Comments Add Comment

बर्ड फ्लूले हल्लायो एक खर्बको पोल्ट्री व्यवसाय

सरकार भन्छ : कुखुराको मासु र अन्डा निर्धक्क खानुस्

३१ वैशाख, काठमाडौं । धुनिबेशी नगरपालिका-५ धादिङकी गंगादेवी सिग्देलले १८ वर्षदेखि कुखुरा पालन गर्दै आएकी छिन् ।

१८ वर्ष पहिले परिवारमा आइपरेको बज्रपातले उनलाई यो पेशामा धकेलेको थियो । काठ चिर्ने मिलको आरो भाँच्चिएर गंगादेवीका श्रीमानको टाउको चिरियो । सम्भव भएसम्मको सबै उपचार गर्दा पनि श्रीमान् ठीक भएनन् । पूर्णरुपमा प्यारालाइसिस भएका उनी त्यतिबेलादेखि ओछ्यानमै छन् ।

परिवारको मियो नै भाँच्चिएपछि भर्खरै स्कुल सुरु गरेका बाल-बच्चासहित घरको सम्पूर्ण दायित्व गंगादेवीको काँधमा आइपर्‍यो । दुई-चार पैसो जोहो गर्ने श्रीमान् ओछ्यान परेपछि कयौं रात रोएर बिताएकी पीडाका बीच गंगादेवीले २० हजार रुपैयाँ ऋण गरेर बोइलर कुखुरापालन सुरु गरिन् ।

बालबच्चाको रेखदेख र बिरामी श्रीमानको हेरचाहसँगै कुखुरालाई दाना-पानी गर्ने तेहेरो जिम्मेवारी उनले लामो समय निभाइन् । कठिन दैनिकी भएपनि उसले उनको आर्थिक अवस्थालाई टेको दियो । श्रीमान्को अवस्था उस्तै छ, तर छोराछोरी स्नातक तहमा अध्ययन गर्दैछन् ।

माटोको घरबाट सुरु गरेको व्यवसाय एक रोपनीमा बनेको आफ्नै डेढ तले पक्की घरमा बिस्तार भएको छ । घर-व्यवहार चलाउन र दुई-चार पैसा ऋण दिन सक्ने क्षमता गंगादेवीले आफ्नै पाखुरीको बलमा आर्जन गरिन् ।

अत्यासलाग्दो विगत भोगेकी उनी वर्तमानसँग निकै सन्तुष्ट थिइन् । कुखुराको चल्ल्ाा कहाँ, कहिले किन्ने ? दाना-पानी कुन र कसरी खुवाउने ? कति दिनमा कुखुरा बेच्ने ? हुर्केका कुखुरा ठेकदारलाई घरबाटै पठाउने कि आफैं काठमाडौं लिएर आउने ? राम्रो मूल्य कहिले पाइन्छ ? सबै निर्णय गर्न उनी सक्षम छिन् । भन्छिन्, ‘जीवनमा केही पाइयो भने यही कुखुराले दिलायो । के खाउँ ? के लाउँ अब पिर छैन ।’

तर बेला-बेलामा उनको व्यवसाय नराम्ररी हल्लिन्छ, जब बर्ड फ्लूको हल्लाले समाज आतंकित हुन्छ । अहिले करिब ३० दिन भएका ४ सय कुखुरा उनको फर्ममा छन् । अबको १०/१५ दिनमा कुखुरा बेच्नका लागि राम्रो मूल्य पाइने समय हो ।

तर बर्ड फ्लू आतंकले उनमा चिन्ता थपिएको छ । राम्रो मूल्य पाइने बेला फर्मका कुखुरा गाड्नु पर्ने पो हो कि भन्ने पिरोलोमा छिन् उनी ।

गंगादेवी एउटा प्रतिनिधिमुलक पात्र मात्रै हुन् । पोल्ट्री व्यवसायमा लागेका हजारौं साना-ठूला लगानीकर्ता यतिबेला अन्यौलमा छन् ।

बर्ड फ्लूको कारण पहिलोपटक नेपालमै एक व्यक्तिको मृत्यु भएको सरकारले नै पुष्टि गरेपछि कुखुराको मासु र अण्डाका पारखी झस्किने नै भए । रोग संक्रमणको डर आफ्ना उपभोक्तामा उब्जेपछि साना र मझौला एवं ठूला व्यावसायी यस क्षेत्रमा थप लगानीका लागि हच्किएका छन् ।

