । पीआरआई भने नेपाल सरकारको थिंक ट्यांक संस्था हो ।

ओटीटीले संसारभरिका थिंक ट्यांक संस्था र यस क्षेत्रमा काम गरिरहेका मानिसले गरेका सिफारिसका आधारमा यो सूची निकालेको जनाएको छ ।

यो सूचीमा पर्ने थिंक ट्यांक आफैंले नभई अन्य संस्था तथा व्यक्तिले गरेका सिफारिसका आधारमा यस्ता संस्थाले गरेको उल्लेखनीय अभ्यास, नवप्रवर्तन तथा पारेको प्रभाव समेत हेरेर यो सूची निकालेको ओटीटीले जनाएको छ ।

तर, यो थिंक ट्यांकहरूको र्‍यांकिङ नभएको र सूचीमा रहेका थिंक ट्यांकहरू संसारका उत्कृष्ट थिंक ट्यांकहरू पनि नभएको ओटीटीले स्पष्ट पारेको छ ।

यो सूची व्यावसायिक मूल्यांकन नभएर समकक्षी संस्था तथा ओटीटी समुदायका सदस्यहरूको मनोनयनका आधारमा तयार गरिएको ओटीटीले जनाएको छ ।

‘यस सूचीमार्फत हामी थिंक ट्यांकहरूको योगदानको सम्मान गर्न र समुदायभित्र सहकार्यलाई प्रोत्साहन गर्न चाहन्छौं,’ ओटीटीले भनेको छ ।

यसले अनुसन्धान संस्था (थिंक ट्यांक) हरूलाई चिनाउने, सहयोग र नेटवर्किङको अवसर प्रदान गर्ने उद्देश्य राखिएको पनि ओटीटीले जनाएको छ ।

सूचीमा समावेश समृद्धि फाउन्डेसनले करिब दुई दशकअघि सञ्चालन गरेको ‘गरी खान देऊ’ भन्ने अभियान निकै चर्चित बनेको थियो । यसले ‘नेपालको वर्तमान अवस्था ः कहाँ जाँदै छौं?’ भन्ने मासिक छलफल सिरिज प्रकाशन गर्छ ।

यसले उदार अर्थव्यवस्थाका पक्षमा विभिन्न प्रकाशन तथा अनुसन्धान गर्ने गरेको छ । समृद्धिले ‘प्रोस्पेरिटी पडकास्ट’ पनि सञ्चालन गर्छ, जसमा सम्पत्ति अधिकार, आप्रवासन तथा सुशासन जस्ता विकासका विषयमा संवाद प्रस्तुत गरिन्छ ।

‘गहिरो अनुसन्धान, सार्वजनिक संवाद र बहुआयामिक सामग्री संयोजन मार्फत समृद्धिले नेपालको नीति बहसमा प्रविधियुक्त विश्लेषण र जनधारणाबीचको दूरी कम गर्न मद्दत गर्दछ,’ ओटीटीले भनेको छ ।

त्यस्तै पीआरआई सरकारी स्वामित्वको थिंक ट्यांक हो, जसले संविधानका आधारभूत मान्यतासँग मेल खाने नीति अध्ययन, समीक्षा र प्रारूप तयार गर्ने काम गर्छ । पीआरआईले शासन, विकास, कूटनीति र सुधार सम्बन्धी प्रमाणमा आधारित नीति निर्माणलाई प्रवद्र्धन गर्न विश्लेषणात्मक प्रतिवेदन तयार गर्ने, नीतिका प्रारूपमा सुझाव दिने र सरोकारवालासँग संवाद आयोजना गर्ने काम गर्छ ।

नेपाल सरकारले नीतिहरू अन्तिम रूप दिनुअघि पीआरआईबाट अन्तिम सुझाव माग्ने गरेको छ, जहाँ यस संस्थाले अनुसन्धान तथा सरोकारवालाको परामर्शका आधारमा आफ्नो सुझाव दिन्छ ।

यसबाहेक दक्षिण एसियाबाट पाकिस्तानको एकाउन्ट्याबिलिटी ल्याब, भारतको सेन्टर फर सिभिल सोसाइटी, सीएसटीईपी, ओआरएफ र तक्षशीला इन्स्टिच्युसन, पाकिस्तानको पोलिसी रिसर्च इन्स्टिच्युट अफ मार्केट इकोनोमी (प्राइम) र सस्टेनेबल डेभलपमेन्ट पोलिसी इन्स्टिच्युट (एसडीपीआई) पनि सूचीमा परेका छन् । ओआरएफ संसारभरि चर्चित राइसिना डायलग आयोजना गर्ने संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?