मासुको खपत घट्यो

नेपालको ठूलो कुखुरा सप्लायर्स मध्येको एक भ्याली कोल्ड स्टारका सञ्चालक हरिकृष्ण रावलकाअनुसार बर्ड फ्लूको समाचारपछि मासु र अण्डा किन्ने ग्राहक निकै घटेका छन् । सामान्य अवस्थामा भन्दा बर्ड फ्लूबाट मानिसको मृत्यु भएको हल्लापछि ३० प्रतिशतले मासुको खपत घटेको उनले बताए ।

व्यवसायीहरु थप चल्ला पाल्ने कि नपाल्ने भन्ने दोधारमा रहँदा कुखुराको चल्लाको मूल्यमा पनि भारी ह्रास आएको छ । अरुबेला ८५ रुपैयाँ पर्ने कुखुराको चल्ला अहिले ३० रुपैयाँमा झरेको छ । तत्काल कुखुराको मासुको मूल्यमा ह्रास नआए पनि ग्राहकमा त्रास र व्यवसायीमा जोखिम लिन नचाहने प्रवृत्तिले यो क्षेत्र धरासायी हुनसक्ने रावलको  भनाइ छ ।

अण्डाको मूल्यमा भारी गिरावट

नेपालमा सरदर दैनिक २६ देखि २७ लाख अण्डा उत्पादन हुने नेपाल अण्डा उत्पादक संघका निवर्तमान अध्यक्ष शिवराम केसी बताउँछन् ।

प्रतिगोटा १३ रुपैयाँमा बिक्री भइरहेको अण्डा बर्ड फ्लूको हल्लाले यतिबेला ६ रुपैयाँ १५ पैसामा झरेको उनले जानकारी दिए ।

अण्डा र कुखुराको मासु उत्पादनमा नेपाल आत्मनिर्भर मात्रै होइन, निर्यात गर्ने क्षमतामै रहेको व्यवसायीको भनाइ छ । तर राज्य र विषय विज्ञले उचित सहयोग नगर्दा हल्लैहल्लाले व्यवसायको जोखिम बढेको उनीहरु बताउँछन् ।

हल्लैहल्ला, तथ्य खोई ?

जनतालाई सही र पूर्ण सूचना दिन सरकार पनि चुकेको छ । बर्ड फ्लुले एक व्यक्तिको मृत्यु भएको जानकारी दिएर सरकार चुप छ ।

फर्ममा काम गर्ने वा मासु, अण्डा बिक्रेता कसैलाई पनि हालसम्म नेपालमा बर्ड फ्लूको संक्रमण नदेखिएको व्यवसायीले बताएका छन् । बर्ड फ्लूका कारण निधन भएका व्यक्तिमा बर्ड फ्लू कुन पंक्षीबाट कसरी सर्‍यो भन्ने तथ्य सार्वजनिक नगरिएकोमा भ्याली कोल्ड स्टोरका सञ्चालक रावलले आपत्ति जनाए ।

अन्य पंक्षीबाट पनि सर्न सक्ने रोगको जोखिम कुखुरा तथा अण्डासँग मात्र जोडेर अनर्गल प्रचार गरिएको भन्दै उनले पोल्ट्री व्यवसाय बचाउन सरकार गम्भिर हुनुपर्ने बताए । ‘सानादेखि करोडौं लगानी गरेका व्यवसायीले जैविक विधिद्वारा आफ्नो उत्पादन स्वस्थ बनाउन हरदम प्रयास गरे पनि हल्लाले गर्दा मनोबल खस्किएको छ,’ उनले भने ।

नेपाल अण्डा उत्पादक संघका निवर्तमान अध्यक्ष शिवराम केसी ८० अर्बदेखि १ खर्बको हाराहारीको व्यवसाय सुरक्षामा कसैले चासो नदिएको बताउँछन् । तथ्यभन्दा पनि तर्क र हल्लाले बजार बिगि्रएको उनको गुनासो छ । केही सञ्चार माध्ययमले हल्लाकै भरमा बजार तलमाथि गराउन समाचार सम्प्रेषण गरेको समेत उनले आरोप लगाए ।

बर्ड फ्लू के हो ?

एच फाइभ एन वान (बर्ड फ्लू) एक प्रकारको संक्रामक भाइरस हो । यस संक्रमणबाट चराचुरुङ्गीमा श्वासप्रश्वास गर्न कठिन हुन्छ । यो संक्रमण कहिलेकाहीँ मानिसमा पनि सर्छ ।

मानिसबाट मानिसमा यो रोग सर्दैन । तर, संक्रमणले गुण बदल्न सक्ने हुनाले कारणबस मानिसबाट मानिसमा सर्ने अवस्था आएको खण्डमा भयानक महामारीको रुप लिन सक्छ ।

उच्च ज्वरो आउनु, खोकी लाग्नु, पेट, घाँटी, छाती तथा मांसपेशीहरु दुख्नु तथा पखाला लाग्नु र श्वासप्रश्वासमा समस्या आउनु यसका मुख्य लक्षण हुन् । एच फाइभ एन वान (बर्ड फ्लू) संक्रमण भएका बिरामीको मृत्युदर ६० प्रतिशत हुन्छ । संक्रमण गम्भिर हुने भएकाले बिरामीलाई तत्कालै सुविधासम्पन्न अस्पतालमा उच्च निगरानीमा उपचार गर्नु पर्छ ।

इन्टीभाइरल औषधिले गम्भीरता र मृत्यु घटाउन सहयोग गरेपनि संक्रमणविरुद्ध खोप व्यापक उपयोगका लागि तयार छैन ।

जहाँबाट त्रास बढ्यो

१ चैतमा एक जना २१ वर्षीय किशोर ज्वरो र खोकीको लक्षणसहित अस्पताल भर्ना भएका थिए । नाम ठेगाना नखुलाइएका युवकलाई इन्फ्लुएन्जाको संक्रमण भएको शंका गरी चिकित्सकले घाँटीको र्‍याल परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाए । तर पुष्टि हुन नसकेपछि र्‍यालको नमूना जापान पठाइएको थियो । त्यसको रिपोर्ट नआउँदै चैत १५ गते श्वासप्रश्वासमा समस्या आई युवकको मृत्यु भयो ।

उनी एच फाइभ एन वान (बर्ड फ्लू) का कारण ज्यान गुमाउने पहिलो नेपाली हुन् । बर्ड फ्लूको कारण मानिसले ज्यान गुमाएको सर्वत्र चर्चा भए पनि ती युवकलाई कसरी बर्ड फ्लू संक्रमण भयो भन्ने यकिन विवरण स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेन ।

कुखुरा, हाँसको मासु र अण्डा खाएर हो या संक्रमित पंक्षीको सम्पर्कबाट उनलाई बर्ड फ्लू संक्रमण भयो सार्वजनिक गरिएन । तर, बर्ड फ्लूबाट मृत्यु भएको खबरले चर्चा पायो, जसको सीधा असर १ खर्ब लगानीको पोल्ट्री व्यवसायमा परेको छ ।

मासु तथा अण्डा खाँदा यो रोग सर्छ ?

एक महिनाअघि बर्ड फ्लूको संक्रमण देशका बिभिन्न भागमा देखिए पनि अहिले पूर्ण नियन्त्रणमा रहेको स्वास्थ्य मन्त्रालयमा प्रवक्ता एवं प्रमुख जनस्वास्थ्य प्रशासक महेन्द्र प्रसाद श्रेष्ठले बताए । बर्ड फ्लूकै कारण कुखुरा र हाँसको मासु तथा अण्डा प्रयोग गर्न कुनै समस्या नरहेको उनको भनाइ छ ।

बर्ड फ्लूको संक्रमणलगत्तै सरकारले देशभरमा करिब १० लाख कुखुरा नष्ट गरेको र अहिले देशका कुनै पनि भागमा यस्ता संक्रमण नरहेको श्रेष्ठले प्रष्ट पारे । बर्ड फ्लूका कारण ज्यान गुमाएका युवकलाई भएको संक्रमणबारे अनुसन्धान जारी रहेको भन्दै उनले मासु र अण्डा प्रयोगमा निर्धक्क बन्न आग्रह गरे ।

‘स्वस्थ पंक्षीसँगको सम्पर्क वा उनीहरुबाट उत्पादन गरिएको मासु वा अण्डालाई राम्ररी पकाएर खाँदा रोगको जोखिम हुँदैन,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment